छिप्पिँदै गएका गगनहरू
समयमै आँट नगर्ने हो भने अहिले ‘पूर्व प्रधानमन्त्री हराऊँ’ भने जस्तै २०८४ को चुनावमा ‘अयोग्य गगनहरू’ भन्दै छोराछोरी पुस्ताले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्नेछन्।
प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले ‘नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्ने सम्भावना’ जस्तो निकै गम्भीर विषयमा सरकारको जवाफ मागे। विपक्षीमा हुँदा वा अरू वेला पनि निकै चर्को र कडा सुनिने गगन त्यो दिन संसद्मा बोल्दा भने आँखा थोरै झुकेका देखिन्थे।
त्यो उनको स्वाभाविक रूप थिएन। छेउमा बसेका प्रकाशमान सिंह र उनको अनुहारको भावमा खासै फरक थिएन। अझ उनले बढ्दो भ्रष्टाचार र बेथितिको कुरा निकाल्दा ‘विज्ञले भनेको’ भनेर सहारा लिए। (भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।)
सरकारसँग जवाफ त मागे, तर उनकै सभापति प्रधानमन्त्री भएको सरकारले उनलाई जवाफ दिन उपयुक्त ठानेन। अर्थात्, सरकारले उनलाई हेप्यो।
त्यसको पाँच दिनपछि नीतिगत भ्रष्टाचार र बजेटमा भएको चलखेल विवादमा मुछिएका जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेर प्रधानमन्त्रीले गगनलाई ‘दरो’ जवाफ दिए। भलै, संसदीय छानबिन विशेष समितिले शर्मालाई दिएको ‘क्लिन चिट’का आधारमा पुनः अर्थमन्त्री नियुक्त गरिएको थियो।
सम्भवतः प्रधानमन्त्रीको व्यवहारले रन्थनिएका गगन त्यसपछि यो विषयमा चूपचाप बसे। उनको स्वभाव भने त्यस्तो हैन।
त्यो विजयको उत्साह
गत मंसीरमा कांग्रेसको महाधिवेशनबाट गगन सहित विश्वप्रकाश शर्मा र धनराज गुरुङ लगायतले चुनाव जित्दा कांग्रेसमा मात्रै हैन, गैरकांग्रेसी वृत्तमा पनि एक किसिमकाे उत्साह देखिएको थियो। शायद नेपालको पुरानो पार्टीको निराशलाग्दो नेतृत्व फेरिन्छ भन्ने लागेर होला। अझ कांग्रेसमा गगनहरूको नेतृत्व हुन्छ, त्यसको प्रभाव सरकारमा पनि पर्छ भन्ने आश गरेका थिए। अनि भ्रष्टाचार घट्ने र जनताले राहत पाउने विश्वास त थियो नै।
परिवारवाद, नातावाद, आर्थिक लाभ र भ्रष्टाचारमा यो तहसम्म बदनाम हुँदै जानका लागि त उनले पञ्चायत कालभरि आन्दोलन र जेल नगएको भए पनि हुन्थ्यो।
तर, परिणाम पार्टी सञ्चालनमा गगनहरूको प्रभाव परेको देखिएन। पार्टी सभापति शेरबहादुर देउवा निकै हावी देखिन्छन्। नेकपा (माओवादी केन्द्र)मा पुष्पकमल दाहाल जस्तै।
पार्टी निर्णय कार्यान्वयन गराउनु महामन्त्रीको दायित्व हो भनेर जोगिन त सकिएला, तर पदको पूर्ण पालना गर्नु त जागीरेको काम हो। राजनीतिक नेतृत्वले त प्रभावसँगै पार्टीलाई डोर्याउनुपर्छ। कांग्रेसमा त्यो देखिएन र गगनहरू ‘थकित’ जस्तै देखिएका छन्।
पञ्चायतमा गुमेको अवसर!
अहिले गगनहरू ‘थकित’ जस्तै देखिनुमा प्रधानमन्त्री देउवा र उनका सहयात्रीको भूमिका धेरै छ। सरकार र राजनीति देशको उन्नतिका लागि भन्दा पनि गठबन्धनका नेताहरूको स्वार्थ र उनीहरूका आफन्तलाई नियुक्ति र लाभमा घुमिरहेका छन्। प्रधानमन्त्री र उनका सहकर्मी बदनाम हुँदै गएका छन्, भ्रष्टाचार र बेथिति स्थापित हुँदै गएको छ।
यो सबै देख्दा ७६ वर्षीय देउवाले पञ्चायतकालमा ठूलो अवसर गुमाए जस्तो लाग्छ। परिवारवाद, नातावाद, आर्थिक लाभ र भ्रष्टाचारमा यो तहसम्म बदनाम हुँदै जानका लागि त उनले पञ्चायत कालभरि आन्दोलन र जेल नगएको भए पनि हुन्थ्यो। अहिले जस्तो लाभका लागि जोसँग पनि साँठगाठ गरेर सत्ता र पद लिनु थियो भने त २०४६ कुर्नैपर्ने थिएनन्। पञ्चायतमै प्रधानमन्त्री पद सहजै पाउँथे।
२०२८ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेका देउवाले राजासँग सहकार्य गरेको भए युवामै सबै पाउँथे, अहिलेसम्म कुर्नै पर्ने थिएन। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दभन्दा ६ वर्ष मात्रै कान्छा तथा स्व. मरिचमान सिंहभन्दा त चार वर्ष मात्रै कम उमेरका देउवाले पञ्जायतमै अवसर नपाउने भन्ने थिएन।
अहिले उनका कामकाज देख्दा बहुदलीय व्यवस्थासम्म किन कुरेका होलान् भन्ने लाग्न थालेको छ। कम्तीमा पञ्चायत कालका प्रधानमन्त्रीभन्दा बढी बदनामी त हुने थिएन।
युवा कि योग्य र सक्षम नेतृत्व?
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको पूर्व सन्ध्यामा युवा नेतृत्व छनोटको लागि बहस भइरहेको छ। पूर्व प्रधानमन्त्रीहरूको तस्वीर जोडेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। उनीहरूलाई बिदा गरौं भन्ने अभियान चलिरहेको छ। तर, हामीलाई युवा वा पाको हैन, योग्य र सक्षम नेतृत्वको खाँचो छ। उमेरले युवा भए पनि खराब आचारका कारण बदनाम भएका सांसद अहिलेकै संसद्मा धेरै छन।
युवाभन्दा पनि योग्य र सक्षम मान्छेको समाजमा सधै खोजी हुन्छ। अहिले पनि डा. हर्क गुरुङलाई देश र समाजले खोजिरहेको छ। उनको ज्ञान र अभिभावकत्वको खडेरी छ। गणेशराज शर्मा र यदुनाथ खनाल इमान र क्षमताका कारण सम्झिने नाम हुन्।
केदारभक्त माथेमा हुन् वा भेषबहादुर थापा, तीर्थबहादुर श्रेष्ठ हुन् वा पिताम्बर शर्मा, कहींकतै अलमलिंदा समाज सधैं उनीहरूतिरै फर्कन्छ। ९५ वर्ष पुगे पनि भैरव रिसाल युवा जस्तै जोश र जाँगरले लेखिरहेकै छन्। उनीहरूको जस्ताको ताप र सद्भावको सधैं खाँचो छ।
राजनीतिमा पनि पाको उमेरमा नै प्रधानमन्त्री बनेका मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई वेलावेला समाजले सम्झिने गरेकै छ। तर, उनीहरूसँगै संसद् र सरकारमा भएका तत्कालीन युवा सांसद तथा मन्त्री अहिले पनि भ्रष्टाचारीका रूपमा बदनाम छन्।
हाम्रा गगनहरू छिप्पिँदै छन्। उनीहरूले बीपी कोइराला, मदन भण्डारीको त छोडौं, देउवा, केपी शर्मा ओली जतिको आँट गरेको पनि देखिएन।
त्यसैले, उमेरले युवाभन्दा पनि सही नियत र आचारण भएको स्वस्थ र सक्रिय नेताको खाँचो छ। यसको अर्थ, युवाले पर्खेर बस भनेको हैन। धेरै देशमा युवा नेतृत्वमा आइरहँदा पुरानो पुस्ताबाट वाक्क भएको समाजले युवाको नेतृत्व खोज्नु स्वाभाविक हो।
युवा हुँदैमा नेतृत्व पाउनुपर्छ भन्ने पनि हैन। त्यसका लागि त स्वाभाविक रूपमा नेतृत्व क्षमता देखाउनुपर्छ। समयमै अवसरलाई उपयोग गर्न सक्ने क्षमता देखाउनुपर्छ। तर, अहिले युवा भनिएको नेतृत्वले भने खेल त खेलिरहेको छ, तर गोल गर्न सकेको छैन।
नेतृत्व अरूले किस्तीमा राखेर हस्तान्तरण गर्दैन, आफैंले लिने हो। अहिले लाेकप्रिय नबने पनि उदाहरण शेरबहादुर देउवा नै हुन्। पहिलो पटक प्रधानमन्त्री हुँदा उनी ४९ वर्षका थिए। तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग नेतृत्वमा टकराव हुँदा पार्टी नै फोरे। पार्टी एकीकरणपछि पनि खोसेरै नेतृत्व लिएका हुन्।
तर, अहिले युवा भनिएकाहरू अलमलिए जस्तो देखिन्छन्। हाम्रा गगनहरू छिप्पिँदै छन्। उनीहरूले बीपी कोइराला, मदन भण्डारीको त छोडौं, देउवा, केपी शर्मा ओली जतिको आँट गरेको पनि देखिएन। जसले गर्दा उनीहरूको नेतृत्व मात्रै हैन, नियत र क्षमता पनि परीक्षण हुन पाएन। गगनहरू भन्नाले गगन थापा मात्रै होइन, कांग्रेसकै धनराज गुरुङ, विश्वप्रकाश शर्मा, नेकपा (एमाले)का शंकर पोखरेल, रामकुमारी झाँक्री, गोकर्ण विष्ट, माओवादीका वर्षमान पुन लगायत धेरै जना नेता छन्।
गगनहरूले आँट र रणनीति सहित नेतृत्वका लागि अहिले नै आक्रामक नहुने हो भने अर्को पाँचै वर्षमा पनि ‘पाको’ भइसक्नेछन्। देउवा, दाहाल, नेपाल वा ओलीका स्वार्थ पूरा गर्दागर्दै ‘रिटायर्ड’ हुन्छन्।
र, २०८४ को चुनावमा गगनहरूको छोराछोरी पुस्ताले अहिले पूर्व प्रधानमन्त्रीलाई गरे झैैं ‘अयोग्य गगनहरू बाटो छाड’ भन्दै सामाजिक सञ्जालमा तस्वीर शेयर गर्नेछन्। यसको सङ्केत हर्क साङपाङ र बालेन्द्र साहहरूले दिइसकेका छन्।