महिला हिंसालाई बढावा दिने हाम्रो परम्परा
हाम्रो समाजमा मारे पाप, पाले पुण्य भन्दै छोरीलाई पराई घर पठाउने चलन छ। यसले पनि हिंसालाई बढावा दिएको छ।
आफूलाई बलात्कार गर्ने व्यक्तिलाई कारबाही गर्न गरिएको माग पूरा नभएको भन्दै केही दिनअघि राष्ट्रपति कार्यालयअघि एक महिलाले आत्मदाहको प्रयास गरिन्। आरोपितको डीएनए परीक्षण तथा बच्चा र आफूले न्याय पाउनुपर्ने उनको माग छ।
यसमा घटनामा व्यक्तिगत पक्ष जे भए पनि उनीहरूबीचको सम्बन्ध बलजफ्तीपूर्ण थियो र पुरुषले जन्मिएको बच्चा मेरो होइन भन्छन् भने किशोरी बलात्कृत भएकै हो। कसैको इच्छा विपरीत बलात् (जबर्जस्ती, बलजफ्ती), भावनामा ठेस पुग्ने गरी, मानसिक, शारीरिक क्षति पुग्ने गरी र कालान्तरसम्म पीडित या प्रभावित व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने गरी राखिएको या आशय राखेर गरिएको यौन व्यवहार बलात्कार हो।
यतिसम्म कि श्रीमतीसँग बलजफ्ती यौन सम्बन्ध राखे बलात्कार ठहरिन्छ। किनकि, यो प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्दैन। त्यसैले यसबारे छलफल, आन्दोलन र पुरुषको व्यवहारमा सुधार हाम्रो समाजको मुख्य चुनौती हो।
भारतीय सञ्चार माध्यम दैनिक भास्करमा बलात्कारबारे एउटा समाचार प्रकाशन भएको थियो। त्यहाँ उल्लेख भए अनुसार, बैंग्लुरुका एक पुरुषलाई श्रीमती बलात्कार गरेको आरोप लाग्यो। यस मुद्दा स्थानीय हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। र‚ पत्नीको शरीर र मनमाथि पतिको अधिकार नहुने भन्दै अदालतले पुरुषलाई दोषी ठहर गर्यो।
मानसिक वा शारीरिक समस्याका कारण कहिलेकाहीं लोग्नेसँग शारीरिक सम्बन्ध नराखे ती महिला परपुरुषको प्रेममा छिन् भन्ने शङ्का गरिन्छ। महिलाहरूबीच नै यस्ता कुरा हुने गर्दछ।
सन् १७३६ मा ब्रिटेनमा एउटी महिलाले आफूलाई श्रीमान्ले बलात्कार गरेको भन्दै न्याय मागिन्। न्यायाधीश लर्ड मेथ्यू हेलले विवाहपछि महिलाले आफ्नो शरीर पनि सुम्पिएको हुनाले पतिलाई बलात्कारको दोष नलाग्ने ठहर गरेको थियो।
त्यसैले विवाह भन्ने संस्था जति पुरानो हो, वैवाहिक बलात्कार त्यति नै पुरानो हो भन्ने अनुमान लगाउन सकिन्छ। हाम्रो समाजमा त मारे पाप, पाले पुण्य भन्दै विवाह गरिदिएर छोरीलाई पठाउने प्रचलन छ। मानसिक वा शारीरिक समस्याका कारण कहिलेकाहीं लोग्नेसँग शारीरिक सम्बन्ध नराखे ती महिला परपुरुषको प्रेममा छिन् भन्ने शङ्का गरिन्छ। महिलाहरूबीच नै यस्ता कुरा हुने गर्दछ।
अर्को कुरा‚ महिलाहरू आफ्ना पतिसँग यौनका विषयमा खुलेर कुराकानी गर्दैनन्‚ समस्या राख्दैनन्। राखिहाले त्यसलाई पुरुषले गम्भीर रूपमा लिंदैनन् र आफ्नो इच्छा अनुसार यौन सम्बन्ध राख्छन्। महिलाले पनि केही पीडा सहनुपर्छ भनी यस्ता घटनालाई सामान्य रूपमा लिने गरेका छन्। यस्ता परम्परा/चलनले महिलाले अलि अलि बलजफ्ती या मानसिक प्रताडना सहनुपर्छ भनी हिंसालाई सामान्यीकरण गर्न सघाउ पुर्याएको देखिन्छ। महिलाले आफ्ना समस्या र आफूलाई भइरहेको हिंसा दबाउँदा पुरुषलाई थप हिंस्रक बन्न मद्दत पुग्ने गरेको छ।
महिलाले आफ्ना समस्या र आफूलाई भइरहेको हिंसा दबाउँदा पुरुषलाई थप हिंस्रक बन्न मद्दत पुग्ने गरेको छ।
त्यसैले यस्ता मानसिकता र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। जबर्जस्ती गर्ने, विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध कायम गरी भाग्नेलाई कानूनी दायरा ल्याउनुपर्छ। अपराध गर्ने व्यक्ति जोसुकै भए पनि उसलाई कारबाही हुनुपर्छ।
अर्को कुरा‚ पीडा लुकाउने नभई बाहिर ल्याउनुपर्छ। किनकि, यस्ता घटना लुकाउँदा पीडितहरू सधैं पिल्सिरहनुपर्ने र पीडकलाई कुनै अवरोध नहुने हुन्छ। तर, निहित स्वार्थ बोकेका संघसंस्था वा व्यक्तिबाट भने उनीहरूलाई बचाउनुपर्छ। किनकि, तिनीहरूले न्याय दिलाउनुभन्दा आफ्नो अनुकूल उचाल्ने/पछार्ने गर्छन्। तर, अपराधीलाई सजाय दिन किन डराइरहन्छ राज्य? यो गम्भीर विषय छ।