सिंहदरबारबाट ग्यास विस्थापन अभियान शुरू
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको शुरूआत सिंहदरबारबाट भएको छ।
चालू आर्थिक वर्षको बजेटको बुँदा नं. २५३ मा समावेश गरिएको व्यवस्था अनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो। सोही क्रममा आजदेखि नै अर्थ मन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले त्यसको शुरूआत गरेका छन्। गत साउनभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन।
खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक रूपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको छ।
अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिंदै छिटै सबै मन्त्रालय र विभागका क्यान्टिनबाट एलपी ग्यास विस्थापन गर्न आग्रह गरे। उनले मातहतका सबै निकायलाई तत्काल यस प्रक्रियामा सहभागी हुन निर्देशन दिएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले बताए।
सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ। त्यसका लागि बिजुलीको महसूलमा समेत केही छूट दिएको छ। सकारात्मक हस्तक्षेपका लागि सार्वजनिक निकाय तथा महानगरपालिकामा अभियानका रूपमा विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने नीति लिइएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि लगायतका कारण आर्थिक वर्ष २०७८/७९ मा झन्डै तीन खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट जोगिन पनि विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्प रहेको सरकारको बुझाइ छ।
केही प्राविधिक जटिलताका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा सहज रूपमा बिजुली प्रवाहमा कहिलेकाहीं समस्या देखिने गरेको छ। समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र अवरोध विना विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने जनाइएको छ। (रासस)