तातो पिंडालु : निल्नु न ओकल्नु
गएको चार-पाँच महीनादेखि खसीको मासु खानै छोडेका थियौं। अरू वेलामा पसलमा पाउ, आधा किलो, एक किलोको ढक हुन्थ्यो। अहिले त सुन जोख्न जस्तो तोला, मासा पो राखेका छन्।
चारै महीनाअघिको कुरा हो, युक्रेन युद्ध शुरू भएसँगै संसारै थला परे जस्तो भयो। कुनै न कुनै किसिमले सबै देश प्रभावित भए। त्यसको असर नेपालमा पनि पर्यो।
श्रीलंका त नराम्रोसँग थचारियो नै। लावण्य देश भनेर चिनिने श्रीलंकालाई कोरोनाभाइरसले मात्र हैन, धेरै कुराले गाँज्यो। देशको नामोनिशानै नरहला जस्तो भयो।
नेपाल पनि अछुतो रहेन। एउटा उखान छ, हावा नचली पात हल्लिंदैन। तर, यो यस्तो देश हो जहाँ पात हल्लिन हावा चल्नै पर्दैन।
बेलायतमा पानी पर्दा छाता ओढ्ने देश हो यो। अमेरिकामा आँधी आउँदा रूख ढल्ने देश हो यो। जापानमा भुइँचालो जाँदा शहरै सखाप हुने देश हो यो। बर्मामा बाढी आउँदा घर खेत बगाउने देश हो यो। फलानो देशमा यसो यसो भयो भन्नासाथ खासमा त्यस्तो हुनै पर्दैन। हल्लैहल्लामा उधुम मच्चिने देश हो यो।
कोरोनाले श्रीलंका जलाएपछि र रूसले युक्रेन ढलाउन थालेपछि नेपालीहरू महँगीको मारले मर्नु न बाँच्नुको दोसाँधमा पुगेका छन्। श्रीलंकामा तेल छैन, चामल छैन, चिनी छैन, स्कूल-कलेज बन्द छन्, किताब-कापी र औषधि छैन भनेपछि नेपालमा हावाकै भरमा सबै ठाउँमा महँगीले आकाश छोयो। ठेकेदारदेखि ठगदारसम्म, नेतादेखि कार्यकर्तासम्म, मन्त्रीदेखि पीएसम्म, व्यापारीदेखि कर्मचारीसम्मले जनताका ढाड सेकाए।
रैतीलाई शासन, प्रशासन, सरकार, जनप्रतिनिधि नभए सरह भयो। जताततै घूसखोर, कमिशनखोर, कालाव्यापारी, दुई नम्बरी, दलाली, बिचौलिया। दिनको एक छाक खान पाए हुन्थ्यो भन्ने आशामा बाँच्नुपर्ने भयो। गरीबलाई झन् सास्ती भयो। महँगीले ढाड सेकाएपछि झिटिगुन्टा बोकेर काशी यात्रा नगरे के गर्ने त!
अलिक अघिको कुरा हो, मीठो नभए नि बरेला, इस्कुस, फर्सी, बन्दा, लौका जस्ता सस्ता तरकारी किन्न बजारतिर लागें। यस्तै किन्दा बेस होला जस्तो लागेर ‘ऊ... त्यो फर्सी दिनुस् त साहुनी’ भनें।
मेरो लाङ्ग्रेलुङ्ग्रे लवाइखवाइ देखेर हो कि अचम्म मान्दै तालुदेखि पैतालासम्म हेरिन्। ‘किन के भयो र आन्टी, ट्वाल्ल परेको?’ मैले सोधें।
ती अधबैंसे साहुनीले सोधिन्- ‘ए, भाइ फर्सी कति रुपैयाँको हाल्दिऊँ? एक पाउ लाने कि आधा पाउ?’
दिनको एक छाक खान पाए हुन्थ्यो भन्ने आशामा बाँच्नुपर्ने भयो। महँगीले ढाड सेकाएपछि झिटिगुन्टा बोकेर काशी यात्रा नगरे के गर्ने त!
‘किलोको कति हो भन्नुस् न। आधा पाउले नि छाक पुग्छ र? के कुरा गर्नु भा'को?’
‘ल, किलोको त चार सय पर्छ, भाइ, पाउ लगे असी, छटाक लगे चालीस।’
झण्डै मूर्छा परिनँ। हिजोआज घरमा एक दिन बिराएर मात्र किन तरकारी पाक्दो रहेछ भनेर बल्ल बुझें।
‘फर्सी जाबोको एक्कासि कसरी भाउ बढ्यो, साहुनी?’
‘त्यही डिजेल बेच्नेलाई सोध् न?’
अर्को पसलमा पुगें। फर्सीभन्दा बन्दाकोपी सस्तो होला भनेर ‘ए साहुनी, बन्दा दिनुस् त’ भनें।
उनले पनि त्यसैगरी शिरदेखि पाउसम्म हेरेर स्याउ जत्रो बन्दाकोपी दिइन्। छक्क परें।
‘ए, साहुनी यो बन्दा कति जनालाई पुग्छ? अलि ठूलो दिनुस् न।’
‘ए भाइ? स्याउको गेडा जत्रोलाई त पचास पर्छ भने भोगटे जत्रो लाने हो भने सय पर्छ।’
‘सानो बरेला, इस्कुस, फर्सी, बन्दा, लौका लाने हो साहुनी!’
‘कति पैसा ल्या'छौ र भाइ?’
‘किन र साहुनी? तीन सय ल्या'छु।’
‘ए, ल भाइ, तिमी किन्दैनौ। तीन सयले त सर्ट पाइन्टको खल्ती नि भरिन्न।’
त्यसपछि घर फर्कें। श्रीमतीको हातमा पैसा थमाएर ‘ल, तिमी आफैं जाऊ, तरकारी किन’ भनें। यस्तो पुर्पुरो सेक्ने महँगीले कति दिन बाँचिएला प्रभु!
श्रीलंकामा चामल किलोको पाँच हजार पर्दा यहाँ पाँच सय महँगो भयो? श्रीलंका र नेपाल कति टाढा छ र, भाइ?
अस्तिको दिन नून, तेल, दाल-चामल, चिनी, चिउरा, बेसार, खुर्सानी, अदुवा, लसुन किन्न बजारतिर लागें। एउटा ख्याउटे साहुको पसलमा पसें। ‘ए साहुजी, चामल दिनुस् त’ भनें।
उनले पनि लुङ्तुङे देखेर हो कि आफू ख्याउटे भएको ध्यानमै राखेन र टुप्पोदेखि फेदसम्म हेरेर सोध्यो- ‘कति रुपैयाँको दिऊँ भाइ!’
‘के भनेको? पाँच किलो दिनुस् न।’
साहुले जिब्रो टोक्यो र भन्यो- ‘पाँच किलोको त पच्चीस सय पर्छ भाइ?’
‘हैन, किलोको पाँच सय पर्छ र साहुजी?’
‘ए! तिम्लाई यो कलियुगको सामानको भाउ थाहै रैनछ हगि! श्रीलंकामा किलोको पाँच हजार पर्दा यहाँ पाँच सय महँगो भयो? श्रीलंका र नेपाल कति टाढा छ र, भाइ?’
‘तेसो भए अदुवा-असुन राखिदिनुस् त?’
‘कति ग्राम राखम् भाइ?’
‘किन र साहुजी?’
‘ग्रामकै एक रुपैयाँ पर्छ त!’
सय ग्राम लान सय रुपैयाँ पर्ने भयो अदुवाको, त्यत्ति नै लसुनको पनि पर्छ। भुइँमा थचक्क बसें। जमीन हल्लीए जस्तो भयो। यो पाराले चिनी, चिउरा, दाल, तेल के किन्न सकिएला र! घर फर्किएँ।
हे दैव! के हुन लाग्यो यो नेपालमा? जनताले बाँचेर खान नपाउने भए?
एक दिन टिचिङबाट चक्रपथ पैदल नै हिंड्न लागेको थिएँ। ट्वाक्क माइक्रो आइपुग्यो। ‘ए भाइ? चक्रपथसम्म जान्छु, म बूढो मान्छे कति लिन्छौ?’ भनेर सोधें।
‘स्टपैपिच्छेको चालीस लाग्छ, चक्रपथसम्म नि चालीस।’ झण्डै फेन्ट भएको। ‘अलि घटाउन मिल्दैन?’ त्यो स्याल जस्तो खलाँसीले ‘एक रुपैयाँ नि घट्दैन, डिजेलको भाउ कति पुग्यो था'छ?’ भनेर माइक्रो हुँइकायो।
गएको चार-पाँच महीनादेखि खसीको मासु खानै छोडेका थियौं। अरू वेलामा पसलमा पाउ, आधा किलो, एक किलोको ढक हुन्थ्यो। अहिले त सुन जोख्न जस्तो तोला, मासा पो राखेका छन्।
अर्को न दिन तलतल मेटाउन चिया पसल पसें। मैले भने, ‘ए साहुनी! चिया दिनुस् त।’
साहुनी हँसीमकजामा उत्रिइन्। र, बोलिन्- ‘कति रुपैयाँको दिऊँ?’
‘किन र साहुनी?’ भनें।
‘चम्चाको हिसाबले आउँछ। चम्चाको एक रुपैयाँ पर्छ। तपाईंले खाने कपमा पचास चम्चा जान्छ, पचास रुपैयाँ हुने भो।’
म अक्क न बक्क भएँ। फेरि साहुनी नै बोलिन्- ‘डिजेलको भाउ बढ्या था'छैन?’
गएको चार-पाँच महीनादेखि खसीको मासु खानै छोडेका थियौं। अरू वेलामा पसलमा पाउ, आधा किलो, एक किलोको ढक हुन्थ्यो। अहिले त सुन जोख्न जस्तो तोला, मासा पो राखेका छन्।
एक दिन पसलमा गएर खसीको मासु दिनुस् न साहुजी भनें।
उनको पनि उस्तै प्रश्न आयो- ‘कति तोला दिऊँ? मासामा लाने हो भने अलि सस्तो पर्छ, तोला महँगो पर्छ।’
‘ए, साहु! तेसो भए एक किलोको कति पर्छ त?’
मुढामा बसिराखेको कसाई त शाही पोज देखाउँदै र बुट बजार्दै ‘महीनावारी तलब बुझ्यौ? डिजेलको भाउ बढेसी किलोको बाह्र सय पर्छ’ पो भन्छ बा! भइहाल्यो, खसी खानुभन्दा फर्सीले चित्त बुझाउँला भन्दै आधा किलो फर्सी किनेर घर आएँ। हैन, यो सबै ठाउँमा डिजेलको भाउ बढेको कस्तो निहुँ हो के?
एक दिन पाइन्टको कपडा किन्न पसल गएँ। ‘ए, साहुजी! पाइन्टको कपडा दिनुस्’ भनें। साहुजीले ‘कति रुपैयाँको नि!’ भन्यो।
‘ए राम हो? पाइन्टको कपडालाई पनि कति रुपैयाँको भन्ने हुन्छ र साहुजी?’
साहुजीले पनि मेरो उचाइ हेर्दै जिस्क्यायो। साहुजीले भन्यो- ‘ल, यसो हेर्दा त पाइन्ट किन्न पुग्ने पैसा छ जस्तो लागेन। तपाईंको हाइट चार फिट त होला। पाइन्ट होइन, हाफ पाइन्ट पुग्ने कपडा लानुस्।’
यो टेडो साहुजीसँग ट्याउँट्याउँ गर्नुभन्दा नकिन्नु बेस भनेर घरतिर फर्कें। एक्कासि बुढापाकाको सम्झना भयो- ‘तातो पिंडालु निल्नु न ओकल्नु' भनेको यही रहेछ!