साउनमा झण्डै दुई अर्बको विद्युत् भारतलाई बिक्री
नेपालले गत साउनमा झण्डै दुई अर्बको बिजुली भारतलाई बेचेको छ भने थप १११ मेगावाट बिजुली बेच्ने प्रस्ताव गरेको छ।
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीनामा नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख ७६ हजारको बिजुली भारतलाई बेचेको हो। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको जनाएको छ। विद्युत् निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख आम्दानी भएको छ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को ‘डे-अहेड’ बजारमा प्रतिस्पर्धा मार्फत बिक्री शुरू गरेको हो।
शुरूआतमा दुई वटा विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि जेठ २७ गतेबाट दैनिक रूपमा ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ८८ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो। ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् निर्यात भइरहेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको ७३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो। योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकाले भारतीय बजारमा प्रतिस्पर्धा मार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् आइएक्सको ‘डे-अहेड’ बजारमा प्रतिस्पर्धा मार्फत बिक्रीको प्रस्ताव गरेको छ। चार वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको घिसिङले बताए। केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात शुरू हुनेछ।
प्राधिकरणले ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोला, २२.१ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित कुल १११.८ मेगावाट विद्युत् निर्यात गर्न लागेको हो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारसँग कुरा भइरहेको र छिटै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाण सहित बिडमा प्रतिस्पर्धा छ। विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ।
प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।