सर्वोच्चमा १० वर्षका मुद्दा छन् भन्दा आत्मग्लानि हुन्छ: कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा १० वर्षसम्म फैसला नभएका मुद्दा रहेको सुनाउनुपर्दा आत्मग्लानि हुने गरेको बताएका छन्।
विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिंदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताए। “न्यायपालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,” कामु प्रधानन्यायाधीश कार्कीले भने, “सर्वोच्च अदालतमा मुद्दाको फर्छ्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फर्छ्योटको दर बढेर १९.२ प्रतिशत भएको छ।”
सर्वोच्च अदालतमा पुराना मुद्दाको फर्छ्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा समय काम गर्न प्रारम्भ गरिएको उनले बताए। “सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छन् भन्दा मलाई पनि आत्मग्लानि हुन्छ,” कामु प्रधानन्यायाधीश कार्कीले भने, “अब यो अवस्था नरहोस् भनेर निरन्तर मुद्दा फर्छ्योट गरेर सुधार गर्ने काम गरिरहेका छौं, सबै अदालतले सेवाग्राहीलाई खुशी बनाएर पठाउनुस्।”
न्यायालयमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्न सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरिरहेको र न्यायपालिका तथा बारबीच सुमधुर समन्वय गरेर अघि बढेन उनको भनाइ थियो।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले राम्रो कामका लागि सम्मान गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने माग गरे। “सर्वोच्च अदालतमा अहिले पनि १० वर्षसम्मका मुद्दा बाँकी छन्,” उनले भने, “फैसला ढिला हुँदा सेवाग्राही निराश भएका छन्।”