जदौ पुरस्कार महावीर पुनलाई प्रदान
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ।
दाहाल यज्ञनिधिको चौथो स्मृति दिवसका अवसरमा एक लाख ५० हजार राशिको पुरस्कार शनिबार पुनलाई प्रदान गरिएको हो। दाहाल यज्ञनिधि सुधा सदनले राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुरस्कार पुनलाई प्रदान गरेका हुन्।
आफूले पाएको पुरस्कार आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने पुनले घोषणा गरेका छन्। “मैले व्यक्तिगत रूपमा सम्मान ग्रहण गर्दा धेरैलाई अन्याय हुन्छ। मैले मेरो नाममा कुनै पुरस्कार र सम्मान नदिनु, दिने भए राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु भनेको छु। मैले पुरस्कार थापे पनि यो सम्मान आविष्कार केन्द्रका भाइबहिनीलाई जानेछ,” उनले भने।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको दाहाल यज्ञनिधिका कविता कृति विमोचन गरिएको छ।
त्यस्तै, संस्थाले दाहाल यज्ञनिधिले लामो समय शिक्षण गरेको दरबार हाइस्कूलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई प्रत्येक वर्ष २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।
दाहालको नाममा यसै वर्ष काठमाडौं जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्था दर्ता भएको छ। उनकी पत्नी एवम् संस्थाकी अध्यक्ष सुधा दाहाल (आचार्य)ले ५१ लाख रूपैयाँ संस्थाको अक्षयकोषमा राखेकी छन्।
अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने संस्थाका सचिव ठाकुर बेल्बासेले जानकारी दिए।