मधेशका अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा ९२ करोड छुट्याइयो
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहको निर्वाचन क्षेत्रमा ९२ करोड ६२ लाख रुपैयाँको योजना छुट्याइएको छ। साह सप्तरी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद हुन्।
विभिन्न मन्त्रालयहरू मार्फत विभिन्न योजनाका लागि उक्त रकम विनियोजन गरिएको हो। सामाजिक विकास मन्त्रालयबाट ८७ लाख, महिला बालबालिका युवा खेलकूद मन्त्रालयबाट २० लाख र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ९१ करोड १० लाख रुपैयाँ बराबरको योजना राखिएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत महादेवा गाउँपालिका–५ भगवतीपुरमा सामुदायिक भवन निर्माणका लागि २५ लाख, महादेवा–५ स्थित आधारभूत जनता माविको भवन मर्मतसम्भारका लागि २५ लाख, महादेवा–६ स्थित सामुदायिक भवन निर्माणका लागि ३० लाख र महादेवा–६ मा धर्मशाला निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टीमा सामुदायिक भवनको स्तरोन्नतिका लागि २५ लाख, छिन्नमस्ता–२ मोहनपुरस्थित सामुदायिक भवनका लागि ३५ लाख, तिलाठी कोइरालाडी गाउँपालिका–८ तोपास्थित सामुदायिक भवनका लागि २५ लाख, तिलाठी कोइरालाडी–४ मा विवाह भवन निर्माणका लागि ४० लाख र महादेवा–४ मा रहेको मन्दिरका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, भौतिक पूर्वाधार मन्त्रालयबाट करीब ९१ करोड रुपैयाँ छुट्याइएको छ। छिन्नमस्ता–४ को लालपट्टी भलुवाही सिंचाइ आयोजनामा चार लाख, छिन्नमस्ता–६ पोखरीमा घाट निर्माणका लागि ३० लाख, तिलाडी कोइलाडी–१ पाठशालामा रहेको सरस्वती मन्दिर सौन्दर्यीकरणमा ४० लाख, तिलाठी कोइलाडी–३ सकरपुरामा सलहेश मन्दिर नजिक नवका पोखरीघाट निर्माणका लागि ३० लाख, तिलाठी कोइलाडी–१ तिलाठी टोलको राप्रावि स्कूल छेउ पोखरीको उत्तरपट्टि डिलमा श्रद्धास्थली भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय अन्तर्गन तिलाठी कोइलाडी खेल मैदानका लागि २० लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि सडकका लागि १५ लाख र खानेपानी तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गत ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
उक्त क्षेत्रमा अन्य साना योजनाहरूमा पनि बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले रकम उल्लेख गरी योजना पठाएकाले बजेट आफूहरूले बाध्य भएर राखेको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले बजेटलाई मन्त्रीहरूले आफ्नो क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए। प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले बजेट निर्माण गर्दा नै हचुवाको भरमा गर्ने गरेकाले कतिपय योजना अधुरो रहने गरेको बताइन्। अर्थमन्त्री साहले भने जनताको आवश्यकताका आधारमा योजना बनाएर बजेट विनियोजन गर्ने गरिएको दाबी गरे।