किशोर-किशोरीलाई उपयोगी खुराक
नेवाः समुदायमा किशोरीको पहिलो रजस्वला नहुँदै १२ दिन ‘बारा’ राख्ने संस्कृति छ। १० दिन बन्द कोठामा कोही पनि पुरुषको सम्पर्क वा देखभेटबाट अलग राखेपछि ‘सूर्यसँग विवाह’ गराउने यो परम्परा विज्ञानसम्मत यौन शिक्षासँग जोडिएको छ।
कुनै वेला धर्मान्धहरू पृथ्वीलाई नै ब्रह्माण्डको केन्द्र ठान्थे। त्यसलाई जिओ सेन्ट्रिक बुझाइ भनियो। तीन पुस्ताअघि मात्र पनि झाडापखालाले शिथिल भइसकेको बिरामीलाई पानी पिलाउनु हुन्न भन्ने गलत विश्वासका कारण अनाहक ज्यान गुमाउने मानिस धेरै थिए।
खोज्दै पस्दा समाजमा यस्ता गलत विश्वास अझै कति जीवन्त छन् भने कति विश्वास वैज्ञानिकताको कसीमा घोट्दा क्रमशः कमजोर बन्दै गएका पनि छन्। समाजमा जुनसुकै विश्वास र आस्था जतिसुकै जब्बर भएर रहे पनि त्यस्ता विश्वाससँग निहुँ खोज्ने अर्को एक थरी मानिस पनि जन्मिरहन्छन्।
गिर्जाघरले परिभाषा गरेको पृथ्वीको अवस्थितिलाई कपर्निकस र ग्यालिलियो जस्ता व्यक्तिले चुनौती दिए। समयान्तरमा उनीहरूका चुनौती नै वैज्ञानिक ठहरिए। अन्ततः सामाजिक चिन्तनको आधार बनेको विश्वास नै घाइते भयो। सामाजिक चिन्तन नयाँ जगमा उभियो।
मानिसलाई ‘ईश्वरका सन्तान’ भन्ने अन्धविश्वासीहरूका जडसूत्र डार्बिनको नवीन खोजले हल्लाएन मात्र, उल्टाइदियो। कहाँ ‘ईश्वरको सन्तान’ कहाँ बाँदरका सन्तति जीवविज्ञानमा डार्बिनले ल्याएको परिवर्तन राजनीतिक व्यवस्थामा कार्ल मार्क्सले ल्याएका थिए। अर्थात् समाजले बोकेर हिंडेका चिन्तन पनि निरन्तर परीक्षामा रहन्छन्। समयक्रममा जन्मिएका यस्ता व्यक्तिहरूले स्थापित चिन्तनलाई चुनौती दिएर सत्य खोज्ने यात्रा जारी राख्दा रहेछन्।
विज्ञानसम्मत चिन्तन फस्टाइनसकेको पछौटे समाजमा अझै पनि जब्बर बनेर बसेको एउटा गलत विश्वास हो- महिलाको रजस्वला (महीनावारी)। त्यसो त यो विषयमा धेरै अघिदेखि लेखिंदै र बोलिंदै आएको छ। सिमोन दी बुअरदेखि अरुणा उप्रेतीसम्मको फराकिलो समयावधिमा महीनावारीबारे भ्रम र यथार्थबारे धेरै बोलियो-लेखियो। चिकित्साशास्त्रले यसबारे लगातार नयाँ खोजमूलक वास्तविकता उजागर गर्दै आएको छ। तथापि, अझै पश्चिम नेपालको छाउ प्रथा न्यूयोर्क टाइम्सको हतप्रभ पार्ने फिचर बनिरहेको छ।
अझै पनि महीनावारी भएकी किशोरीले मन्दिर पस्न नहुने मात्र होइन, मन्दिरको प्रसाद पनि ग्रहण गर्न नहुने समाजमा हामी बाँचिरहेका छौं। विज्ञान संकायमा उच्च शिक्षा हासिल गरेका शिक्षक, प्राध्यापक र अध्येताहरू अझै महीनावारीलाई सामाजिक निषेधसँग जोडिरहेका छन्। विद्यालयका विज्ञान शिक्षक छात्राहरूको महिनावारीप्रति सबैभन्दा बढी छोइछिटो गरिरहेका छन्।
महिनावारीलाई निषेधसँग जोड्नु पृथ्वीलाई ब्रह्माण्डको केन्द्र ठान्नु वा पखाला लागेको बिरामीको मुखमा पानीको थोपा पनि पर्न नदिनु र मानिस ईश्वरको सन्तान हो भन्ने गलत विश्वास पाल्नुकै सिलसिला मात्र हो। महिनावारी कुनै अपवित्र शारीरिक प्रक्रिया होइन, बरु यो कोही पनि महिला स्वस्थ भएको लक्षण हो।
विडम्बना, यो विज्ञानसम्मत बुझाइ अझै पनि जड बनेको सामाजिक अन्धविश्वासबाट मुक्त हुन सकेको छैन। महिनावारी र त्यसले समाजको स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नेपाली समाजमा अझै पनि जब्बर भएर टिक्नुका कारणमध्ये त्यस्ता विषयमा कुराकानी नहुनु पनि हो। समाज र संस्कृतिले त्यस्ता विषयमा बोल्ने, सुन्ने र कुराकानी गर्नेभन्दा लुकाउने र लजाउने गर्दा त्यस्ता विषय अझ बढी ओझेलमा पर्दै गयो। लुकाइएका कुरामा भ्रम र गलत विश्वास फैलाउन अझ सहज बन्दै गयो।
यौन त्यस्तै अर्को विषय हो जो प्राकृतिक आवश्यकता भएर पनि हामीले संकुचित बनाउँदा रहस्यमय बन्दै गयो। यौनलाई लज्जासँग जोडियो। यौनको कुरा गर्ने मानिसलाई निर्लज्ज मानियो। फलतः यौन सार्वजनिक संवादको विषय बन्न सकेन। यौनका प्राकृतिक र वैज्ञानिक तथ्य लुकाइँदा अनावश्यक अतिरञ्जना फैलियो।
यौनका वैज्ञानिक कुराबारे खुलेर स्वाभाविक संवाद नहुँदा जीवनपथमा ताते-ताते गरिरहेका किशोरकिशोरीको निम्ति यो मानसिक तनाव र बढी मिहिनेतले मात्र थाहा पाउन सकिने विषय बन्यो। त्यसैको परिणामस्वरूप आज हाम्रो समाज पन्छाउन सकिने अनेकन् समस्या सामना गर्न बाध्य छ। समाज संकीर्णता र संकुचनबाट अझ माथि उठ्न सकिरहेको छैन।
निःसन्देह किशोर-किशोरी नै यौन, प्रजनन, लैङ्गिकता आदि विषयको अबोधताले जन्माउने चुनौतीको फ्रन्टलाइनमा छन्। यसको सबभन्दा ठूलो क्षति त्यही उमेर समूहले भोगिरहेका छन्। त्यसकारण यौन, महिनावारी, यौन जीवन आदिबारे न्यून जानकारीलाई समस्या मान्ने हो भने यसको समाधानको खोजीको शुरूआत किशोरकिशोरीबाट नै हुन जरुरी छ।
नेवाः समुदायमा किशोरीको पहिलो रजस्वला नहुँदै बाह्र दिन ‘बारा’ राख्ने संस्कृति छ। १० दिन बन्द कोठामा कोही पनि पुरुषको सम्पर्क वा देखभेटबाट अलग राखेपछि ‘सूर्यसँग विवाह’ गराउने यो परम्परा विज्ञानसम्मत यौन शिक्षासँग जोडिएको छ। बाह्र दिनसम्म बन्द कोठाभित्र किशोरीलाई शरीरमा आउने प्राकृतिक परिवर्तन र तिनको व्यवस्थापन गर्ने सही तरीकाबारे शिक्षा दिइन्छ। सौन्दर्य र सौन्दर्यको प्रशाधनबारे जानकारी दिइन्छ। तथापि, हिजोआज बारा राख्ने परम्परामा यौन शिक्षा भने गौण बन्दै गएको छ।
आजको जमानामा किशोरकिशोरीलाई यौन शिक्षा र शरीरमा आउने परिवर्तनबारे शिक्षा दिने सबभन्दा उपयुक्त थलो विद्यालयका कक्षाकोठा नै हुन्। शिक्षकहरू यसका मूल चालक हुन् ।
शिक्षक मासिकद्वारा प्रकाशित प्रजननको प्रकृतिः यौन तथा लैङ्गिकता शिक्षा स्रोत सामग्री नेपाली समाजले निषेधको तहमा बन्द राखेको यस्ता विषयमा संवादको थालनी गर्ने हेतुले प्रकाशन गरेको पुस्तक हो। १६३ पृष्ठको पुस्तकको अद्योपान्त पठनपछि पाठकमा देखिने पहिलो परिवर्तन भनेको उसले अब यौन, प्रजनन, महिनावारी आदिबारे बोल्न लाज मान्नेछैन। यस्ता विषयमा कुरा गर्न ऊ धक मान्नेछैन। अनि आफ्ना महिला सहकर्मी र जीवनसाथीका लागि पसलमा गएर ‘सेनिटरी प्याड’ किन्न असहज मान्नेछैन।
व्यक्तिगत रूपमा पुस्तकले मलाई पारेको प्रत्यक्ष प्रभावको कुरा गरौं। अरू धेरैलाई जस्तै मलाई पनि महिलाले रजस्वला हुँदा प्रयोग गर्ने सेनिटरी प्याड किन्न जान असहज लाग्थ्यो। ‘प्रजननको प्रकृति’ पढिसकेको केही दिनपछि बहिनीले सेनिटरी प्याड किनेर ल्याउन अनुरोध गरिन्। पुस्तक पढ्नुअघि हुँदो हो त, मैले त्यो अनुरोधलाई ठाडै अस्वीकार गर्थेँ अथवा कम्तीमा असहज अनुभव गर्थें। तर, पुस्तक पढिसकेपछि यही काम गर्दा मलाई गौरव अनुभव भयो।
मलाई पसले समक्ष सेनिटरी प्याडको रङ्ग र साइज भन्न कति पनि लाज लागेन। पसलेलाई प्याड पत्रिकामा पोको पारिदिन अनुरोध गर्न पनि आवश्यक ठानिनँ। मलाई लाग्छ, शिक्षक मासिकले यस्तो सानो र ज्यादै महत्त्व बोक्ने परिवर्तन हेतु यो पुस्तक प्रकाशन गरेको हुनुपर्छ।
पुस्तक बजारमा निकै ठूल्ठूला र गहिरा विषयमा लेखिएका पुस्तक जति पनि उपलब्ध छन्। चिया पसल र चौतारीमा राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति, चुनाव, अर्थतन्त्र, व्यापार, चलचित्रबारे लामो लामो कुराकानी गरेको सुन्छौं। तर, दैनिक रूपमा हरेक व्यक्तिले सामना गर्ने प्रजनन, यौन, मानसिक स्वास्थ्य, महीनावारी जस्ता विषयमा पढ्ने पुस्तक पुस्तक-बजारमा पाउन सजिलो छैन। यो अभावलाई प्रजननको प्रकृतिले अंशतः पूरा गरेको छ। कम्तीमा यस्ता विषयमा संवादको थालनी गर्ने आधार बनाएको छ।
पुस्तकको प्रारम्भ एउटा रोचक प्रश्नको जवाफबाट भएको छ- बच्चा कसरी बन्छन्? यो प्रश्न जति सरल सुनिन्छ, उत्तर भने उति नै गाह्रो छ। कतिलाई यसको जवाफ सहज रूपमा दिन नआउला, अनि कतिलाई यो प्रश्न नै पनि लाजको विषय बन्न सक्छ। अझ भर्खरको बालबालिकाले मनमा लागेको यो स्वाभाविक प्रश्न सोध्दा हामी आमाबुबा, काकाकाकी, दाइ, दिदीलाई कुन कुनामा लुक्न जाऔं जस्तो लाग्न सक्छ। हाम्रो समाज र संस्कृतिमा यौन, प्रजनन आदि विषयमा खुला कुराकानी गर्न थोपरिएको निषेधको परिणाम हो यो। हाम्रो मानसिकता नै पनि यस्ता विषयमा संकुचित बनिसकेको छ।
यस्ता विषयमा बोल्नु, सिकाउनु, सिक्नु पनि अपराध जस्तै मानिएको छ। पुस्तकको पहिलो पाठमा यो प्रश्नको सहज विज्ञानसम्मत उत्तर दिइएको छ। पुस्तकको यो ज्यादै महत्त्वपूर्ण भाग भएर पनि यो खण्डलाई अलगै रङ्गीन सचित्र पुस्तक बनाउन सके विशेषतः किशोरवय टेक्न लागेका बालबालिकाको निम्ति उपयोगी खुराक हुन सक्छ।
पुस्तकको दोस्रो खण्डमा समावेश ६ वटा निबन्ध किशोरावस्था, किशोरकिशोरीमा आउने यौन जिज्ञासा, यौन शिक्षा, मानसिक स्वास्थ्य आदि विभिन्न विषयमा केन्द्रित छन्। यौन, यौनजन्य भावना, प्रजनन आदि विषय सामान्य बालबालिकाको सन्दर्भमा त खुलेर कुरा हुँदैन भने विशेष क्षमता भएका बालबालिकाको त्यस्तो भावनाबारे चर्चा हुने सम्भावना कमै हुन्छ। तर, यौन भावना स्वाभाविक प्रकृति भावना हो।
शारीरिक तथा मानसिक रूपमा विशेष क्षमता भएका बालबालिकाको सन्दर्भमा पनि त्यस्तो भावना अन्य बालबालिकालाई जस्तै आउनु स्वाभाविक हो। तर, उनीहरूको शारीरिक र मानसिक विशेषताको कारण त्यस्ता भावना र चाहनाको व्यवस्थापनका निम्ति सामान्य बालबालिकाको तुलनामा उनीहरूलाई बढी सहायता र स्याहारको आवश्यकता पर्छ। डा. गिफ्टी जोएलको निबन्धमा यो नवीन कोणको चर्चा गरिएको छ।
‘यौन प्रदूषण र बाल यौन शोषणः सभ्यताको जङ्गलमा लागेको डढेलो’ शीर्षकको कृष्ण किशोरको निबन्ध बाल यौन दुराचारको गहन चर्चा हो। बाल यौन दुराचार र शोषण आज विश्वभर फैलिएको सामाजिक चुनौती र विकृति हो। आफूलाई राम्ररी अभिव्यक्त गर्न नजानेका र यौन भावना तथा दुरुपयोगबारे जानिनसकेका बालबालिकालाई वयस्कहरूका यौन भावना शमन गर्न दुरुपयोग हुने गरेको समाजको कुरूप चित्र यो निबन्धमा चित्रित छ। निबन्ध पढ्दा पाठकलाई हामी कति डरलाग्दो र पशुवत् समाजमा बाँचिरहेका छौं भन्ने अनुभूत हुन्छ। यौनलाई गोप्य अथवा लुकाउनुपर्ने विषय बनाइँदा, यौनलाई संकुचित रूपमा बुझ्दा यस्ता समस्याले समाजलाई भित्रभित्रै खोक्रो बनाउँदै गएको छ।
हर्मोन परिवर्तनको कारण किशोरावस्थामा यौन र विपरीत लिङ्गीप्रतिको आकर्षणबारे सबभन्दा बढी उत्सुकता हुने गर्छ। तर, समाज र संस्कृतिको संकीर्णताले यस्ता विषयलाई छोप्ने प्रयास गरिंदै आएको छ। यस्ता प्रयासले किशोरकिशोरीले आफ्नो स्वाभाविक भावनालाई अपराध वा गल्तीका रूपमा लिन्छन्। जसले उनीहरूलाई गहिरो मानसिक समस्याको दलदलमा डुबाउँछ। किशोरकिशोरीका स्वाभाविक प्रेमाभिव्यक्ति र आकर्षणलाई वयस्कहरूले अपराध मानी सजाय दिने संकीर्णताका दुष्प्रभाव समाजको नयाँ समस्या हुन्। त्यस्ता समस्याको सही व्यवस्थापनबारे ‘प्रजननको प्रकृति’ मा अर्को रोचक निबन्ध समावेश छ- वृषाली वैद्यको।
लैङ्गिकताबारे खुला छलफल गर्न प्रयोगात्मक शिविरको शब्द चर्चा विशेषतः शिक्षकहरूका लागि उपयोगी सामग्री हो। लैङ्गिकताबारे संवाद थाल्दा धेरै मानिसलाई समलिङ्गी, तेस्रो लिङ्गी, बहुलिङ्गी, द्विलिङ्गी आदि लैङ्गिकताका बहुलताबारे अन्योल र अस्पष्ट हुने गरेको छ। यी विविध लिङ्गबीच के कस्ता भिन्नता छन् भन्नेबारे अन्योलले लैङ्गिकतालाई सीमित कोणबाट मात्र बुझिने गरेको छ।
यो पुस्तकमा माधव दुलालको यी विविध लैङ्गिकताबारे परिचयात्मक लेखले लैङ्गिकतालाई गहन र व्यापक अर्थमा बुझ्न मद्दत गर्छ। अनि आम सञ्चारका माध्यममा फरक लिङ्गीलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने, हास्यको पात्र बनाउने चलनलाई यो जानकारीमूलक निबन्धले सजग बनाउँछ।
यौनिकता, लैङ्गिकता, महिला तथा किशोरकिशोरीका शारीरिक तथा मानसिक स्वास्थ्यका विज्ञानसम्मत समाधानको खोजी गर्ने प्रयासमा राज्यका निकायले प्रभावकारी भूमिका खेल्न नसक्दा वा जिम्मेवारी पूरा नगर्दा यी विषय विभिन्न दाता निकायका विषय बनेका छन्। राज्यका निकाय या त यी विषयमा बेवास्ता गरिरहेका छन् नभए आफैं दाता निकायमा निर्भर छन्। समाजमा जड बनेर रहेका सामाजिक विकृतिको समाधानमा राज्यको अग्रसरता पुगेको छैन। त्यसकारण यस्ता विषय थप जटिल र जड बन्दै गएका छन्। तर, शिक्षक मासिकको यो पुस्तकले कम्तीमा यी विषयलाई चासो र चर्चाको विषय बनाएको छ।
पुस्तकका अधिकांश निबन्ध अनूदित हुन्। तथापि, अनुवादकको शिल्पले निबन्धहरूको प्रवाहमा कहींकतै अवरोध अनुभव हुँदैन। सामान्यतः अनुवादमा अवधारणागत अस्पष्टता पाठकका निम्ति भातको गाँसमा ढुङ्गो जस्तै हुन्छ। तर, प्रजननको प्रकृतिको अनुवादमा पाठकलाई यस्ता असहजता उस्तो हुँदैन। तथापि, पुस्तकमा समावेश १३ वटा सामग्रीका विषयको गहनता र विविधताको आधारमा अलग अलग सानो आकारका अथवा थप सामग्री सहित पुस्तक प्रकाशन हुँदा अझ प्रभावकारी हुने देखिन्छ।
सम्पादनमा लामो अनुभवी सम्पादक राजेन्द्र दाहालको परिपक्व सम्पादनले पुस्तकलाई थप ओजपूर्ण बनाएको छ। यो पुस्तकको प्रकाशनले निकै फराकिलो अभियानको शिलान्यास भएको मान्न सकिन्छ।