मुख्य प्रशिक्षक अल्मुताइरीको विषयमा छिट्टै निर्णय हुन्छ: एन्फा
अखिल नेपाल फूटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोली र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयमा छिटै निर्णय गर्ने जनाएको छ।
बिहीबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अल्मुताइरीको विषयमा देखिएका समस्या समाधानका लागि प्रयास भइरहेको बताए। यो समस्या समाधानका लागि एन्फाले महासचिव किरण राईलाई जिम्मेवारी सुम्पिएको उनले बताए।
“अल्मुताइरीको विषयमा देखिएका समस्या समाधानका लागि प्रक्रिया थालेका छौं,” प्रवक्ता शाहले भने, “छानबिन समितिको प्रतिवेदनका आधारमा कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउनेछ।”
साउन अन्तिम साता छानबिन समितिले प्रतिवेदन बुझाएको थियो। त्यसका आधारमा एन्फाले जवाफ माग्दै प्रशिक्षक अल्मुताइरीलाई पत्र पठाएको थियो। अल्मुताइरीले भर्खरै त्यसको जवाफ पठाएको प्रवक्ता शाहले बताए।
त्यस्तै, बाङ्लादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टीमको प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप हुमागाईंले आफ्नो लागि यो एक अवसर भएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हुमागाईंले एन्फाले आफूप्रति गरेको विश्वासमा खुशी लागेको बताए।
बाङ्लादेश विरुद्ध खेल मैत्रीपूर्ण भए पनि जित्नकै लागि खेल्ने उनको भनाइ थियो। आफूले अकस्मात् राष्ट्रिय टोलीको जिम्मेवारी पाए तापनि दबाब महसूस नगरेको उनले बताए। यसका लागि आफू पहिले नै तयार रहेको उनको भनाइ छ।
नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा बाङ्लादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।