लैङ्गिक विभेदको चक्र
इन्टरनेट र स्मार्टफोनको आगमन अघि गाउँघरमा तस्वीरप्रतिको मोह कस्तो थियो भन्नेबारेका प्रसङ्ग रोचक र घतलाग्दा छन्।
विविधतायुक्त नेपाली समाजको लोकजीवनलाई अन्वेषण गरी विभिन्न समयमा आख्यान लेखिँदै आएको छ। विगतमा शंकर कोइरालाको खैरिनीघाट (२०१८ साल), प्रकाश ए. राजको रोदीघरको सम्झना (२०३३), ध.च. गोतामेको घामका पाइलाहरू (२०३५), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०४०), खगेन्द्र संग्रौलाको जूनकीरीको सङ्गीत (२०५६), राजन मुकारुङको दमिनी भीर (२०६९) जस्ता आञ्चलिक स्वादका उपन्यासमा स्थानीय जीवनको विविधता केलाइएको पाइन्छ। यही लहरमा सुरेश प्राञ्जलीको नवीनतम उपन्यास पानीघट्ट थपिएको छ।
यो उपन्यास ब्राह्मण चेली जूनमाया र गुरुङ चेलो रनबहादुरबीचको अन्तरजातीय प्रणयकथा हो। एउटै गाउँमा हुर्किएका उनीहरूबीच बाल्यकालदेखि अङ्कुराएको प्रेम समयसँगै झाँगिँदै जान्छ। तर, कालान्तरमा यी दुईलाई बेग्लै मोडमा पुर्याउँछ। घरपरिवारको जोडबलले जूनमायाको अर्कै सजातीय युवकसँग घरबार हुन्छ। तर, जूनमायाले घर खाँदिनन्। समयले बालसखालाई नै जीवनसाथी बनाएर उभ्याए पनि उनीहरूको सहयात्राको आयु लामो हुँदैन।
उपन्यासको परिवेश स्याङ्जाको पेल्काचौर र आसपासको भूगोल हो। कथावस्तु ब्राह्मण समुदायसँग पनि जोडिएको छ, तर मूल हिस्सा स्थानीय गुरुङ समुदायको जीवनशैलीसँग गाँसिएको छ। लाहुरे संस्कृति, रोदी बस्ने परम्परा जस्ता सांस्कृतिक विम्बहरूमा गुरुङ संस्कृतिको जीवनचित्र सजीव बन्न पुगेको छ। उपन्यासमा प्रसङ्ग अनुसार गुरुङ भाषाका शब्दावली तथा वाक्यहरू प्रशस्त प्रयोग भएका छन्। यस हिसाबले यसलाई आञ्चलिकतायुक्त जनजातीय उपन्यास भन्न सकिन्छ।
लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’।
परिचय खण्डमा उल्लेख गरिए झैं यो कृतिको कथा २०३० र २०४० को दशकको गण्डकी भेगको ग्रामीण समाजको हो। भाषा सरल र सरस छ। पात्रहरूले प्रयोग गर्ने संवाद तथा शब्दावलीमा मीठो स्थानीय कथ्य भाषाको प्रचुरता छ। जस्तैः ‘बढ्ता नहाँस, जिमिन रूखिन्च’, ‘क्यार्नी र बरी देखेसी मया लाउनी’, ‘कुटुनीले मज्जाले हँसाइचे आज’ आदि।
कृतिमा ग्रामीण खाद्य परिकार, मेलापात, वनपात, गुन्द्री, राडी, लालटिन, डोको, थुन्से जस्ता ग्रामीण लोकजीवनबोधक पक्ष तथा वस्तुहरू आइराख्छन्, जसले ग्रामीण जीवन भोगेका पाठकका अगाडि गाउँको तस्वीर ल्याउँछ। ढाकाटोपी, भाङ्ग्रा जस्ता पुरुष पहिरन तथा शिरफूल, चोली, घलेक, पोते, कण्ठ, मुगामाला, पटुका, पैसे औंठी, क्रमु (मजेत्रो), सुनको जन्तर जस्ता महिलाका वेशभूषाको चित्रणले ग्रामीण परिवेशमा हुर्केका पाठकको मनलाई गाउँबस्तीतिर पुर्याउँछ।
कृतिमा लाहुरे परम्परालाई उच्च स्थान दिइएको छ। लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’। यसले समाजले लाहुरे परम्पराप्रति गरेको उच्च भरोसालाई झल्काउँछ।
पल्टनबाट आएका लाहुरेले गाउँका लालबालालाई मिठाई बाँडेको; गाउँले आमाबालाई काश्मिरी ओखर, मिश्री आदि उपहार बाँडेको; लाहुरेले पल्टनबाट पठाएको चिठीमा ‘अगर’, ‘बढिया’, ‘परिसानी, ‘दुपहर’, ‘बहुत प्यार’ जस्ता हिन्दी शब्दको प्रयोग आदि विविध पाटोले लाहुरे संस्कृतिको सजीव अनुभूति गराउँछ।
कृतिले ग्रामीण समाजको मीठो पक्ष मात्र होइन, लैङ्गिक विभेद जस्तो तीतो यथार्थ पनि उजागर गरेको छ। कृतिको मूल पात्र जूनमाया अभिभावकले छोराको चाहना गर्दागर्दै जन्मेकी हुन्। छोरीलाई बोझ मान्ने सामाजिक सोचको शिकार बनेकी उनले हजुरआमा लगायत परिवारजनबाट पटक पटक ‘कुजात’ सम्बोधन सुन्नुपर्छ। उनको पठनपाठन छुटाएर कलिलै उमेरमा सौता बनाएर पठाइएको प्रसङ्ग कम मार्मिक छैन। खासमा जूनमायाले विवाहअघि र पछि भोग्नुपरेको सास्तीको घनचक्कर नै पानीघट्टको कथा हो।
अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ।
सामाजिक यथार्थको चित्रण गर्ने क्रममा गुरुङ तथा ब्राह्मण समुदायबीचको झिनो अन्तरसामुदायिक द्वन्द्व पनि देखाइएको छ। यससँगै, ब्राह्मण समाजकी छोरीले भन्दा गुरुङ समुदायमा जन्मेकी छोरीले बढी स्वतन्त्रता उपभोग गर्न पाउँछिन् भन्ने पनि देखाइएको छ।
कृतिकारले नियम र अनुशासनको नाममा छोरीलाई नियन्त्रण र बन्धनमा राख्ने नेपाली समाजमा विद्यमान असमानता र विभेद भत्काइनुपर्ने आशय राखेका छन्। मन परेकी केटीलाई उसको इच्छा विपरीत तानेर विवाह गर्ने प्रथा पनि कृतिमा प्रस्तुत गरिएको छ। अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी यो चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि जन्मेका नयाँ पुस्ताका लागि यो उपन्यास राम्रो सांस्कृतिक विषयवस्तु बन्न सक्छ। कुनै समय गण्डकी भेगको ग्रामीण जीवनको अभिन्न अङ्ग बनेको रोदी संस्कृतिसँग अपरिचित नयाँ पुस्ताले तत्कालीन ग्रामीण समाजको लोकसंस्कृति र लोकजीवनका लागि रोदी एउटा गजबको केन्द्र रहेको तथ्य कृतिबाट थाहा पाउन सक्छ। साथै, इन्टरनेट र स्मार्टफोनको आगमन अघि गाउँघरमा तस्वीरप्रतिको मोह कस्तो थियो भन्नेबारेका प्रसङ्ग रोचक र घतलाग्दा छन्।
कृतिमा केही अस्वाभाविक पक्ष पनि छन्। जस्तै- जूनमायाले आमाको गर्भमा रहँदादेखिकै स्मृतिजन्य प्रसङ्गहरू एकपछि अर्को गरी पस्किन्छिन्। यस्तो प्रयोग कता कता अप्राकृतिक प्रतीत हुन्छ। अर्को कुरा, जनजीवनका लोकभाषा टपक्कै टिपेर प्रस्तुत गर्ने क्रममा कतै कतै अश्लील शब्द तथा शब्दावली प्रयोग भएका छन्। यसले यथार्थ पस्कने नाममा सार्वजनिक शिष्टताको स्थान के हुने भन्ने पुरानो बहस जगाउन सक्छ। यति हुँदाहुँदै सांस्कृतिक अन्तर्घुलन र ग्रामीण लोकजीवनको स्वाद बोकेको यो आख्यान रसिलो र चखिलो छ।
पुस्तक: पानीघट्ट, लेखक: सुरेश प्राञ्जली, प्रकाशक: फाइनप्रिन्ट बुक्स, पृष्ठ: २६३, मूल्य: रु.४९८/-