चुनौती चीन
आज चीन र भारतबीच सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध छ। पछिल्लो समय विश्व ‘महाखेल’ मा भइरहेको उथलपुथलले यी दुईबीचको सम्बन्ध निर्धारण गर्ने देखिन्छ।
दुई ठूला मुलुक चीन र भारतले बेग्लाबेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेका छन्। यी दुई देशबीच आदिकालदेखि सम्बन्ध भए पनि दुवै भूगोलका जनताले एक-अर्कालाई राम्ररी बुझ्न सकेका वा मौका पाएका छैनन्। भारतको उत्तरतर्फको हिमालयले यसलाई चीनभन्दा अलग राख्यो। चीनले प्राचीन कालदेखि नै संसारको केन्द्र मध्य अधिराज्यको धारणामा विश्वास गर्यो। भारत आफूलाई बहुलतायुक्त ठान्छ भने चीन आफूलाई विशेष ठान्छ।
आज चीनको उदयले विश्वभरि तरङ्ग फैलाएको छ। राष्ट्रहरूबीचको सम्बन्धमा फेरबदलले नयाँ गठबन्धन बनाउँदै सामरिक परिवर्तन ल्याइरहेको छ। चीनको उदयले दक्षिणएशियामा सबैभन्दा चिन्तित भारत छ। राष्ट्रपति सी चिनफिङको कूटनीतिको आक्रामक शैली ‘उल्फ वारियर डिप्लोमेसी’ को सक्रियताले भारत संसारमा आफ्नो भूमिका र स्थानको खोजीमा देखिन्छ।
भारत र बाँकी विश्वप्रति चीनको हेराइ र बुझाइ के छ भन्ने सन्दर्भमा हालै भारतीय पूर्व विदेश सचिव श्याम शरणको पुस्तक आएको छ, हाउ चाइना सीज इन्डिया एन्ड द वर्ल्ड। चीनमा राजदूत रहिसकेका उनले पुस्तकमा चीन र भारतको इतिहास, सम्बन्ध र वर्तमान अवस्थाबारे चर्चा गरेका छन्।
पुस्तकमा भारतमा बौद्ध धर्म स्थापनापछि चिनियाँहरूले तक्षशिला र नालन्दा महाविद्यालयमा आई ज्ञान हासिल गरेर चीनमा बौद्ध धर्म लगेको विवरण छ। बौद्ध धर्म चीन पुगेर ताओवाद र कन्फुसियाली धर्मबीच हुर्कियो। प्राचीन भारत र चीनबीचको व्यापारिक सम्बन्धलाई पनि श्याम शरणले केलाएका छन्।
भारतीय स्वतन्त्रतापछि दुवै देश नयाँ सम्बन्ध निर्माणमा लाग्छन्। चीनका माओत्सेतुङ र भारतका जवाहरलाल नेहरूबीच सम्बन्ध विस्तार भयो। तर, तिब्बत समस्या शुरू भएसँगै तिब्बती नेता दलाई लामाको भारत निर्वासनपछि सम्बन्धमा तिक्तता आयो।
भारत र चीन सम्बन्धमा तिब्बत मामिला पेचिलो मुद्दा हो। भारतले दलाई लामालाई आश्रय दिनु चीनलाई कूटनीतिक व्यवहारमा घोच्ने काँडा हो। उता, चीन र पाकिस्तानबीचको मित्रता भारतलाई टाउको दुखाइ बनेको छ। भारत-चीन सम्बन्धमा सीमा विवाद सम्भावित युद्धको कारण हुन सक्छ। सीमाका विषयमा दुवै देशका सेनाबीच छिटपुट भिडन्त हुँदै पनि आएका छन्।
आज चीन र अमेरिकाबीच तनाव बढिरहँदा विश्व कूटनीतिमा भारतको महत्त्व बढ्दै गएको छ। एशियामा क्वाड, अकुस जस्ता अमेरिकी रचनाका अन्तर्राष्ट्रिय गठबन्धन चीनलाई लक्षित गरेर बनेका छन्। चीनको बीआरआई परियोजना (बेल्ट एन्ड रोड इनिसिएटिभ), शाङहाई कोअपरेशन अर्गनाइजेशन जस्ता रणनीतिक अभियान तथा संगठन तीव्र विस्तार भएका छन्। भारतको नीति गठबन्धनभन्दा पनि आफ्नो स्वार्थ पूरा हुने ठाउँमा भूमिका खेल्ने रहेको भारतीय अधिकारीहरूले खुलेरै बताउने गरेका छन्।
चीनको उदयले ४०० वर्षदेखि कायम पश्चिमा जगत्को विश्व व्यवस्था चीन केन्द्रित बन्न सक्ने चिन्ताले पश्चिमालाई सताएको छ। विश्व सामरिक खेलमा भारतको महत्त्व बढेर गए पनि चीनले निरन्तर आर्थिक रफ्तार समाउँदै विश्व अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउँदै लगेको छ। चीन नाम मात्रको साम्यवादी तर कन्फुसियाली राष्ट्रवाद सहित अगाडि बढेको छ।
सन् २०४९ सम्म चीन विश्वको ‘महाशक्ति’ बन्न चाहन्छ। चीनको लोभलाग्दो सफलता बाँकी विश्वका लागि भने चुनौती बनिरहेको छ। चीनको उदय पश्चिमाहरूको अन्त्यका रूपमा देखिइरहेको लेखक श्याम शरणको विश्लेषण छ।
भारतका प्रख्यात विश्लेषक एवं प्राध्यापक कान्ति बाजपेयी चीन र भारत कहिल्यै मिल्न नसक्ने छिमेकीहरू भएको टिप्पणी गर्छन्। चिनियाँ प्राध्यापक ज्याङ वे वे चीन पश्चिमभन्दा बेग्लै सभ्यताको देश भएकाले यहुदी र इसाई परम्पराको मानव अधिकार र प्रजातन्त्र लागू नहुने बताउँछन्। लेखक शरण चीनलाई बुझ्न सैनिक रणनीतिकार सुनजुको युद्धकला सम्बन्धी रणनीति बुझ्न आवश्यक ठान्छन्।
कौटिल्य नीतिका अभ्यासकर्ता श्याम शरणको यसअघि हाउ इन्डिया सीज द वर्ल्ड (सन् २०१७) पुस्तक प्रकाशन भएको थियो। नयाँ पुस्तकलाई अघिल्लोको पूरक मान्न सकिन्छ। शरणको भनाइमा भारत र चीन कतिपय मामिलामा आमनेसामने भए पनि दुवै देशका जनताबीच सही समझदारीको कमी छ।
२०औं शताब्दीको शुरूआतमा भारतीय कवि रवीन्द्रनाथ टैगोर चीन भ्रमणमा गएका थिए। तर, उनले अंग्रेजको उपनिवेशबाट आएका हुनाले उचित सम्मान पाएनन्। आज चीन र भारतबीच सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध छ। पछिल्लो समय विश्व ‘महाखेल’ मा भइरहेको उथलपुथलले यी दुईबीचको सम्बन्ध निर्धारण गर्ने देखिन्छ।
पुस्तक: हाउ चाइना सीज इन्डिया एन्ड द वर्ल्ड, लेखक: श्याम शरण, प्रकाशक: जगरनट, पृष्ठ:२८६, मूल्य: रु.१२७५