कृषि अभियन्ता कृष्णप्रसाद पौडेल चितवनबाट चुनाव लड्ने
अर्ग्यानिक कृषिका अभियन्ता कृष्णप्रसाद पौडेलले संघीय निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
खानाको लागि खेतिपाती अभियान सञ्चालन गर्दै आएका पौडेलले आगामी मंसीर ४ गतेका लागि तोकिएको संघीय निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले शनिबार पत्रकार सम्मेलन गरी प्राकृतिक खेतीपातीको पुनर्उत्थान र कृषि क्षेत्र सुधारका लागि आफू संघीय निर्वाचनमा उम्मेदवार बन्न लागेको बताए। कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दा बढी संकटमा परेको र यो प्रवृत्तिलाई नफेर्दासम्म प्रकृति थप विनास हुने र मानव जीवन नै धराशायी हुने उनको तर्क छ।
उनले आधारभूत वस्तुमा परनिर्भर हाम्रो समृद्धि दिगो नहुने बताउँदै खाना र खेतीपातीको सवाल सम्बोधन नगरी समाजवादको परिकल्पना अर्थहीन हुने पनि बताए।
यो अवस्थालाई फेर्न राजनीतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थान सँगसँगै गर्नु अनिवार्य हुने भएकाले माटो विषमुक्त राख्न, मानव स्वास्थ्य जोगाउन, खाना र खेतीपाती सपार्न, स्थानीयतामा आधारित प्रकृतिसम्मत विकासमा जोड दिन, प्रशासनिक नेतृत्वको पुनर्गठनको आवश्यकताको बहस र पहल गर्न आफू उम्मेदवार बन्न लागेको बताए।
उनले राजनीतिक दल वा स्वतन्त्र कसरी चुनाव लड्ने भनेर खुलाएका छैनन्। पौडेल पेसाले कृषिविज्ञ हुन्। रामपुरबाट कृषिमा स्नातक र बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर गरेका पौडेलले प्राकृतिक स्रोत र मानिसको सम्बन्धबारे विद्यावारिधि गरेका छन्।