दुई बोटबाट शुरू भएको कागती खेतीले ५० लाखको कारोबार
राजनीति छोडेर दुई बोटबाट कागती खेती शुरू गरेका मोरङको डग्रहाका ढालुराम माझी यो वर्ष ५० लाखको कारोबार गर्ने सुरमा छन्।
बाटो नमोडेको भए यति वेला मोरङको बुढीगंगा गाउँपालिका-६ डग्रहाका ढालुराम माझी प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको टिकटका लागि विराटनगर-काठमाडौं धाइरहेका हुन्थे। आम चुनावको सरगर्मी बढिरहेका वेला उनी भने कागती फार्ममा आउँदो मंसीरसम्म हुने व्यापारको आकलन गरिरहेका छन्। उनी भन्छन्, “अहिलेसम्म २० लाखभन्दा बढीको कागती बिक्री गरिसकेको छु, कात्तिक-मंसीरसम्म थप ३० लाखको कारोबार होला।”
माझी खासमा राजीतिकर्मी हुन्, कांग्रेसका सक्रिय नेता। २०५८ सालमा नेपाली कांग्रेस विभाजन भएर कांग्रेस (प्रजातन्त्रिक) गठन भएपछि उनले पनि राजनीति छोडे। ६३ वर्षीय माझी भन्छन्, “राजनीति छोडेपछि कृषिमा लागें, अब यतै रमाउन थालिसकें।”
कृषि त गर्ने, तर के लगाउने? यस्तै अन्योलबीच उनले दुई वटा कागतीको बोट रोपेका थिए। त्यसले राम्रो आम्दानी गर्यो। अनि उनी व्यावसायिक रूपमा कागती खेती गर्न थाले। “अहिले त पाँच बिघामा कागती खेती गरेको छु,” माझी भन्छन्, “गएको वर्ष कागतीको फल, बिरुवा र अचार बेचेर ४० लाखको कारोबार भयो।”
गत वर्ष कोभिड-१९ महामारीका कारण व्यापारमा केही समस्या हुँदा कारोबारमा कमी आएको उनको भनाइ छ। यस वर्ष भने ५० लाखको कारोबार हुने उनको विश्वास छ। बजारको समस्या नभएकाले पनि कागतीको खेतीमा घाटा नरहेको उनी बताउँछन्।
राजनीतिबाट खेतीतर्फ
एक ताका माझी कांग्रेसका सक्रिय कार्यकर्ता थिए। २०४९ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका उनी २०५४ सालमा कांग्रेसको क्षेत्रीय सभापति चुनिए। त्यसपछि त उनी राजनीतिमा थप सक्रिय बने। त्यसपछि भने उनको बाटो मोडियो, कृषितिर। “राजनीति गर्न पैसा चाहिन्थ्यो, मसँग पैसा थिएन,” उनी भन्छन्, “पर्याप्त पुर्ख्यौली जायजेथो पनि थिएन।”
हुन त उनीलाई पुर्ख्यौली सम्पत्तिका रूपमा डेढ बिघा जग्गा आएको थियो। तर, त्यो जग्गा पनि स्थानीय स्तरमा राजनीति गर्दागर्दै सकिएको उनी सुझाउँछन्। “दुई वटा चुनाव लड्दा सकियो,” उनी भन्छन्।
सुकुम्बासी जस्तै बनेपछि उनी दैनिकी जोहोका लागि राजनीति सँगसँगै तरकारी व्यापार गर्न थाले। त्यही क्रममा कागतीको बजार बुझ्ने मौका पाए। त्यसले उनको सोच बदलियो र कागती खेतीतिर लागे। “राजनीति मेरा लागि हैन रहेछ भन्ने लाग्यो। राजनीति गर्न पैसा चाहिन्थ्यो, जुन मसँग थिएन,” माझी भन्छन्, “अलि अलि भएको जग्गाजमीन पनि राजनीति गर्दैमा सिद्धियो।”
उनले २०६४ सालमा दुई वटा बिरुवाबाट कागती खेती शुरू गरे। होला कि नहोला भनेर थालेको कागती खेतीले आज भने उनको दैनिकी नै कायापलट भएको छ। उनी कागतीबाट चिनिन थालेका छन्। व्यावसायिक कागती खेतीबाट आर्जेको सफलता आज उनलाई पनि सपना जस्तै लाग्छ। “यतिसम्म होला भनेर सोचेकै थिइनँ, मिहिनेत गरे हुँदो रहेछ,” माझी भन्छन्।
कागतीबाटै नाम र दाम
कागती खेती शुरू गरेसँगै कलमी बिरुवा उत्पादनतिर पनि लागे। त्यसको चार वर्षपछि २०६८ सालमा एक हजार दुई सय कलमी बिरुवाबाट व्यावसायिक कागती खेती थाले। त्यसयता हरेक वर्ष कागती खेती बढाउँदै लगेका छन्। “हरेक वर्ष नाफा हुँदै आएको छ,” उनी भन्छन्।
मनग्गे आम्दानी हुँदै गएपछि २०७० सालमा ४० लाखमा साढे दुई बिघा जमीन जोडे। त्यसको ६ वर्षपछि एक करोड पाँच लाखमा थप पाँच बिघा जग्गा किनेर खेती विस्तार गरेको उनी बताउँछन्।
अहिले पाँच बिघामा कागती र साढे दुई बिघामा अचारका लागि आवश्यक पर्ने आँपको बगैंचा छ। पाँच बिघा जमीनमा फैलिएको कागती खेतीबाट उनी खर्च कटाएर औसतमा वार्षिक ३० लाख रुपैयाँ त नाफा मात्रै कमाउँछन्। उनको कागती खेतीमा स्थानीय १३ जनाले रोजगारी पनि पाएका छन्।
माझीका अनुसार, वार्षिक ३० लाख रुपैयाँ बराबर कागतीका दाना बिक्री हुन्छन्। त्यस्तै, १० लाख रुपैयाँ बराबरको अचार बिक्री हुन्छ भने १५ लाख बराबरको कलमी बिरुवा बेच्छन्। “कागतीसँगै केरा, मेवा, आँप, भिन्डी, बेसार, सिमी लगायत तरकारी तथा फलफूल खेती शुरू गरेको छु,” उनी भन्छन्।
पछिल्लो समय कागतीमा ‘ढालुराम ब्रान्ड’ले देशैभरि नै ख्याति कमाउँदै गएको छ। जसले गर्दा टाढा टाढाबाट किसान तथा व्यापारी कागती तथा बिरुवा किन्न बगानमै आउँछन्। देशका विभिन्न ३८ जिल्लाका किसान तथा व्यापारीले बिरुवा लैजाने गरेको उनी बताउँछन्।
उनले उत्पादन गरेको कागतीको अचारको पनि बजार फैलिंदै गएको छ। कागतीको आचार स्थानीय बजारसँगै काठमाडौं, पोखरा तथा भारत पुग्ने गरेको कृषक माझी बताउँछन्। उनी भन्छन्, “कागती खेतीबाट दाना, कलमी बिरुवा र अचारबाट आम्दानी लिन सकिन्छ।”
सामान्यतः कागतीको एउटा रूखले फागुनदेखि असोजसम्म वर्षमा दुई पटक फल दिन्छ। बिरुवा रोपेको दुई वर्षदेखि कम्तीमा २० वर्षसम्म फल लिन सकिने कागती किसान बताउँछन्। कागती धेरै फल्ने असार-साउनमा हो।
शुरूआतमा निजी लगानीमा खेती थालेका माझीलाई अहिले जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गर्छ। कागती खेतीका लागि विषादी, फल टिप्ने मशिन, क्रेटदेखि अन्य प्राविधिक सल्लाह पाइरहेको उनी बताउँछन्।
कागतीबाटै उनले दामसँगै नाम पनि कमाएका छन्। जसले गर्दा विभिन्न विभिन्न संघसंस्थाबाट पुरस्कार तथा सम्मान पनि पाइरहेका छन्। २०७३ सालको उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कार समेत पाएका थिए।
राजनीति छोडेर कागती खेती शुरू गर्दा उनले जग्गा लिजमा लिएर काम थालेका थिए। पछि लिजमा लिएकै जग्गा खरीद गरेको उनी सुनाउँछन्।
एक ताका सबथोक छाडेर राजनीतिमा लागेका माझी यति वेला कृषिकर्मले दिएको सफलताको चुलीमा छन्। अहिले उनका लागि राजनीतिक घटनाक्रम पनि चासोका विषय हुँदैनन्। “अहिले त राजनीति साह्रै फोहोरी भएको छ,” कुनै वेलाका चर्चित नेता माझी भन्छन्, “राजनीतिले निराशा मात्रै दियो, कृषिले खुशी फर्कायो। अब बाँकी जीवन कृषिमा बिताउँछु।”