नेपालमै बनेको विद्युतीय मतदान मशिन सार्वजनिक
‘राम-लक्ष्मण इनोभेसन्स’ले नेपालमै बनाएको विद्युतीय मतदान यन्त्र (ई-भोटिङ मशिन) बुधबार सार्वजनिक गरिएको छ।
राम-लक्ष्मण रिमाल दाजुभाइले पाँचौं संस्करणको विद्युतीय मतदान यन्त्र सार्वजनिक गरेका हुन्। करीब एक दशकअघि बनाएको विद्युतीय मतदान मशिनले एक सयभन्दा बढी राजनीतिक दल तथा विभिन्न संघसंस्थाका निर्वाचनमा सफलतापूर्वक काम गरिसकेको अनुसन्धाता रामप्रसाद रिमालले बताए।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोगका लािग निर्वाचन आयोगलाई पनि प्रस्ताव गरेको उनले बताए। “अहिलेसम्म निर्वाचन आयोगले कुनै प्रतिक्रिया दिएको छैन। प्रस्ताव लग्दा आयोगले पार्टीहरूसँग सल्लाह गर्ने भनेको छ,” रामप्रसादले भने।
मतपत्रमा देखिने सबै कुरा मशिनको डिजिटल डिस्प्लेमा देखिने व्यवस्था गरिएको छ। नेपाली भाषामा बोल्ने, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिले पनि आवाज सुनेर मतदान गर्न सक्ने प्रविधि जडान गरिएको उनले बताए।
उनले भने, “यो मशिन कैयौं वर्ष प्रयोग गर्न सकिन्छ, मतदान गर्दा मत बदर हुन हुँदैन,” उनले भने, “मतदाताले भेरिफाई गरेको प्रिन्ट पेपर समेत रहने हुँदा भोलि मुद्दा परेमा पनि आवश्यक प्रमाण रहन्छ।”
नेपालमा भइरहेको चुनावमा एक व्यक्तिले चार वटासम्म मतपत्रमा चिह्न लगाउनुपर्ने हुँदा समयको पनि बचत हुनेछ। यसमा जडान गरिएको प्रविधिले मत दिएपछि ‘ब्लक चेन’ जस्तै ‘चेन इफेक्ट’मा तथ्याङ्क रहने भएकाले मशिन बनाउने मान्छेले पनि मतको जानकारी लिन नसक्ने लक्ष्मणको भनाइ छ। अझ डिजिटल सिग्नेचरको प्रयोग गरिएकाले सबै तथ्याङ्क सुरक्षित हुने उनको दाबी छ।
आयोगले कुनै स्थानमा तोकेरै जिम्मेवारी दिए नमूना प्रदर्शन पनि गर्न सक्ने उनले बताए। १२ वर्ष लगाएर मतदान मशिन बनाएको बताउँदै उनीहरूले आगामी निर्वाचनमा प्रयोग गर्न दिन सरकारसँग आग्रह गरेका छन्।