अकबरे खेतीमा किसानको आकर्षण
लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको अभाव नभएकाले अकबरे खेतीमा किसानको आकर्षण बढ्दै गएको छ।
इलामको सूर्योदय नगरपालिका–६ कृषक दीर्घ राईले यही वर्षदेखि दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरू गरेका छन्। छिमेकीहरूले लगाएको खुर्सानी खेतीबाट प्रभावित भएर दीर्घले पनि खेती शुरू गरेका हुन्।
उनले लगाएको खुर्सानीले उत्पादन पनि दिन थालिसकेको छ। व्यापारीहरू बारीमै पुगेर हरियो खुसार्नी प्रति किलो २०० रुपैयाँमा खरीद गर्दै आएका छन्। यसले दीर्घ उत्साहित बनेका छन्।
“पहिलो सिजनमा नै राम्रै आम्दानी दिन थालेको छ,” दीर्घले सुनाए, “व्यापारीहरू खेतमै खुर्सानी किन्न आउन थालेका छन्। आगामी वर्ष खेती विस्तार गर्ने सोच बनाएको छु।”
इलामकै होमनाथ गजुरेलले अकबरेको व्यावसायिक खेती शुरू गरेको ६ वर्ष भयो। दुई रोपनी क्षेत्रफलमा अकबरे खेती गर्दै आएका उनलाई अहिलेसम्म बिक्रीका लागि कुनै अप्ठ्यारो परेको छैन।
“थोरै लगानीमा खुसार्नीले राम्रो आम्दानी दिइरहेको छ। न बजारको चिन्ता न लगानी डुब्यो भन्ने डर,” होमनाथले सुनाए, “हामी जस्ता किसानका लागि खुसार्नी खेती नगदे बालीमध्ये राम्रो आम्दानीको बाटो बनेको छ।”
दीर्घ र होमनाथ मात्र होइनन्, इलामको कुल १० स्थानीय तहमध्ये आठ स्थानीय तहका धेरै किसानले व्यावसायिक अकबरे खेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र इलामका अनुसार, १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका र माई नगरपालिका बाहेकका आठ स्थानीय तहका ३०० परिवार एकल तथा सामूहिक रूपमा व्यावसायिक अकबरे खेतीमा संलग्न छन्।
उपभोक्ता र बजार बढेसँगै पछिल्ला समय अकबरेको खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र‚ इलामका प्रमुख टोनी बर्देवाका अनुसार, आर्थिक वर्ष (आव) २०७७/७८ मा १६ करोड रुपैयाँको अकबरे निर्यात भएको थियो। अकबरेको खेतीबाट इलामका किसानले एक रोपनीबाट एक सिजनमा एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बर्देवा बताउँछन्।
केन्द्रको तथ्याङ्क अनुसार, इलाममा प्रत्येक वर्ष चार दशमलव दुई प्रतिशतका दरले अकबरेको खेती विस्तार भइरहेको छ। आव २०७५/७६ मा १६३ हेक्टरमा खेती भएको थियो। उक्त वर्ष ५९६ मेट्रिक टन अकबरे उत्पादन भएको थियो। यस्तै, आव २०७६/७७ मा १६५ हेक्टरमा अबकरे खेती हुँदा ६६० मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ। आव २०७७/७८ मा १७० हेक्टरमा ७१४ मेट्रिक टन उत्पादन भएको थियो।
थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा अकबरे खुर्सानी परेको हो। यस्तै, अकबरे खरीदका लागि व्यापारीहरू बारीमा नै पुग्ने भएकाले पनि किसानहरू यसको खेतीमा आकर्षित भएका हुन्। इलाममा अकबरे मात्र होइन, कृषिजन्य अन्य वस्तु पनि उत्पादन हुँदै आएका छन्। यहाँका उत्पादनसँग ‘अ’ जोडिएको छ। अर्थोडक्स चिया, अलैंची, अम्रिसो, अदुवा, ओलन (दूध), अकबरे, आलु इलामका चर्चित कृषि उत्पादन हुन्।
प्रदेश १ मा फैलिंदै अकबरे खेती
प्रदेश १ को पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा र भोजपुरमा अकबरेको व्यावसायिक खेती हुँदै आएको छ। प्रदेश कृषि मन्त्रालयका कृषि प्रसारक अभिमन्यु अधिकारीका अनुसार, प्रदेशको एक हजार १५ हेक्टरमा अकबरेको व्यावसायिक खेती हुँदै आएको छ। आव २०७७/७८ मा प्रदेश १ मा पाँच हजार ६५८ मेट्रिक टन अकबरे उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा छ।
प्रदेशका पहाडी जिल्लामा अकबरेको व्यावसायिक खेतीप्रति किसानको आर्कषण बढ्दो छ। आव २०७५/७६ मा कुल ६०३ हेक्टरमा अकबरेको खेती भएको थियो। आव २०७६/७७ मा ६४१ हेक्टर र आव २०७७/७८ मा एक हजार १०५ हेक्टर अकबरे खेती भएको मन्त्रालयको तथ्याङ्कमा छ।
प्रदेशका १४ जिल्लामध्ये भोजपुरमा ४५० हेक्टर, पाँचथरमा २०० हेक्टर, इलाममा १७० हेक्टर र धनकुटामा ८८ हेक्टरमा अकबरे खेती हुँदै आएको छ। अन्य जिल्लामा भने व्यावसायिक खेती भएको छैन।
लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको अभाव नभएकाले अकबरे खेतीमा किसानको आकर्षण बढेको कृषि प्रसारक अधिकारी बताउँछन्। स्वदेश तथा विदेशमा पनि यसको माग राम्रो छ। अकबरेको खेती विस्तारसँगै प्रदेश सरकार यसको पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ।