सुरेश बडालको ‘मायाका मसिना अक्षर’ लोकार्पण
लेखक सुरेश बडालको नयाँ उपन्यास मायाका मसिना अक्षर लोकार्पण गरिएको छ।
बिहीबार प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबूक, इन्स्टाग्राम र ट्वीटरमा एकसाथ भिडिओ सार्वजनिक गरेर पुस्तकको लोकार्पण गरिएको छ। सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भइरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश गरिएको फाइनप्रिन्टले जनाएको छ।
प्रेमका कथा लेखनमा आफ्नो रुचि भएको उल्लेख गर्दै यही सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए। “प्रेमका कथा धेरै पढेको थिएँ, तर कहीं न कहीं केही केही खट्किरहन्थ्यो,” लेखक बडालले भने, “के हिजोआज पनि आदर्श प्रेम जीवित छ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भई जाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ।”
बडालको नयाँ पुस्तकबारे बोल्दै अर्का लेखक सुविन भट्टराईले भने, “यस कृतिको विशेषता इमोशन हो, यसले ठाउँ ठाउँमा पाठकलाई भावुक बनाउँछ।” यो उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति भएको भट्टराईको भनाइ छ।
लेखक बडालको यो दोस्रो कृति हो। यसअघि कथासङ्ग्रह रहर प्रकाशित भएको थियो।