महानगरसँग सम्झौतै नगरी फोहोर सङ्कलन, यी हुन् फोहोर उठाउने ७६ संस्था
काठमाडौं उपत्यकामा ७६ वटा संस्थाले फोहोर उठाउँदै आएका छन्, तर कुनै पनि संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छैन।
काठमाडौं र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बन्चरेडाँडामा विसर्जन गरिंदै आएको छ। काठमाडौं उपत्यकाको फोहोर यसअघि सिसडोलमा विसर्जन हुँदै आएको थियो।
काठमाडौं, ललितपुर र भक्तपुर पालिकाले केही मात्रामा आफ्नै सवारी साधनले फोहोर उठाउँदै आएका छन्। अन्य १५ स्थानीय तहको फोहोर भने निजी क्षेत्रले उठाउँदै आएको फोहोर मैला व्यवस्थापन संघ, नेपालले जनाएको छ।
काठमाडौं उपत्यकामा दैनिक एक हजार २०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ। त्यसमध्ये ७५ प्रतिशत फोहोर निजी क्षेत्रले नै उठाउँदै आएको फोहोर मैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यले बताए। लामो समयदेखि निजी क्षेत्रले फोहोर उठाउँदै आएको भए पनि सबै स्थानीय तहसँग भने सम्झौता गरिएको छैन।
निजी क्षेत्रले पहिलेदेखि नै उपत्यकाको फोहोर उठाउँदै आएको बताउँदै संघका अध्यक्ष आचार्यले भने, “केही मात्र वडा र नगरपालिकाको स्वीकृतिमा फोहोर उठाउने गरेका छौं। बाँकी सबै आफैं उठाउँछौं।”
फोहोर उठाउन सबै स्थानीय सरकारसँग सम्झौता भने नभएको उनले बताए। “हामीले यसरी फोहोर उठाउन थालेको धेरै वर्ष भयो, तर कहिलेसम्म उठाउने हो, थाहा छैन,” अध्यक्ष आचार्यले हिमालखबरसँग भने, “महानगर र नगरपालिकासँग पनि कहिलेसम्म उठाउने भनेर सम्झौता भएको छैन।”
स्थानीयको अवरोध, सडक मर्मत र अन्य विभिन्न कारणले तीन महीनायता काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन। केही दिनयता फोहोर उठ्न थालेको भए पनि अझै कतिपय ठाउँमा सडकै थुप्रिएको छ। उपत्यकाका सबै स्थानीय सरकारसँग आफ्नै सवारी साधन छैनन्, त्यसैले निजी क्षेत्रमा निर्भर हुनुपरेको छ।
उपत्यकामा सबैभन्दा बढी फोहोर काठमाडौं महानगरमा उत्पादन हुने गरेको छ। तर, काठमाडौं महानगरले अहिलेसम्म कुनै पनि संस्थासँग फोहोर उठाउन सम्झौता गरेको पाइएको छैन।
काठमाडौं महानगरको वातावरण विभागकी प्रमुख सरिता राईले फोहोर उठाउने विषयमा निजी क्षेत्रसँग सम्झौता नभएको बताइन्। “पहिले पहिले उनीहरूले स्वयंसेवाका रूपमा फोहोर उठाउने काम गरेका थिए। पछि स्थानीय बासिन्दाले हाम्रो क्षेत्रमा फोहोर उठाइदिनु भनेर बोलाउने गरेकाले निजी क्षेत्रले उठाएको रहेछ र अहिले पनि त्यसकै निरन्तरता छ,” वातावरण विभाग प्रमुख राईले भनिन्, “निजी क्षेत्रसँगै कुनै सम्झौता भएको छैन, पहिलेदेखि नै आफूखुशी उठाउँदै आएका छन्। हामीले उनीहरूलाई फोहोर उठाउन लिखित अनुमति पनि दिएका छैनौं।”
महानगरसँग आफ्नै स्रोतसाधन नभएकाले पनि निजी क्षेत्रको भर पर्नुपरेको उनको भनाइ छ। अहिले भने फोहोर सङ्कलन हुन थालेको उनले बताइन्। अब कुनै अवरोध नभएमा १० दिनसम्म उपत्यकाको सबै फोहोर उठाउन सकिने उनको भनाइ छ।
काठमाडौं उपत्यकामा फोहोर उठाउने संस्था: