स्वेच्छाचारी यादव र किचन क्याबिनेटबाट हारेका भट्टराई
जसपाबाट प्रदेश मन्त्री भएकाको स्वकीय सचिव नियुक्त गर्न उपेन्द्रकै हुकुम पर्खनुपर्ने वातावरण बनाइयो। बाबुरामले आफू अध्यक्ष बनेको पार्टीमा श्रीमतीलाई उपाध्यक्ष तथा छोरी र ज्वाइँलाई केन्द्रीय सदस्य बनाएका छन्।
जेबी दर्लामी
कुनै समय ‘वैकल्पिक शक्ति’ लोभलाग्दो शब्द थियो। त्यही शब्दको मोहले थुप्रै युवा वैकल्पिक शक्तिका नारा बोकेका दलहरूमा गोलबन्द भए। वैकल्पिक शक्ति आवश्यक छ भन्ने ती युवामध्ये म पनि थिएँ।
अहिले के मार्क्सवादी के राजावादी‚ सबैले आफू वैकल्पिक शक्ति भएको दाबी गर्दै आएका छन्। वैकल्पिक शक्ति भन्ने शब्दलाई नै राजनीतिक दलहरूले मजाकमा रुपान्तरण गरिदिएका छन्।
हामीले वैकल्पिक शक्तिका रुपमा बुझेको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई समाजवादी पार्टी निर्माण भयो। त्यसले धेरै युवामा आशा जगाएको थियो। त्यसपछि राष्ट्रिय जनता पार्टी पनि जोडिएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो। त्यसले झन् हौस्यायो।
कांग्रेस र कम्युनिष्टको विकल्पमा समाजवादी धारको नेतृत्व गर्ने पार्टी जसपा मात्रै हो भन्ने गर्व गर्यौं। कांग्रेस र कम्युनिष्टको व्यवहार एउटै देखिन थालेकाले जसपा चाहिं फरक देखिनुपर्छ भन्ने हाम्रो चाहना थियो। मुखले बोल्दैमा समाजवादी बनिंदैन‚ भाषणले मात्र समाजवाद आउँदैन भन्ने हामीलाई थाहा थियो।
तर‚ हाम्रा नेतृत्वले कांग्रेस र कम्युनिष्ट पार्टीका नेतृत्वले झैं चिन्तन बोकेका छन् भन्नेमा चाहिं हामी सधैं अनदेखा गरेछौं। नेतृत्वहरू क्रमश: उही पुरानै ढर्रामा ढल्किंदै गएको हेक्का गरेनछौं। जुन दिन हेक्का भयो, त्यो समय पार्टी टुक्रा टुक्रा भइसकेको थियो। गुट र उपगुट बनाउनेहरूले उदीयमान वैकल्पिक शक्तिलाई निमिट्यान्न पारे। नेपालका राजनीतिक दलहरू प्राय: बाहिरी ईशारामा फुट्छन् या जुट्छन् भन्ने जुन मानक थियो/छ‚ त्यसलाई जसपाले भत्कायो। जुट्न त नसकिंदो रहेछ तर फुट्न भने कसैको भर नचाहिँदो रहेछ।
हाम्रा नेतृत्वले कांग्रेस र कम्युनिष्ट पार्टीका नेतृत्वले झैं चिन्तन बोकेका छन् भन्नेमा चाहिं हामी सधैं अनदेखा गरेछौं। नेतृत्वहरू क्रमश: उही पुरानै ढर्रामा ढल्किंदै गएको हेक्का गरेनछौं।
यो आलेखमा जसपाको पूर्व जिल्ला सचिवको होइन, आम कार्यकर्ताको मनोभावना व्यक्त गरिएको छ। यहाँ म कसैप्रति आग्रह वा पूर्वाग्रह छैन‚ मेरो मनको कुरा छ।
जसपामा मुख्यत: नयाँ शक्ति पार्टी, संघीय समाजवादी पार्टी र मधेशी जनअधिकार फोरमको मनोविज्ञान मिसिएको थियो। पार्टी एकीकरणको घोषणा गरिए पनि आम नेता तथा कार्यकर्ताको भावनात्मक एकता भएको थिएन। नेतृत्वले अन्तरघुलनतर्फ कहिल्यै विचार पुर्याएन या चाहेनन्। पश्चिम पहाडमा नयाँ शक्ति पार्टीको, पूर्वी पहाडमा संघीय समाजवादी पार्टी र मधेस/तराईमा मधेशी जनअधिकार फोरमको मनोविज्ञान हाबी भइरह्यो। यही मनोविज्ञानले नै पार्टीमा अहिलेको अवस्था आएको हाम्रो निष्कर्ष हो।
पार्टीमा देखा परेका पछिल्ला समस्याहरूमा नेतृत्वले चाहेको भए समाधान हुन्थ्यो। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच ‘जुँगाको लडाइँ’ ले मात्र जसपा फुटेको कदापि होइन‚ दुई नेतालाई उचाल्न र पछार्न दिनरात लागिपरेकाहरूले त्यो अवस्था आएको हो। यसको हिसाब उनीहरूले एक दिन निर्मम तरिकाले पक्कै चुक्ता गर्नु पर्नेछ।
साउन महीनामा जसपमा ठूलै भेलबाढी आयो। त्यसको शुरुआत नेतृत्वबाटै भएको हो। कार्यकारिणी अध्यक्ष भएर पनि केन्द्रीय समितिको बैठक राख्न नसक्नु उपेन्द्र यादवको कमजोरी रह्यो। गठबन्धनमा आवद्ध भएर स्थानीय निर्वाचनमा होमिएको जसपाले थुप्रै कमी कमजोरीमा आत्मसमीक्षा गर्नु जरुरी थियो। त्यसो भएन। निर्वाचन सम्पन्न भएको तीन महीनासम्म पनि बैठक बस्न नसक्नु सानो त्रुटि निश्चय नै होइन। त्यही बहानामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको सम्मतिमा उनी समर्थकहरूले जस्केलाबाट हस्ताक्षर अभियान चलाउनु अर्को भूल थियो।
पहिचानको मुद्दामा उभिएको जसपाका केही नेताहरू चरम रुपमा पहिचान विरोधी खेमामा देखा पर्नु अर्को समस्या थियो। बाबुराम भट्टराईले पहिचानको कुरा गरिरहँदा उनकै पत्नी जसपाकी नेतृ हिसिला यमीले पहिचान विरोधी गतिविधि सञ्चालन गरिन्। त्यो भयंकर गल्ती थियो। यस्ता विरोधाभासलाई नेतृत्वले मिलेर सुल्झाउनुपर्थ्यो तर त्यसो भएन।
एकीकरणपछि पनि पश्चिम पहाडमा नयाँ शक्ति पार्टीको, पूर्वी पहाडमा संघीय समाजवादी पार्टी र मधेस/तराईमा मधेशी जनअधिकार फोरमको मनोविज्ञान हाबी भइरह्यो।
कतिपयले यो भेलबाढीले पार्टी टुक्रिएको मात्रै देख्लान्‚ कतिपयले दुई शीर्ष नेतालाई तुष्टि भएको देख्लान्। तर‚ यसले हामीजस्ता हजारौं इमान्दार कार्यकर्ताको रगत‚ पसिना बगाएको छ। हामीले पार्टीका लागि गरेको नि:स्वार्थ लगानी बगाएको छ। हाम्रो इमान्दारिता र निष्ठाका मुना नहुर्कंदै निमोठिएको छ।
यी दृश्य देख्दा केही छुद्रहरू रमाइरहेका छन्। किनकि‚ उनीहरूलाई देश र जनतासित कुनै लिनुदिनु छैन। मात्र पद चाहिएको छ। पारिवारिक लाभ चाहिएको छ। हामी कसरी पार्टी जोगिएला भन्ने चिन्तामा रहँदा उनीहरू कसरी सौदाबाजी गर्न सकिन्छ भन्नेमा छन्। चुक्ली चाप्लुसीका अनेकन् अभ्यासमा सफलता हासिल गरेकाहरूले आफैंलाई मोलतोलमा राखेका छन्। कोही उपेन्द्रको भान्सामा छिरेका छन्, कोही बाबुरामको बैठकमा।
हामीले आदर्श ठानेका केही नेता यसपाली स्खलित भएका देख्नुपर्यो। हामीले नेता मानेकाहरू अहिले काठमाडौंमा डेराडण्डा गरेर आ-आफ्ना कैलाश पर्वतमा मुसे दौडमा छन्। वडा सदस्य जित्ने औकात नभएकाहरू चाप्लुसीकै भरमा केन्द्रीय सदस्य बनेर फर्किरहेका छन्। यी विडम्बनाहरूको साक्षी बस्नु परेको यो समय हाम्रो जीवनकै कष्टकर क्षण बनेको छ।
हामीजस्ता सामान्य कार्यकर्ताको नजरमा उपेन्द्र यादव र बाबुराम भट्टराई कस्ता देखिन्छन्? यही प्रश्न मैले केही युवालाई सोधें। उनीहरूले सुनाए– उपेन्द्र यादवमा केही स्वेच्छाचारिता महसुस गर्यौं। जसपाका मन्त्री सांसद भएका प्रदेशहरूमा एउटा स्वकीय सचिव नियुक्त गर्न पनि उपेन्द्रकै हुकुम पर्खनुपर्ने वातावरण बनाइयो। मधेशी मुलका मन्त्रीहरूले पहाडलाई हेर्ने चश्मा पनि उनले नै लगाइदिएको आभास भयो।
उपेन्द्र यादवमा केही स्वेच्छाचारिता महसुस गर्यौं। बाबुराम भट्टराई आफ्नै किचन क्याबिनेटबाट हारेको पायौं।
लुम्बिनीमा जसपाको भागमा परेका चार मन्त्रालय छन्। भौतिक पूर्वाधार विकास मन्त्री जसपाका छन्। गत आर्थिक वर्षमा पहाडी जिल्ला अर्घाखाँचीका लागि एकदमै आवश्यक केही पूर्वाधार सम्बन्धी योजना माग गर्न केही केन्द्रीय नेताहरूलाई लिएर म पहिलोपटक उनको कार्यकक्षमा गएँ। हामीले अपेक्षा गरेका पाँच वटा योजनामा एउटा पनि परेन। त्यसपछि उक्त मन्त्रालयमा पुनः गइनँ।
यस घटनापछि मलाई महसुस भयो, मधेशी मुलका नेताहरूले पहाडे कार्यकर्तालाई हेर्ने तरिका नै गलत छ। तब अन्य तीन मन्त्रालयमा पनि छिरिनँ। पूर्वाधार मन्त्रालयमा आफ्नो जिल्ला र त्यहाँका जनताका निम्ति गरेको हारगुहारले मलाई जीवनभर लज्जित तुल्याइरहने छ।
अब बाबुराम भट्टराईको कुरा‚ उनी देशको अन्तर्विरोध बुझेका नेता हुन् भन्नेमा शंका छैन। संघीयताको प्रारुप, पहिचानयुक्त संघीयता, सुशासन र समृद्धि लगाययतका कुरा हुन् जसले उनलाई राष्ट्रिय राजनीतिमा अलग नेताको परिचय दिलायो। तर‚ उनी आफ्नै किचन क्याबिनेटबाट हारेका नेता हुन् भन्ने मलाई लाग्छ। उनको भावना उनकै परिवारका सदस्यले पनि आत्मसात् नगरेको भान हुन्छ।
उनीमाथि लाग्दै आएको प्रमुख आरोप यो हो‚ आफू अध्यक्ष बन्नकै लागि नयाँ पार्टी खोलिरहने। उनले उक्त आरोपको खण्डन मिडियामा पटक पटक गर्नु परेको छ। यद्यपि‚ उनको व्यवहारले उक्त आरोपलाई नै बल पुगिरहेको छ। उदाहरणका लागि नयाँ गठन गरिएको दल नेपाल समाजवादी पार्टीमा उनी अध्यक्ष बने। उनले चाहेका भए दोस्रो पुस्तालाई नेतृत्व दिएर युवा पुस्ताको मन जित्न सक्थे। अझ हाँसोलाग्दो कुरा त उनी अध्यक्ष बनेको पार्टीमा श्रीमती उपाध्यक्ष‚ छोरी र ज्वाइँ केन्द्रीय सदस्य छन्।
कुरा स्पष्ट छ, बाबुराम र उपेन्द्रले आफ्नो नेतृत्वको पार्टीलाई परिवारवादमा फसाएका छन्। अब जसपा र नेसपामा यी दुई परिवारको भक्ति नगाइ, चुक्ली र चाप्लुसी नगरी कोही पनि उदाउन सक्ने छैन। आत्मसम्मान बचाएर राजनीति गर्न चाहनेहरूका लागि अब यी दुई पार्टी भरपर्दो बन्न नसक्ने स्पष्ट भइसकेको छ।