‘रसातलमा पुगेको विवेकशील साझालाई नयाँ जीवन दिने प्रयास गर्नेछु’
‘अब बृहत् रुपमा सबैलाई समेट्ने नै हो। साँघुरो हैन, अलि फराकिलो सोच राखेर सबैलाई एकजुट बनाएर जानेछौं।’
संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि दुई महीनासम्म अलमलमा रहेको विवेकशील साझा पार्टीले समीक्षा बाँस्कोटालाई अध्यक्ष चयन गरेको छ। अध्यक्ष बास्कोटासँग वैकल्पिक राजनीति, आगामी निर्वाचन र समसामयिक विषयमा हिमालखबरका लागि अनिता भेटवालले गरेको संवाद:
नेतृत्वकै विषयमा लामो समयदेखि विवेकशील साझा पार्टीमा विवाद छ। तपाईंलाई अध्यक्ष बनाउन विवेकशील साझाका नेताहरू कति सहजै तयार हुनुभयो?
सबै साथीहरू अनौपचारिक छलफलमा थियौं। सबै जनाको मुख्य उद्देश्य पार्टी जोगाउनुपर्छ भन्ने नै थियो। झगडै पनि पार्टीलाई जोगाए मात्र गर्न सकिने हो।
यहि वेला मंसिरमा हुने चुनावका दल दर्ता गर्नुपर्छ। साउन ३१ गते भित्र दर्ता गरि सक्नुपर्नेछ। यी सबै कारणले दबाब परिरहेको थियो।
अर्को, निवर्तमान अध्यक्ष (रवीन्द्र मिश्र) ले राजनीमा दिएको दुई महीना भइसक्दा पनि नयाँ नेतृत्व चयन गर्न सकिरहेका थिएनौं। अध्यक्षज्यूलाई गाली गर्न त सजिलो थियो, तर बाँकी हामी अन्य केन्द्रीय सदस्य पनि उत्तिकै लज्जावोध हुनुपर्ने स्थिति थियो। यो विषयमा सधै यसै बसेर त हुदैन, निकास पनि चाहिन्छ भनेर पहिला निर्वाचन आयोगमा दल दर्ता गरौं, त्यसपछि कहाँ कहाँ काम गर्नुपर्नेछ गरौँला भन्ने सल्लाह भयो।
त्यसका लागि सडक र मिडियाभन्दा पनि टेबलमा नै बसेर कुरा गर्ने सहमति भयो। सबैले मलाई अघि बढौं भनेपछि सहमतिमै अध्यक्ष बनाउने निर्णय भयो। मैले पनि स्वीकारे। त्यस्तो खासै गाह्रो भएन।
हिजो पार्टी प्रभावकारी र शक्तिशाली हुँदा अरु नै नेतृत्वमा थिए। जब पार्टी कमजोर अवस्थामा पुग्यो, त्यसपछि तपाईंलाई भिडाए जस्तो लाग्दैन?
हैन, भिडाउन भन्दा मैले जिम्मा लिन्छु भनेर पार्टाीमा आएको हुँ। दुई महीनाअघि अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि साथीहरूसँग छलफल भइरहेको थियो। साथीहरूले ‘तपाईं अघि बढ्ने भए, हामी साथ दिन्छाँं’ भन्नुभयो। भर्खरै स्थानीय निर्वाचनमा उठेको र अध्यक्षसँग पाँच वर्ष एकदमै मिलेर काम गरेको हिसाबले पनि उहाँको राजीनामा आँउदा मैले अघि बढ्नु हुदैन भन्ने लागेको थियो। तर, दुई महीनासम्म पनि उस्तै भएपछि पार्टीलाई लथालिंग छोडन सकिएन। अन्तिम घडीमा कसैले मलाई जिम्मेवारी दिएको हैन, म आफै अघि बढ्छु भनेको हुँ। म अघि बढ्दा पार्टीमा सहमति हुन्छ भने मैले आँट गर्नु उचित लाग्यो।
सबैलाई थाहा छ, अहिले पार्टी सोचेभन्दा एकदमै रसातलमा पुगेको छ। यो अवस्थामा पनि नयाँ सन्देश र उर्जाका साथ उठाउन सकिन्छ भन्ने मलाई विश्वास छ। विवेकशील साझालाई नयाँ जीवन दिने प्रयास गर्नेछु। फेरि महिलाले बनाएको चिजमा मात्र नभएर बिग्रेको चिजलाई बनाउने काम गर्न सक्छन् भन्ने पनि सन्देश दिने मेरो प्रयास हो।
यसमा म कति खरो उत्रन सक्छु भन्ने मेरा भोलिका कामले पनि देखाउँलान नै। तर, म नेतृत्वमा आउँनु भनेको हामी सबै जिम्मेवार सदस्यहरू नेतृत्वमा आउनु नै हो। परिपक्व तरिकाले काम गर्न धेरै चुनौति पनि छन्। यसबीचको लडाईमा हामीले धेरै कुरा सिकेका छौँ। त्यो सिकाईबाट उठेर अघि बढ्नेछौँ।
फेरि पार्टीभित्र पनि दुई पक्षहरू छन्। यसलाई कसरी मिलाएर लानु हुन्छ त?
आजको बैठक बस्न सक्नु भनेको पनि कयाैं पक्षहरू मिलेर नै बसेको छ। हामीले विवेकशील मात्र नभएर अन्य फोरमहरूसँग पनि एकीकरण गरेर यहाँसम्म आएका छौँ। हामीले भरसक सबै पक्षलाई मिलाएर लाने नै छौँ। त्यसमा पनि अरु पक्षहरू छुट्नु भएको छ भने उहाँहरूलाई पनि समेटेर हामी एकै ठाउँमा आउने प्रयत्न गर्नेछौँ। अब हामीले वृहत्तर रुपमा सबैलाई समेट्ने नै हो। साँघुरो हैन, अलिक फराकिलो सोच राखेर सबैलाई एकजुट बनाएर जानेछौँ।
रवि लामिछाने, बालेन्द्र शाह, मिलन पाण्डे पक्षहरूसँग पार्टी एकता हुने सम्भावना पनि छ की?
पार्टीले मिलन पाण्डेलाई कारबाही गरेको थियो। कारबाही गर्ने पार्टीे अध्यक्षले राजीनामा दिँदा ‘कारबाही फिर्ता गरौं’ भन्ने कुरा पनि राखिएको छ। साथीहरू विवेकशील साझामा आएर काम गर्न चाहनुहुन्छ भने हामी उहाँहरूलाई पनि समेट्ने प्रयास गर्नेछौँ। किन भने विवेकेशील ब्रान्डको कोही पनि बाहिर बस्नुहुन्न। एउटै ठाउँमा आएर एउटै लक्ष्यमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
अहिले रवि लामिछानेको पार्टी पनि दर्ता भएको छ। अन्य स्वतन्त्रहरू पनि उम्मेदवार हुनु भएको छ। जहाँ जहाँबाट हामीले उहाँहरूसँग सहकार्य गर्न सकिन्छ, त्यो पहल गर्नेछौँ। आजको बैठकको सन्देश पनि हामी एकढिक्का हुनेछौँ भन्ने नै हो। अरु जोजो नयाँ हुनुहुन्छ, उहाँहरूसँग सहकार्य र सहयात्रा कहाँ गर्न सकिन्छ, त्यो कुरामा हामी अवश्य ध्यान दिनेछौँ।
अहिले स्वतन्त्र उम्मेदवारले पनि यतिका मत ल्याएर स्थानीय तहमा जिते। नयाँ राजनीतिकको अवधारणा सहित पार्टी खोल्नु भएको थियो। किन अघिल्लो निर्वाचना जनताको पत्याएनन् जस्तो लाग्छ?
हामीले आफ्नै बलबुतामा २०७४ सालमा यस पार्टीलाई जगायाैं। जनतामाथि नयाँ पार्टीले पक्कै केही गर्नेछ भन्ने आश जगायौं। पाँच वर्षमा विभिन्न टुटफुट र मिडियाबाजीहरू भए। हामीले आफ्नो साख आफैले गिराएको हो। स्वतन्त्र उम्मेदवारीको पक्षमा युवा शक्ति लागेको देखियो। हामीले युवा शक्तिलाई सदुपयोग गर्न आफ्नै कारणले मात्र नसकेको हो।
अहिले स्वतन्त्रहरूको माहोल बन्नका लागि पनि विवेकशील साझाले ठूलो भूमिका खेलेको छ। त्यसको जग हामीले २०७४ सालमा नै हालेका थियौँ र त्यो नै अहिले २०७९ सम्म आइपुग्दा फस्टाएको हो। स्वतन्त्रले जित्नुमा विवेशशील साझाको केहि न केहि भूमिका छ।
चर्चित सञ्चारकर्मी, सेलिब्रेटीले रवीन्द्र मिश्रले हाँकेको पार्टीलाई अब कसरी चलयमान बनाउनुहुन्छ, पुर्नजीवन दिनु हुन्छ?
रवीन्द्र मिश्रले पार्टी स्थापना गरेर यहाँसम्म ल्याइदिनु भयो, सम्मान गर्नुपर्छ। अब यसलाई जोगाएर राख्ने र अगाडि लैजाने सोच छ। मेरो अहिलेको योजना भनेको पार्टीको महाधिवेशन गराउनेछु। अर्को, आउँदै गरेको चुनावमा कसरी एकढिक्का भएर भाग लिने र पार्टीलाई संस्थागत गर्ने भन्ने नै मेरा लागि सबैभन्दा ठूलो चुनौति पनि हो। यि दुई वटा कार्य अहिले गरे भने बाँकी कामहरू गर्दे जानेछु।
हाम्रो जिम्मेवारी पनि रवीन्द्रजीले जसरी यहाँसम्म ल्याउनु भयो, अब हामीले थप काम गरेर अघि बढाउने नै हो। उहाँले एक तहमा ल्याइ दिनु भएको पार्टीलाई कसरी अर्को तहमा पुर्याउने भन्ने कुरामा काम गर्नेछौँ। अब केही दिनमा नै हाम्रो ‘डिरेक्सन’ तय गर्नेछौँ र यसमा रवीन्द्रजीको सहयोग त हुने नै छ।
अनि चुनावको तयारी?
हामी अहिले एउटा गञ्जागोलबाट मुक्त भएका छौँ। अब चुनावमा भाग लिने मनस्थिति बनिसकेको छ। कहाँ र कसरी सहकार्य, सहयात्रा गर्नुपर्ने हो, रणनीति बन्दै छ। आज पार्टीलाई निकास दिने बैठक त बसिसकेको छ। अब केही दिनमा नै हामी चुनावमा यसरी जानेछौँ भनेर सामूहिक धारणा बनाएर आउनेछौँ। अबको हाम्रो ध्यान बिल्कुलै आउँदो चुनावमा छ।