भवन निर्माणको ठेक्का लगाउने स्वीकृति नपाउँदा एक करोड फ्रिज
महोत्तरीको जलेश्वर नगरपालिकामा बीउबिजन प्रयोगशाला भवन निर्माणका लागि आएको एक करोड रुपैयाँ फ्रिज भएको छ।
निर्माणका लागि सबै प्रक्रिया पूरा गरे पनि मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ठेक्का लगाउने स्वीकृति नदिंदा रकम फ्रिज भएको बीउबिजन प्रयोगशालाका निमित्त कार्यालय प्रमुख श्रीप्रसाद यादवले बताए।
प्रयोगशालाका लागि नगरपालिकाले पाँच कट्ठा जग्गा जग्गा उपलब्ध गराउने गरी सम्पूर्ण कागजात तयारी गरी कृषि विकास निर्देशनालय मार्फत मन्त्रालयमा पठाउँदा समेत भवन निर्माणको ठेक्का लगाउने स्वीकृति प्राप्त नभएको यादवले बताए। उनी भन्छन्, “व्यवस्थित प्रयोगशाला भएको भए प्रदेशभरका सेवाग्राहीलाई सेवा दिन सकिन्थ्यो।”
प्रदेशको एक मात्र बीउबिजन प्रयोगशाला अहिले तत्कालीन कृषि विकास केन्द्रको पुरानो भवनमा छ। पुरानो भवन र सीमित कोठा भएकाले बीउबिजन परीक्षण गर्न कठिनाइ हुने गरेको यादवले बताए। प्रयोगशालामा धान, गहुँ, चना, मकै, तोरी, भटमास, कोदो, रहर, जौ, मुंग, जुट, मुसुरो, आलुको परीक्षण गरी बिक्री-वितरणयोग्य रहेको सिफारिश गरिन्छ। सिफारिश भएको बीउ जिल्ला जिल्लामा रहेका कृषक समूह, कृषि सहकारी, कृषि फार्म तथा कम्पनीहरूलाई बिक्री-वितरण गर्ने अधिकार हुने गर्छ। किसानले जोगाएर राखेको बीउ परीक्षण गराउन चाहे निःशुल्क सेवा दिइने यादवले बताए।