जसले कहिल्यै मन्त्री बन्न चाहेनन्
समाजवादी चिन्तकमा रूपमा परिचित नेता प्रदीप गिरि पटक पटक सांसद बने पनि मन्त्री बन्न भने चाहेनन्।
घाँटीको क्यान्सरबाट पीडित नेपाली कांग्रेस नेता एवं सांसद गिरिको भदौ ४ गते राति ९ः३० बजे उपचारका क्रममा निधन भयो। एक महीनादेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनले त्यहीं अन्तिम सास फेरे।
उनी लामो समयदेखि घाँटीको क्यान्सरसँग जुधिरहेका थिए। एक महीनाअघि भारतका उपचार पनि भएको थियो। निको भएर नेपाल फर्किए लगत्तै स्वास्थ्य समस्या देखिएको थियो।
त्यसपछि उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया भएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि शरीरका विभिन्न अङ्गले काम गर्न छाडेको र निधन भएको चिकित्सकले बताएका छन्।
२००४ असोज २४ गते सिरहाको बस्तीपुरमा आमा पुण्यप्रभा गिरिको कोखबाट जन्मिएका उनले सधैं साधारण जीवन यापन गरे। किशोरावस्थामा छँदा उनका बुबा मित्रलाल गिरि कांग्रेस सिरहाका सभापति थिए। बुबाको प्रेरणाबाट राजनीतितिर तानिएका उनी भारतको बनारसमा अध्ययनका क्रममा कांग्रेसमा आबद्ध भए। बनारसमा पढ्दा उनी छात्र संघको अध्यक्ष पनि भए। उनको सङ्गत कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेताहरूसँग भयो।
त्यही क्रममा उनले भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरेका महात्मा गान्धीलाई चिन्ने मौका पाए। उनी गान्धीबाट प्रभावित भए। प्रायः कम्युनिष्टहरूको दबदबा रहने भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिमा गान्धीको गहिरो प्रभाव थियो। उनले गान्धीवादी नेताकै रूपमा सरल जीवनशैली अपनाए।
कांग्रेसमा आबद्ध भएपछि बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहे। त्यही क्रममा २०२५ देखि २०४२ सालसम्म पटक पटक गरी चार वर्ष जेल जीवन बिताए।
बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि उनी कांग्रेस केन्द्रमा आए। त्यससँगै उनी २०५१ सालमा सांसद बने। त्यसपछि २०५६ मा भएको चुनावमा भने पराजित भए।
२०६४ र २०७० सालमा उनी समानुपातिकबाट संविधानसभा सदस्य बने। २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा सिरहा १ बाट निर्वाचित भए। चार पटक संसद्मा सहभागी भए पनि उनले मन्त्री बन्न रुचाएनन्।
कांग्रेस नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई नजिक रहेका उनी २०५९ मा कांग्रेस विभाजन भएपछि शेरबहादुर देउवातिर लागेका थिए। त्यति वेला उनी कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य बनेका थिए। उनका प्रभावमा देउवाले कांग्रेसमा समावेशीकरणको नीति ल्याएका थिए। जसलाई ‘कदमजम’को नाम दिइएको थियो। जसको पूर्ण रूप समावेशीकरणमा कर्णाली, दलित, महिला, जनजाति र मधेशी समेटिएको थियो।
उनको यही नीतिलाई इङ्गित गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्यमा भनेका छन्, “राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दूमा राख्नुहुन्थ्यो। नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभयो।”
नेता गिरि कांग्रेसभित्र मात्रै नभएर बाहिर पनि उत्तिकै लोकप्रिय थिए। कांग्रेस बाहिरका बौद्धिक बहसमा उनलाई रुचाइने गरेको थियो। उनले एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्।