जब आदिवासीसमक्ष पोपले माफी मागे
पोप फ्रान्सिसले क्यानाडामा क्याथोलिक चर्चको ज्यादतीले आदिवासीले ज्यान गुमाएका र संस्कृति मासिएको घटनालाई नरसंहार स्विकार्दै माफी मागे। यस्तो दिन नेपालमा पनि नआउला भन्न सकिन्न।
हिमालको गत वर्षको भदौ अङ्कमा ‘चिनो नलगाइएका चिहानहरू’ शीर्षक लेख थियो जसमा क्यानाडाका आदिवासी जनजातिको मूलप्रवाहीकरणका नाममा सन् १८६५ देखि १९९७ सम्म क्याथोलिक चर्च अन्तर्गत आवासीय शिक्षा प्रणालीले आदिवासी समुदायमा पारेको कहालीलाग्दो प्रभावबारे चर्चा गरिएको थियो। त्यो शिक्षा प्रणालीमा एक लाख ५० हजारभन्दा बढी आदिवासी जनजातिका छोराछोरीलाई जबर्जस्ती आवासीय विद्यालय पठाइन्थ्यो। त्यहाँ मातृभाषामा बोल्न पाइन्नथ्यो, अंग्रेजी वा फ्रेन्च बोल्नुपर्थ्यो।
जबर्जस्ती इसाई बनाइएको थियो। कतिपय बाबुआमाले आफ्नो बच्चा कहाँ छ भन्नेसम्म थाहा पाएनन्। विद्यालयको आवासीय व्यवस्था, खानपिन र स्याहार राम्रो थिएन। अनुशासनका नाउँमा कठोर दण्ड दिइन्थ्यो। स्वयंसेवाका नाउँमा विद्यार्थीहरूलाई निःशुल्क काम लगाएर त्यस बापतको पैसा चर्चमा बुझाइन्थ्यो।
अन्ततः क्याथोलिक चर्चको आवासीय शिक्षा प्रणालीले पिछडिएको समुदायलाई मूलप्रवाहमा ल्याउन सकेन। तर, यसको परिणति योभन्दा कैयौं गुणा बढी भयावह भयो। आदिवासी/जनजातिको भाषा, धर्म र संस्कृति नष्ट भयो। विद्यालय जान बाध्य पुस्ताका बाबुआमा विभिन्न मानसिक रोगका शिकार भए।
अनुशासनका नाउँमा दिइने दण्ड र कुपोषणका कारण हजारौं बालबालिका विद्यालयमै मरे। उनीहरूलाई विद्यालय परिसर वा वरपर गाडियो। तर, अभिभावकलाई त्यसको जानकारी नै दिइएन। अहिलेसम्म क्यानाडामा त्यस्ता हजारौं चिहान फेला परेका छन्, जसलाई ‘अनमाक्र्ड ग्रेभ्स’ (‘चिनो नलगाइएका चिहानहरू’) भनिन्छ।
यो प्रकरणले संसारभरि इसाई धर्मका नाउँमा गरिएका अपराधको फेहरिस्त उजागर भयो। धर्मको आवरणमा छोपिएका अपराधबारे राजनीतिक मञ्चहरूमा चर्चा/परिचर्चा भए। यसले विश्वकै धेरै अनुयायी भएको क्याथोलिक चर्चको मुख्यालय रोममा दबाब नपर्ने कुरै थिएन। अझ् क्यानेडियन आदिवासीहरूले रोम पुगेरै पोपलाई क्यानाडा आई क्याथोलिक चर्चको नेतृत्वमा विगतमा भएका अपराधमा क्षमा माग्न दबाब दिएका थिए।
भ्रमणको उत्साह र रोष
गत २४ जुलाईका दिन क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टाको एडमन्टन शहरमा छुट्टै चहलपहल थियो। क्याथोलिक धर्मगुरु पोप फ्रान्सिस साताव्यापी भ्रमणमा आउँदै गर्दा बहुसंख्यक क्रिश्चियन समुदायमा स्वाभाविक खुशी थियो भने आदिवासी समुदायमा उत्तिकै रोष।
पोप फ्रान्सिसका लागि यो १०३औं विदेश भ्रमण थियो, तर यस्तो अनिच्छित यात्रा त्यसअघि शायदै भएको हुँदो हो। उनले यस भ्रमणलाई ‘पेनिटेन्सियल पिल्ग्रिमेज’ अर्थात् अपराधहरूको क्षमायाचनाका लागि गरिने तीर्थाटन नाम दिएका थिए जुन जबर्जस्ती आवासीय विद्यालय लगिएकाहरूको मानसिक स्वास्थ्यलाभ र उनीहरूसँग क्याथोलिक चर्चको सामुदायिक मेलमिलापका लागि पनि अत्यावश्यक थियो।
रोमबाट १० घण्टा लामो यात्रापछि स्थानीय समय अनुसार बिहान ११ः०९ बजे पोप एडमन्टन विमानस्थलमा ओर्ले। उनको स्वागतमा तम्तयार थिए क्यानाडाका गभर्नर जनरल मेरी सिमोन र प्रधानमन्त्री जस्टिन ट्रुडो। भ्रमणदलमा चर्चका अधिकारी बाहेक विभिन्न देशका ७० जना पत्रकार थिए। दुई जना क्यानाडाकै आदिवासी मूलका पत्रकार थिए जसको पुर्खाले क्यानेडियन आवासीय विद्यालयमा जबर्जस्ती अध्ययन गर्नुपरेको थियो।
भ्रमणका क्रममा पोप अल्बर्टा, क्युबेक र नुनाभट राज्यका तत्कालीन आवासीय विद्यालय वरपर आयोजित कार्यक्रममा सहभागी भए। तिनमा पढ्न बाध्य बनाइएका आदिवासीलाई भेटे। उनीहरूका सन्तान कुपोषण र यातनाको शिकार बनेका, आफूहरूसँग भेट्नै नदिइएका, दिए पनि दोहोरो कुरासम्म गर्न नपाएका दुर्दान्त अनुभव सुने। अनि पोपले भने, “यो अपराधको सजाय हामीले भोग्नैपर्छ।”
पोपले भाषणमा क्याथोलिक चर्च प्रणाली, आवासीय विद्यालयमा गरिएका दुर्व्यवहार आदिको खुलेरै आलोचना गरे, “हामी अपराधी हौं। हामीले क्यानाडाका आदिवासी समुदायको धर्म, भाषा र संस्कृति नष्ट गर्ने अक्षम्य अपराध गरेका छौं। जिजस क्राइस्ट र बाइबलले दिएको आदेश र निर्देशन विपरीत व्यवहार गरेका छौं। यसको जति भत्र्सना गरे पनि कम हुन्छ। यसका लागि क्षमायाचना पर्याप्त होइन। तैपनि क्षमा दिनोस्।” त्यसपछि आदिवासी समुदायका अगुवाले पोपलाई उनीहरूको मुकुट लगाइदिए।
डक्ट्रिन अफ डिस्कभरी
२८ जुलाईमा क्युबेक सिटी बाहिरको एउटा चर्चमा पोपले मासको नेतृत्व गर्दै थिए। भित्र १६ मानिस थिए जसमा आदिवासी, सरकारी अधिकारी र चर्चका पदाधिकारी थिए। बाहिर विभिन्न स्थानमा टेलिभिजन, सिनेमाघर र सामाजिक सञ्जालबाट कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रम शुरू हुनु ठीक अघि दुई आदिवासी एउटा ठूलो ब्यानर खोलेर पोपका अघिल्तिर उभिए, जसमा लेखिएको थियो ‘रेसिन्ड द डक्ट्रिन’। अर्थात्, ‘डक्ट्रिन अफ डिस्कभरीको नीति लादेर हडपिएका आदिवासीको भूमि फिर्ता गर’।
ऐतिहासिक पृष्ठभूमि केलाउँदा यो ‘डक्ट्रिन’ चौधौं शताब्दीमा यूरोपमा विकास भएको कानून थियो। जस अनुसार जुन यूरोपेली मुलुकले बाहिरका नयाँ देश वा ठाउँ पत्ता लगाउँछ, त्यो त्यसैको हुनेछ। उदाहरणका लागि, स्पेनका क्रिस्टोफर कोलम्बसले अमेरिकाका जति भूभाग पत्ता लगाए, त्यो स्पेनको हुने भयो। त्यही नियम क्याथोलिक चर्चले समेत अपनाएर अमेरिका, अफ्रिका र अन्य देशका आदिवासी/जनजातिका भूभाग हडपेर आफ्नो अधीन बनायो। क्यानाडामा खोलिएका आवासीय विद्यालय र चर्च त्यही नीति अन्तर्गतका हुन्।
पोपले आदिवासी समुदायलाई परेको पीडाप्रति क्षमायाचना अनि क्याथोलिक चर्चको अगुवाइमा भएका गतिविधिको कडा शब्दमा निन्दा गरे पनि ‘डक्ट्रिन अफ डिस्कभरी’को नियम लादेर हडपिएका आदिवासी जनजातिका सम्पत्तिबारे कुरै गरेनन्। जबकि, आदिवासीहरू हडपिएको आफ्नो सबै भूमि फिर्ता गर्न नसके पनि त्यसरी हडप्ने नियम गलत रहेको अभिव्यक्ति पोपबाट आओस् भन्ने चाहन्थे।
जातीय नरसंहार
गत ३० जुलाईमा क्यानाडाको इक्वालुटबाट इटालीको रोम फर्कंदै गर्दा हवाईजहाजभित्रै आयोजित पत्रकार सम्मेलनमा क्यानाडाका आदिवासी मूलका तिनै दुई पत्रकारले पोपलाई प्रश्न गर्न पाए। सीबीसी रेडियोकी पत्रकार का‘न्होसिओ डिअरले सोधिन्, “डक्ट्रिन अफ डिस्कभरी किन खारेज नगरेको?” पोपले सोझे जवाफ दिएनन्। बरु, सोही कानूनका आधारमा अझै कतिपय यूरोपेली मुलुक बाँचिरहेको तर्क गर्दै घुमाउरो शैलीमा त्यो खारेज गर्न नसकिने आशय दर्शाए।
द क्यानेडियन प्रेसकी पत्रकार ब्रिट्नी होब्सनले सोधिन्, “क्यानाडाको सत्य निरूपण तथा मेलमिलाप आयोगले आवासीय विद्यालय प्रणालीमा क्याथोलिक चर्चले गरेको ज्यादतीलाई सांस्कृतिक नरसंहार भनेको छ। यसबारे तपाईंले स्पष्ट बोल्नुभएन नि?”
पोपले भने, “हो, यो नरसंहारै हो। पहिले यो शब्द प्रयोग गरिएको थिएन किनभने, त्यो मसम्म आइपुगेकोे थिएन। अर्काको बालबच्चा जबर्जस्ती लाने, उसको संस्कृति, मानसिकता, रीतिरिवाज अनि जातै परिवर्तन गर्ने काम भएको छ। तसर्थ, यो नरसंहारै हो।”
पाठ
३ अगस्टमा क्यानाडाबाट फर्केर रोम पुगेपछि आयोजित पत्रकार सम्मेलनमा पनि पोपले क्षमायाचना दोहो¥याउन छाडेनन्। बरु, आदिवासीको संस्कृति नष्ट गर्न खोजेकोमा क्याथोलिक चर्चले ‘चड्कन खानुपर्ने’ धारणा राखे। तर, कम्तीमा दुई मुद्दामा पोप खुलस्त भएनन्। पहिलो, ‘डक्ट्रिन अफ डिस्कभरी’को खारेजी।
क्यानाडाको सर्वोच्च अदालतले त्यहाँका आदिवासीमा त्यस देशको पहिलो अधिकार रहेको कुरा स्विकारेको छ। तर, त्यही कुरा क्याथोलिक चर्चका प्रमुखले आजसम्म स्विकारेका छैनन्। दोस्रो हो- आवासीय विद्यालयमा भएको यौनहिंसाको विषय। ती विद्यालयमा चर्चका अधिकारीहरूको संलग्नतामा आदिवासी बालबालिकामाथि भएका यौनहिंसालाई समेत पोपले नजरअन्दाज गरे।
तसर्थ, आदिवासी समुदायले सामाजिक स्वास्थ्यलाभ र मेलमिलापको उद्देश्य अनुरूप गरिएको पोपको ‘पेनिटेन्सियल पिल्ग्रिमेज’ ऐतिहासिक भए पनि अपूर्ण भएको अनुभव गरेका छन्। यद्यपि आवासीय विद्यालय र क्याथोलिक चर्चको भूमिकाबाट क्यानाडाको आदिवासी जनजाति समुदायमा परेको प्रभाव इतिहासकै लज्जा र नमीठो घाउका रूपमा सम्झिइरहने घटना भएको छ।
आवासीय विद्यालय प्रकरण र चिनो नलगाइएका चिहानहरू भेटिने क्रमले धर्मको आडमा अन्त्यमा पोपको क्यानाडा भ्रमणको सन्दर्भलाई नेपालमा हिजोआज बढिरहेको धर्मान्तरणको प्रभावसँग जोड्न सकिन्छ। आर्थिक, स्वास्थ्यलाभ वा अरू विभिन्न प्रलोभनमा पारेर नेपालका गाउँ गाउँमा बढेको इसाईकरणले खास गरी हाम्रा आदिवासी/जनजातिको धर्म-संस्कृति, प्रकृतिपूजा बिस्तारै नष्ट हुँदै छ। कतै नेपाली आदिवासी जनजातिले निकट भविष्यमा क्यानाडाकै जस्तै नियति भोग्नुपर्ने त होइन? भविष्यमा कुनै पोप आएर क्षमायाचना गर्ने वेलासम्म हामीसँग के बाँकी रहन्छ? सोचौं। ल
(आचार्य युनिभर्सिटी अफ अटवा र सेन्ट पउल युनिभर्सिटी क्यानाडामा अनुसन्धान र प्राध्यापनमा संलग्न छन्। हिमालको २०७९ भदौ अंकमा ‘पोपको पश्चात्ताप-तीर्थाटन’ शीर्षकमा प्रकाशित।)