देश, घर र बारी
घरमा अलिकति भए पनि हरियोपरियो रोप्ने हामी हाम्रै शहरको मासिँदो हरियालीप्रति चाहिं किन चिन्तित छैनौं?
मान्छेका फूलबारीको कथा सुनेर म कहिल्यै थाक्दिनँ। कुनै नयाँ घरमा पुग्दा मेरो पहिलो प्रश्न हुन्छ, “बारीमा के फल्दै छ त?”
कोही भन्छन् आलु, कोही भन्छन् मकै। सबैले दिन्छन्, एउटा न एउटा उत्तर। पुग्दो जग्गा नभए नि, शहरको बीचमा बसे नि, प्रायजसोको घरमा कुनै न कुनै बोटबिरुवा हुन्छ। कसैले छतमा कागती रोप्छन्, कसैको सिँढीभरि फूलले भरिएका गमला हुन्छन्। बारी नै हुनेले त खुर्सानीकै बोट भए नि पक्कै रोप्छन्।
यस्तो बानी विदेशै गए नि छुट्दैन। त्यहाँ पनि नेपालीको घर भन्ने बित्तिकै सिमेन्टको ब्यागमा फलिराखेको रायोको साग देखिन सक्छ। जति सानो भए पनि हामीलाई घरमा अलिकति हरियाली चाहिन्छ। यसो गर्न न हामीलाई कुनै विद्यालयमा सिकाइयो न त कानूनले बाध्य पारेको हो।
शायद यसो गर्न हामीलाई प्रकृतिले नै सिकाएको हो। जुन हरियाली डाँडाकाँडा, जङ्गलमा देख्छौं त्यसैलाई घरमा ल्याउँछौं। त्यसो हो भने हाम्रा सार्वजनिक स्थान अनि शहरको हरियाली दिनदिनै मासिँदा चाहिं हामी किन चूपचाप छौं? के हाम्रो हरियालीसँगको सम्बन्ध घरको ढोकासम्म मात्रै सीमित छ?
केही वर्षअघि काठमाडौं, चक्रपथको चाबहिल-महाराजगञ्ज खण्डमा ज्याकारान्डाका ठूल्ठूला रूखले छहारी दिन्थे। वसन्तमा तिनका बैजनी फूल परैबाट देखिन्थे। छेउका गाडीले जति धूलोधुवाँ फाले पनि यी रूख हुँदै बहने ताजा हावाले त्यसको असर महसूस हुन दिँदैनथ्यो।
अहिले ती रूख देखिँदैनन्। चक्रपथ फराकिलो बनाउँदा सबैजसो ज्याकारान्डा काटिए। अब वसन्तमा बैजनी फूल मगमगाउँदैनन्। बाटोमा मास्क र छाता विना हिंड्न सकस छ। ती विशाल रूखको अभावपूर्ति गर्न काठमाडौं उपत्यकाले अन्य ठाउँमा नयाँ बिरुवा त रोपेको छ, तर बढ्दो प्रदूषणमा ती कसरी जोगिएलान्, ख्याल गरिएको छैन।
यस्तो स्थिति नेपालभर देखिन्छ। सबैतिर भौतिक विकास-निर्माण प्राथमिकतामा छ। यही जोशमा हामी सडक, अस्पताल जस्ता पूर्वाधार थप्दै छौं। तर, यस्तो विकास शहरमा थोरै मात्र बचेका रूख नकाटी सम्भव हुन्न र? विकास र प्राकृतिक संरक्षण समानान्तर रूपमा अघि बढ्न सक्दैनन्?
हामी हरियाली नष्ट पारेर सिमेन्ट र इँटाका दरबार ठड्याउँदै छौं। डाँडा खनेर बालुवा निकाल्दै छौं। धेरै विकास विश्लेषकका लागि भौतिक विकास नै सबै कुरा हो, जसका अघि अरू सबै कुरा अर्थहीन छन्। तिनको बुझाइमा प्रकृति संरक्षण र दिगो विकास महत्त्वपूर्ण भए पनि तत्कालको प्राथमिकता चाहिं भौतिक निर्माण नै हो। यो सोचाइ पूरै अदूरदर्शी छ। हामीले भोलिका भनेर छोडेका समस्या एक दिन अवश्य वर्तमान बनेर आउनेछन्। अहिल्यैदेखि प्रकृति संरक्षण र दिगो विकासतर्फ नलागे ती समस्या अझ ठूलो रूपमा प्रकट हुनेछन्।
सत्य के हो भने, नेपालका धेरै शहर बस्न लायक छैनन्। हाम्रा नदी-नहरमा पानीभन्दा धेरै फोहोर बग्छ। हरियाली दिनदिनै घट्दो छ। हाम्रा डाँडा जसबाट हामी घर बनाउने बालुवा ल्याउँछौं, ती सबै खनिँदै छन्। खेतबारी पुरेर ‘हाउजिङ कम्प्लेक्स’ बन्दै छन्। विकास महत्त्वपूर्ण छ, तर हाम्रो स्वास्थ्य, शहर, प्राकृतिक सभ्यता अनि घर चाहिं कम महत्त्वपूर्ण हुन् र?
हामी घरमा फूल रोप्छौं। प्रकृतिप्रतिको माया कथा-कवितामा पनि उतार्छौं। तर, घर बाहिर जाने बित्तिकै यो माया कता हराउँछ?
देश विकास गर्नु छ, यसलाई बस्न लायक बनाउनु छ भने प्रकृतिप्रतिको माया हराउन दिन हुँदैन। जुन प्रेमले निजी प्रकृतिलाई रक्षा गर्छौं, त्यही प्रेमले आफ्ना प्राकृतिक स्रोतहरूको पनि संरक्षण गर्नुपर्छ। जति नै उचित कारणका लागि भए नि हामी आफ्नो घरको रूख कसैलाई त्यत्तिकै काट्न दिँदैनौं। काट्नैपरे त्यसको बदलामा नयाँ बिरुवा रोप्छौं, स्याहार्छौं।
देश र शहर पनि हाम्रो घर हैन र? त्यहाँ चाहिं किन लापरवाही गर्न दिने?
(अधिकारी अर्थशास्त्र र शहरी अध्ययन विषयकी विद्यार्थी हुन्। हिमालको २०७९ भदौ अंकबाट।)