नेता गिरिको निधनले शोकमा बस्तीपुर
“आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु? कसको सहारामा बाँच्नु?)
लहान नगरपालिका–१४ बस्तीपुरकी जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँले पनि रुन थाले। कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको खबर सुने लगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन।
“आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु,” जितनीदेवीले भनिन्, “अब कसलाई बुबा भनेर बोलाउने? समस्या पर्दा कसलाई सुनाउने? अब कोही रहेन, बेसहारा जस्तै भएकी छु।”
भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा गिरिले ‘जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुल्झाउँछु’ भनेको सम्झिँदै जितनीदेवीले भनिन्, “प्रदीप बाबु मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो। अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु।”
नेता गिरिले जितनीदेवीलाई सधैं सघाउँदै आएका थिए। “कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नुहुन्थ्यो,” उनले भनिन्।
नेता गिरिको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियारले सुनाए। उनी पनि गिरिको निधनको खबर सुनेदेखि शोकमा डुबेका छन्।
“आश्रममा जहिले आउँदा पनि मेरो पढाइबारे सोध्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो,” लहानस्थित जेएस मुरारका क्याम्पसमा अध्ययनरत दीपले भने, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने वातावरण बन्यो।”
बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले नेता गिरिलाई असाध्यै सरल, भावुक स्वभावका व्यक्तिका रूपमा सम्झिन्छन्। “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा हुनुहुन्थ्यो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौं। हामीले असल र स्वाभिमानी नेता गुमाएका छौं,” उनी भन्छन्।
उनीहरू जस्तै नेता गिरिको निधनले यति वेला बस्तीपुर गाउँ नै शोकमा डुबेको छ। गाउँलेहरू नेता गिरिको पुर्ख्यौली घर अगाडि भेला भएर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
“सरल स्वभावका प्रदीप बाबुसँग चुनावका वेला सँगै घुमें,” बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, “उहाँ जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ। उहाँसँग हिंड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइन्नथ्यो।”
यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गरेको बस्तीपुर माविमा पनि आज बिदा दिइएको छ। “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ,” विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, “उहाँ यस विद्यालयका पूर्व विद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामीले उहाँको शोक मनाएका छौं।”
उनले २०१८ सालमा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सिरहा १ बाट निर्वाचित भएका थिए। नेता गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले असल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको मेयर महेश चौधरीले बताए।
नेता गिरिको उपचारका लागि काठामाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको खबर पाएपछि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा प्रार्थना गरेका थिए। राति निधन भएको खबर सुनेपछि भने शोकमा डुबेका छन्। (रासस)