दक्षिणएशिया, नेपाल र भारत
भारतले नेपालप्रति अख्तियार गरेको यस्तो प्रभुत्ववादी नीति विरूद्ध नेपाली जनतामा रोष र आक्रोश व्याप्त छ। तर, त्यसलाई सही ढङ्गले नेतृत्व गरेर भारतसँगको सम्बन्धलाई परिवर्तन गर्न अहिलेसम्म नेपालको राजनीतिक नेतृत्व सफल भएको छैन। भारतसँग आफ्नो हकको कुरो नेपालले गर्नासाथ भारत सरकारको टाउको दुखिहाल्छ।
भारतले पचहत्तरौं स्वतन्त्रता दिवसको अमृत महोत्सव मनाइरहेको छ। भारत आफूलाई क्षेत्रीय शक्तिबाट अर्को एउटा विश्वशक्तिको रूपमा रूपान्तरित गर्न प्रयासरत देखिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष यता विश्वमञ्च र क्षेत्रीय मञ्चहरूमा आफूलाई उदाउँदो विश्वशक्तिको नेताका रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका पनि छन्।
एकाइसौं शताब्दी एशियाको शताब्दी र त्यसमा पनि खास गरेर चीन र भारतको शताब्दी हुने भविष्यवाणी विभिन्न लेखक, राजनीतिक व्यक्ति र अर्थशास्त्रीहरूले वर्षौंदेखि गर्दै आएका हुन्। चीनले आफूलाई उदाउँदो विश्वशक्तिको रूपमा स्थापित गरिसकेको छ। आफूलाई संसारको पहिलो शक्ति ठान्ने अमेरिकाले अहिले चीनलाई कसरी संसारको पहिलो शक्ति हुनबाट रोक्ने भनेर आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ। चीनलाई पहिलो शक्ति हुनबाट रोक्ने आफ्नो लक्ष्यमा अमरिकाले महत्त्वपूर्ण र निर्णायक सहयात्री भारतलाई ठानेको छ।
एकातिर उदाइसकेको शक्तिशाली चीन, अर्कोतिर उदाउँदै गरेको भारत र शक्तिसम्पन्न अमेरिकाको बढ्दो गठबन्धन। बीचमा रहेको नेपाल यी सबै घटनाक्रम र परिवर्तित परिस्थितिलाई हेरिरहेको छ। तर‚ राजनीतिक नेतृत्वको असक्षमता, अदूरदर्शिता, पदलोलुपता र बढ्दो राजनीतिक एवं नीतिगत अस्थिरताले गर्दा फेरिएको विश्व एवं क्षेत्रीय परिस्थिति अनुरूप नेपालले आफूलाई व्यवस्थित गर्न सकिरहेको छैन।
अस्थिर दक्षिणएशिया
दक्षिणएशिया अशान्त, अस्थिर र आन्तरिक रूपमा विभाजित बन्दै गइरहेको छ। धार्मिक कट्टरता, अस्थिर आर्थिक, सामाजिक एवं राजनीतिक अवस्था र छिमेकीहरूबीच बढ्दो अविश्वासका कारणले दक्षिणएशिया आपसमा एकताबद्ध हुन सकेको छैन।
दक्षिणएशियाका देशहरू आफैंभित्र पनि विभाजित छन्। अफगानिस्तान तालिवानको शासनमुनि झन् झन् निसास्सिँदै मध्ययुगीन अवस्थामा बाँचिरहेको छ। लाखौं मानिस कुपोषण र हिंसाको शिकार बनिरहेछन्। सबभन्दा मारमा महिला र बालबालिकाहरू परेका छन्। भविष्य र आशाविहीन अवस्थामा रहेका अफगानी जनतालाई न्यूनतम अधिकार दिलाउन समेत संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरू असफल बनेका छन्।
भूराजनीतिको मारमा सबभन्दा बढी अफगानी जनता परेका छन्। अमेरिका अफगानी जनतालाई अलपत्र पारेर हिंडेको छ। रुस, चीन र भारत जस्ता देशहरू तालिवानी शासकसँग सम्बन्ध सुधारेर आ-आफ्ना भूराजनीतिक स्वार्थ जोगाउन तल्लीन छन्। यसको मार अफगानी जनताले भोग्नु परिरहेको छ।
धार्मिक कट्टरता, अस्थिर आर्थिक, सामाजिक एवं राजनीतिक अवस्था र छिमेकीहरूबीच बढ्दो अविश्वासका कारणले दक्षिणएशिया आपसमा एकताबद्ध हुन सकेको छैन।
पाकिस्तानमा पनि राजनीतिक विवाद बढ्दो छ। आर्थिक अवस्था राम्रो छैन। राजनीतिक दलहरू मुस्लिम धार्मिक कट्टरपन्थीहरूलाई चिढ्याउन चाहँदैनन्। सेना शक्तिकेन्द्रका रूपमा छ र वेलावेला नचाहिने ढङ्गले राजनीतिमा हस्तक्षेप गर्छ। अल्पसंख्यकका रूपमा रहेका अहमदिया, सिया, बलुच र हिन्दूहरूले पाकिस्तानमा आफूलाई सुरक्षित एवं सहज ठान्न सकिरहेका छैनन्। उनीहरूको असन्तुष्टि विभिन्न सञ्चार माध्यम मार्फत संसारले सुनिरहकै छ, देखिरहेकै छ।
भारतसँग सुध्रन नसकेको सम्बन्धले पाकिस्तानलाई आफ्नो सुरक्षाप्रति संवेदनशील बनाएको छ र सेनालाई शक्तिशाली। पाकिस्तानको राजनीतिमा कट्टरपन्थी र सेनाको दबाब बढ्दो छ भने पत्रकार, नागरिक अगुवा, बुद्धिजीवीहरू र अन्य लोकतान्त्रिक शक्तिहरूको प्रभाव घट्दो छ। त्यहाँको राजनीति जमीनदार, एलीट, व्यापारी, पूँजीपति र सेनाका अधिकारीहरूको नियन्त्रणमा छ।
बाङ्लादेशमा तुलनात्मक रूपले राजनीतिक स्थिरता र आर्थिक विकास दक्षिणएशियाका अन्य देशभन्दा बढी देखिए पनि त्यहाँ प्रेस स्वतन्त्रता सुरक्षित छैन। सत्ता तथा धार्मिक कट्टरपन्थीहरूसँग असहमति राख्ने पत्रकार र बुद्धिजीवीहरू त्रसित छन् र वेला वेला थुनिन्छन्, मारिन्छन्। अल्पसंख्यक हिन्दूहरूले आफूलाई त्यहाँ सुरक्षित ठानेर ढुक्क भएर बस्न सकेका छैनन्। मुस्लिम कट्टरता त्यहाँ पनि बढ्दो छ।
श्रीलंका आफ्नो स्वतन्त्रतापछि अहिले सबैभन्दा गम्भीर आर्थिक सङ्कटको सामना गरिहेको छ। गृहयुद्ध समाप्त भएको श्रीलंका अब विकसित भएर अघि बढ्ला भन्ने जनताको आशा निराशामा परिणत भएको छ। वर्तमान आर्थिक र राजनीतिक सङ्कटबाट कसरी श्रीलंकाले पार पाउला भन्ने चासो सर्वत्र छ।
माल्दिभ्स र भूटान दुवै साना देश भए पनि भारतको हस्तक्षेपका कारणले यी दुवै देशमा भारतप्रति असन्तुष्टि छ। भूटानमा राजतन्त्रको शासन छ| माल्दिभ्समा लोकतन्त्र भए पनि वेला वेलामा अस्थिरता देखिने गरेको छ।
नेपाल
नेपाल आर्थिक रूपले कुनै पनि वेला सङ्कटमा जाकिन सक्छ। विदेशमा पसिना बगाएर नेपालमा पैसा पठाइरहेका नेपालीहरूको संख्या र आम्दानीमा तल–माथि हुनासाथ नेपालको अर्थतन्त्र डगमगाउन थाल्छ। निरन्तर खस्कँदो कृषि र उद्योगको अवस्थाले नेपालको व्यापार घाटा बढ्दो छ। राज्यसत्ताका सञ्चालकहरू कमिशन एजेन्टको पनि एजेन्टका रूपमा काम गर्छन्। पद, पैसा र पावरका लागि आफूलाई बेच्नु नै राजनीति ठान्नेहरूले यतिवेला मुलुक हाँकिरहेका छन्।
नेपाल भारतबाट सबैभन्दा उत्पीडित देश हो। नेपालका जलस्रोतको एकतर्फी दोहन गर्नु, नेपालका सिमाना मिचेर बस्नु, नेपाललाई आफ्नो एकलौटी बजार बनाउनु र नेपालको राजनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप गर्दै नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो स्वार्थ सिद्ध गर्नु नै भारतको नेपाल नीति रहँदै आएको छ।
नेपालका जलस्रोतको एकतर्फी दोहन गर्नु, नेपालका सिमाना मिचेर बस्नु, नेपालको राजनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप गर्दै नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो स्वार्थ सिद्ध गर्नु नै भारतको नेपाल नीति रहँदै आएको छ।
भारतले नेपालप्रति अख्तियार गरेको यस्तो प्रभुत्ववादी नीति विरूद्ध नेपाली जनतामा रोष र आक्रोश व्याप्त छ। तर, त्यसलाई सही ढङ्गले नेतृत्व गरेर भारतसँगको सम्बन्धलाई परिवर्तन गर्न अहिलेसम्म नेपालको राजनीतिक नेतृत्व सफल भएको छैन। भारतसँग आफ्नो हकको कुरो नेपालले गर्नासाथ भारत सरकारको टाउको दुखिहाल्छ। नेपालका वर्तमान प्रधानमन्त्रीबाट वा भनौं कांग्रेसको नेतृत्वको सरकारबाट भारतसँगको सम्बन्ध सम्मानजनक र नेपालको हितमा बनाउनका लागि ठोस प्रयत्न हुन्छ भनेर आशा गर्नु नै निरर्थक छ। नेपालमा यतिवेला राजनीतिक निराशा व्याप्त छ।
फेरिंदो विश्वशक्ति सन्तुलन अनुसार आफ्ना लागि उपयुक्त अवसर र सम्भावना खोज्नेतर्फ नेपालका राजनीतिक दल र तिनका नेताहरूको ध्यान जान सकेको छैन। सत्ता र शक्तिभन्दा पर समग्र देशको भविष्यका बारेमा नेपालका राजनीतिक दलहरूमा विचार विमर्श हुन छोडिसकेको छ। जनता अन्योलग्रस्त देखिन्छन्।
खेतीयोग्य जमीन बाँझो राखेर बसेको छ नेपाल। आफ्ना युवाहरूलाई विदेश पठाएर तिनले पठाएको पैसाले चामल र पिठो किनेर खान्छन् नेपाली। उद्यमशीलता शून्य छ। भएका कारखानाहरू पनि बन्द हुँदै गएका छन्। यो आर्थिक गतिरोध तोड्न कुनै ठोस प्रयत्न भइरहेको छैन।
वैचारिक बहसको हलचल, राजनीतिक गतिरोध तोड्ने चिन्ता र देशको यथास्थितिलाई भंग गर्ने क्रियाशीलता अहिलेको नेपालमा देखिंदैन। वैचारिक शून्यता, यथास्थिति र गन्जागोल वर्तमानको सूचक भएको छ। नेपालको यो अवस्था भारतीय सत्ताधारीहरूले खोजेकै कुरा हो। तर, छिमेकीहरू कमजोर रहून्, म मात्रै बलियो बनूँ भन्ने भारतीय आकाङ्क्षाले के स्थिर र शान्त दक्षिणएशियाको निर्माण गर्ला?
भारत
भारत दक्षिणएशियाको सबैभन्दा ठूलो र शक्तिशाली देश हो। तर‚ उसको भौगोलिक विशालता र शक्ति दक्षिणएशियालाई शान्त, सुस्थिर एवं समृद्ध बनाउनका लागि सही ढङ्गले प्रयोग भएको छैन। कहिले पनि आफ्ना छिमेकीहरूको आकांक्षाको सम्मान गरेको छैन। छिमेकीहरूको हितप्रति बेवास्ता गर्ने र आफ्नो आर्थिक, भौगोलिक र सैन्य शक्तिको बलमा आफ्नै स्वार्थ मात्र लादने प्रवृत्ति भारतीय सत्ताधारीहरूमा छ।
भारतले विश्वमञ्चमा दक्षिणएशियाकै प्रतिनिधि र शक्तिका रूपमा अहिलेसम्म आफूलाई स्वीकार्य बनाउन सकेको छैन। नेपाल, श्रीलंका, माल्दिभ्स जस्ता देशहरूकै भारतप्रति प्रशस्त गुनासो छ। भारत र पाकिस्तानबीच जन्मँदैदेखि कायम रहेको शत्रुता घट्न सकेको छैन। त्यही सम्बन्धको शिकार दक्षिणएशियाली सहयोग संगठन (सार्क) बन्न पुगेको छ। भारतको अनिच्छाले सार्क सुषुप्त अवस्थामा पुगेको छ। अध्यक्षता गरिरहेको नेपालको राजनीतिक नेतृत्व पनि यो मामिलामा निदाएर बसिरहेको छ।
छिमेकीहरू कमजोर रहून्, म मात्रै बलियो बनूँ भन्ने भारतीय आकाङ्क्षाले के स्थिर र शान्त दक्षिणएशियाको निर्माण गर्ला?
भारत विश्वशक्ति बन्ने महत्त्वाकांक्षा राख्छ भन्ने तथ्य उसका छिमेकीहरूबाट लुकेको छैन। आर्थिक, भौगोलिक, सैनिक र जनसांख्यिक तथ्याङ्कलाई हेर्दा भारतमा त्यो सम्भावना निहित रहेको पनि देखिन्छ। विश्वको पाँचौं आर्थिक शक्ति बन्न लागेको उसको अवस्था, विद्यमान भौगोलिक विशालता, शिक्षित युवा शक्तिको प्रचुर संख्या, अत्यधिक जनसंख्या, बढ्दो सैनिक शक्ति र उदाउँदो सबैभन्दा ठूला बजार जस्ता यथार्थहरूले गर्दा भारत भविष्यको विश्वशक्ति हो भन्नेमा शङ्का गर्नु नपर्ला। तर, भारत जनसंख्या र भूगोलमा विशाल भए पनि उसको यो विशालता छिमेकी साना देशहरूका लागि खुशीको आधार बन्न सकेको छैन। यसो हुन नसक्नुको मूल कारण भारतले छिमेकी देशहरूप्रति लिएको नीति नै हो।
अहिलेको भारत राजनीतिक अस्थिरतामा छैन। नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको बहुमतको सरकारले दोस्रो कार्यकाल चलाइरहेको छ। सरकार र सरकारको नेतृत्वलाई लिएर भारतमा यतिवेला कुनै अनिश्चितता छैन। तर‚ यति बलियो सरकारले पनि आफ्ना छिमेकीहरूका जायज गुनासा र चिन्तालाई सम्बोधन गरेको छैन। भारतीय जनता पार्टी (भाजपा)को सरकार आएपछि छिमेकी देशहरूका जायज गुनासा सुनेर समाधान गर्नेछ भन्ने आशा निराशामा परिणत भइसकेको छ। नेपालले त झन् मोदीकै पहिलो कार्यकालमा नाकाबन्दी समेत भोग्नुपरेको थियो ।
नेपाल दक्षिणएशियामा भारतबाट सबैभन्दा बढी उत्पीडन र थिचोमिचोमा परेको देश हो। यो उत्पीडन र थिचोमिचो ब्रिटिशकालीन भारतदेखि आजसम्मको भारतले निरन्तर कायम राखेको छ। ब्रिटिश गएर कांग्रेस आउँदा, त्यसपछि जनता पार्टी र अहिले भाजपाले शासन चलाउँदा पनि नेपाल तथा नेपाली जनताप्रतिको भारतीय हेपाहा व्यवहार उस्तै छ। यो हेपाहा भारतीय व्यवहार र थिचोमिचो विरुद्ध नेपालका राजनीतिक नेताहरूले निरन्तर अडान कायम राख्न नसक्नु एउटा प्रमुख दोष होला, तर नेपालको हित एवं अधिकारको कुरो आउनासाथ टेढो नजर लगाउने भारतको राजनीतिक–प्रशासनिक नेतृत्व नै विद्यमान थिचोमिचोका लागि जिम्मेवार छ। भारतले आफ्नो शासनमा रहको यो तीतो यथार्थलाई स्वीकारेर सुधार्ला भन्ने आशा गर्ने सम्भावना पनि देखिंदैन। त्यसैले मुखले जे भने पनि भारतका छिमेकीहरू भारतप्रति आशङ्का र अविश्वास मनमा राखिराख्न बाध्य छन्। यो बाध्यता भारतीय व्यवहारले जन्माएको हो।
भारतले छिमेकी नीतिमा परिवर्तन गर्दा फाइदा छिमेकीहरूलाई मात्र हैन, स्वयं भारतलाई नै बढी हुनेछ। दक्षिणएशिया शान्त रहँदा, विकसित हुने बाटोमा अघि बढ्दा र एकापसमा विश्वास, सहकार्य एवं समझदारी बढ्दा त्यसबाट बढी फाइदा लिने अन्ततः भारतले नै हो।
दक्षिणएशिया, चीन, भारत र नेपाल
चीनको दक्षिणएशिया प्रवेश प्रभावकारी छ। पाकिस्तान, बाङ्लादेश र श्रीलंकासँग चीनको आर्थिक साझेदारी निरन्तर बढ्दो छ। चीनसँग सहयोग र साझेदारी गर्न हिचकिचाइरहेको नेपालले आफ्नो आर्थिक विकासको अवसर गुमाउँदै गएको छ र यसका पछाडि भारतको दबाबले काम गरेको छ। भारतले नाकाबन्दी लगाउँदा चीनतिर हेर्ने तर नाकाबन्दी हटेपछि बेवास्ता गर्ने नेपाली राजनीतिक नेतृत्वको व्यवहारले नेपाल आफ्ना दुवै शक्तिशाली छिमेकीका लागि विश्वसनीय बन्न सकेको छैन।
चीनको नेतृत्वलाई पनि आफ्ना आवश्यकता र अवस्थाबारे नेपालको नेतृत्वले बुझाउन सकेको छैन। आफ्नो देशका लागि चीनले दिन र गर्न सक्ने काम यी यी हुन् भनेर चिनियाँ नेतृत्वलाई आत्मविश्वासका साथ भन्ने र चिनियाँ चाहनाबारे आश्वस्त पार्ने क्षमता नेपालको नेतृत्वले देखाउन नसकेकै कारण चीन–नेपालबीच भएका सहमतिहरू कार्यान्वयन नभई अड्केर बसेका छन्।
नेपाल दक्षिणएशियामा भारतबाट सबैभन्दा बढी उत्पीडन र थिचोमिचोमा परेको देश हो। यो उत्पीडन र थिचोमिचो ब्रिटिशकालीन भारतदेखि आजसम्मको भारतले निरन्तर कायम राखेको छ।
चीनको प्रवेशलाई दक्षिणएशियामा रोक्न चाहेर पनि अब भारतले रोक्न सक्दैन। छिमेकीका राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिकै कारण चीन दक्षिणएशियामा लोकप्रिय छ भने हस्तक्षेप गर्ने व्यवहारका कारण भारत अलोकप्रिय बन्ने गरेको छ।
नेपाल लगायत दक्षिणएशियाका देशहरूले आफ्नो आन्तरिक राजनीतिबाट चीन र भारत दुवै देशलाई अलग राख्न सक्नुपर्छ र दुवै देशसँग आफ्नो आर्थिक विकासका लागि चाहिने सहयोग लिन सक्नुपर्छ। भारतले चीनलाई हटाएर दक्षिणएशियामा म मात्रै खेल्छु भन्ने अवस्था छैन। बदलिंदो परिस्थिति अनुरूप छिमेकीहरूका आकांक्षालाई बुझेर तिनको सम्बोधन र समाधानमा सहयोग गरेर नै भारतले आफ्नो स्थान बलियो बनाउन सक्छ। छिमेकीहरूको सदभाव र भरोसा जित्न सक्छ।
भारतले विश्वमा आफ्नो स्थान र भूमिका बढाउन खोज्नुभन्दा पहिले दक्षिणएशियाको विश्वास जित्नु बढी आवश्यक छ। यसका लागि उसले नेपाल, श्रीलंका, माल्दिभ्स र भूटान जस्ता देशहरूमा खेल्ने गरेको हस्तक्षेपकारी भूमिका परित्याग गर्नुपर्छ। यी देशहरूका आवश्यकता र चाहनाप्रति देखाउने गरेको बेवास्ता नै भारतप्रति बढ्दो विरोधको कारण हो। यो तथ्यलाई जबसम्म भारतले मनन गर्दैन तबसम्म भारतप्रतिको अविश्वास छिमेकी देशहरूको मनबाट हट्दैन।
दक्षिणएशियामा विद्यमान राजनीतिक प्रणालीका कारण पनि भारतसँग यसका छिमेकी देशहरूले आफूलाई बढी सहज ठान्नुपर्ने हो। भारत अहिले पनि अनेकौं कमी–कमजोरी हुँदाहुँदै पनि विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो। बीचबीचमा धक्का र सानातिना झड्काहरू खाए पनि विगत ७५ वर्षदेखि भारतमा सफलतापूर्वक लोकतान्त्रिक व्यवस्था चलिरहेको छ। निरन्तर आवधिक निर्वाचन त्यहाँ भइरहेको छ। स्वतन्त्र प्रेस र लोकतान्त्रिक संस्थाहरू जीवित छन्। सांस्कृतिक, भौगोलिक र जातीय विविधताले गर्दा पनि भारतको आकर्षण बढेको छ। भारतको नरम शक्ति (सफ्ट पावर) आकर्षक र बलियो छ। भारतका शैक्षिक संस्थाहरू छिमेकी देशहरूको तुलनामा बलिया र विशाल छन्। तिनीहरूसँग इतिहास, भविष्य र समृद्ध परम्परा छ।
तर, यो सफ्ट पावरलाई छिमेकीहरूको मन जित्ने आधार बनाउनुभन्दा आफ्नो आकार र सैन्य शक्तिको पावर भारतले छिमेकीहरूमाथि प्रयोग गर्दै आएको छ। सिक्किम हडपेको घटना छिमेकीहरूले बिर्सेका छैनन्। त्यसैले भारतका छिमेकीहरू भारतप्रति विश्वस्त छैनन्। आफ्नो स्वतन्त्रता र सार्वभौमिकताप्रति भारतबाट खतरा आउन सक्ने आशङ्काले उनीहरूको मनमा डेरा जमाएको छ।
चीनसँग सहयोग र साझेदारी गर्न हिचकिचाइरहेको नेपालले आफ्नो आर्थिक विकासको अवसर गुमाउँदै गएको छ र यसका पछाडि भारतको दबाबले काम गरेको छ।
के यो आशङ्का भारतले बुझेको छैन र? निश्चय नै बुझेको छ। तर, पनि बेवास्ता गरेको छ। यसरी बेवास्ता गरिनुका कारणहरू भारत आफैंभित्र छन् भने सबभन्दा पहिले तिनलाई खोजनु र तिनको निराकरण गरिनु जरुरी हुन्छ।
आफ्नो स्वाधीनताको पचहत्तरौं वर्षलाई ‘अमृत महोत्सव’ भनेर मनाइरहेको भारतका सामु अनेकौं आन्तरिक चुनौती छन्। तर, भारतका सामु सम्भावनाको विशाल क्षितिज पनि छ। नेहरूदेखि मोदीको शासनकालसम्म आइपुग्दा भारतले सफलता र उपलब्धिका अनेकौं शृङ्खलाहरू पार गरेको छ। विभाजनबाट गुज्रेर बनेको पाकिस्तान टुक्रेर बाङ्लादेश बन्यो। तर, भारतले लोकतान्त्रिक नीति र प्रक्रियाबाटै आफ्नो भौगोलिक एकतालाई कायमै राखेको देखिन्छ। काश्मिर र भारतको उत्तर–पूर्वी भूभागमा समस्याहरू भए पनि ती समस्याहरूको भारतले लोकतान्त्रिक विधिबाटै समाधान गर्ने आशा गर्न सकिन्छ।
नेपाल र नेपाली जनता भारतमा लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरू सुदृढ भएको हेर्न चाहन्छन्। संसारको सबैभन्दा ठूलो लोकतन्त्र जति बलियो हुन्छ त्यसले संसारका अन्य लोकतन्त्रलाई पनि प्रेरणा र उत्साह दिन्छ। यद्यपि, वर्तमान भारतमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकार दिनहुँ कमजोर बन्दै गएको आलोचना भारतभित्रै बढ्दो छ। धार्मिक र जातीय अल्पसंख्यकहरू विरुद्ध सरकार अत्यन्त असहिष्णु भएको आरोप लाग्ने गरेको छ।
निकट छिमेकी भएको नाताले नेपालीहरू भारतसँगको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध दुवै देशको हितमा सुदृढ बनोस्, नेपालका समस्या समाधानका लागि भारत साँचो अर्थमा मित्रवत् र लचिलो होस् भन्ने अपेक्षा गर्छन्।
भारतले ‘अमृत महोत्सव’ मनाइरहँदा नेपालीहरू बधाई दिन चाहन्छन्। भारतले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा अहिलेसम्म अमृत आफ्नो भागमा र विष नेपालको भागमा पार्ने जुन व्यवहारलाई निरन्तरता दिँदै आएको छ त्यो समाप्त होस् भन्ने अपेक्षा मात्र नेपालीले गर्छन्। गान्धी र विवेकानन्दको देश भनेर गर्व गर्ने भारतले नेपालसँगको सम्बन्धमा ‘अहिंसा’, ‘विवेक’, ‘सदभाव’ र ‘सदिच्छा’ देखाए नेपालीहरू खुशी हुनेछन्।
पचहत्तरौं स्वाधीनता दिवसले भारतको लोकतन्त्र र जनतालाई थप सबल एवं सुदृढ बनाउन सकोस्। भारतीय जनतालाई शुभकामना!