शेयर बाँडफाँड प्रस्तावमा असहमति जनाउँदै साञ्जेन जलविद्युत् आयोजनामा तोडफोड
साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित रसुवाका बासिन्दालाई बाँडफाँड प्रस्ताव गरेको शेयरप्रति असहमति जनाउँदै प्रभावितहरूले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका छन्।
आमाछोदिङ्ग गाउँपालिकास्थित चिलिमेमा रहेको स्थानीय कार्यालयमा आइतबार दिउँसो तोडफोड, आगजनी गरिएको साञ्जेन जलविद्युत् कम्पनीका एक सञ्चालकले बताए। “हाम्रा कर्मचारीले कुटाइ खाएका छन्, आगजनी तोडफोड गरिएको छ र सबै त्रसित भएका छन्,” उनले भने।
गत्लाङ क्षेत्रका ४०-५० जना स्थानीय बासिन्दाले आफूहरूलाई अति प्रभावितको सूचीमा राखेर शेयर निष्कासन गरिनुपर्ने माग राखेर कार्यालय तोडफोड गरेका हुन्। कार्यालयभित्र कर्मचारी कक्ष, सवारी साधन लगायतका संरचनामा तोडफोड गरिएको छ।
४२.५ र १४.८ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले भदौ ५ गतेदेखि स्थानीय बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दै छ। यो शेयरमध्ये अतिप्रभावित चिलिमे क्षेत्रका स्थानीय बासिन्दाका लागि सर्वाधिक धेरै छुट्याइएको छ।
अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित र बाँकी जिल्लाबासीका लागि शेयर अनुपात ४.५:३:१.५:१ कायम गरिएको छ। आफूहरूले कम शेयर स्वामित्व पाउन लागेको भन्दै गत्लाङ क्षेत्रका युवाले साञ्जेनको कार्यालयमा आक्रमण गरेका हुन्।
कम्पनीले भने २०७६ माघ २९ गते जिल्ला समन्वय समितिको बैठकअनुसार शेयर अनुपात कायम गरिएको शेयर आह्वान पत्रमा उल्लेख गरेको छ। झण्डै एक दशकअघि निर्माण प्रकृया शुरू गरेका यी आयोजना अझै सम्पन्न भएका छैनन्।