राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधि सभाबाट पारित
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसलाई प्रतिनिधि सभाले बहुमतबाट पारित गरेको हो।
नागरिकता विधेयकको पक्षमा १३५ मत परेका थिए भने विपक्षमा ६० मत परेका थिए। आजको बैठकमा १९५ सांसद उपस्थित थिए।
नेकपा (एमाले)का सांसदले मत विभाजनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गरेका थिए। यसअघि भने ध्वनि मतका आधारमा विधेयक पारित गरिएको थियो।
अघिल्लो पटक प्रतिनिधि सभा र राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो।
राष्ट्रपति भण्डारीले १४ दिन लगाएर अध्ययन गरेपछि पुनर्विचार गर्न भन्दै फिर्ता पठाएकी थिइन्। त्यसमाथि आजै प्रतिनिधि सभाको बैठकमा छलफल भएको थियो।
आजको छलफलमा ४२ जना सांसदले बोलेका थिए। राष्ट्रपतिले विधेयक फिर्ता पठाएकोमा प्रतिपक्षका सांसदले स्वागत गरेका थिए भने सत्तापक्षका सांसदले आलोचना गरेका थिए।