प्रधानमन्त्रीको आश्वासनपछि मधेशका मुख्यमन्त्री र मन्त्रीको धर्ना स्थगित
प्रहरी समायोजनको माग गर्दै धर्नामा बसेका मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले आन्दोलन स्थगित गरेका छन्।
मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरी धर्ना स्थगित गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना स्थगित गरिएको राउतको भनाइ छ।
“गृहमन्त्रीसँग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो,” मुख्यमन्त्री राउतले भने‚ “उहाँले गठबन्धनकै सरकारमा हामी छौं, त्यहाँ पनि हाम्रो गठबन्धनकै सरकार छ, प्रहरी समायोजनको मागमा हामी पनि सकारात्मक नै छौं, धर्ना स्थगित गर्नुस् भनेकाले हामीले स्थगित गरेका छौं।”
प्रधानमन्त्री देउवाले प्रहरी समायोजन हुने आश्वासन दिएको मुख्यमन्त्री राउत उल्लेख गरे। “भोलि बन्ने सरकारले प्रहरी समायोजनको विषयलाई प्रायोरिटीमा राखेर प्रहरी समायोजन हुन्छ नै,” देउवाको भनाइ उद्धृत गर्दै राउतले भने‚ “तपाईंहरूको माग पूरा अवश्य पनि हुन्छ।”
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि पहलकदमी गर्दै आएकाले संघीय सरकारसँगको कुराकानी सकारात्मक भएको मुख्यमन्त्री राउतले बताए। मुख्यमन्त्री राउत सहित मन्त्रीहरू गत आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअघि धर्ना बस्दै आएका थिए।