बौद्ध धर्मावलम्बीको विद्रोह
गौतम बुद्ध जन्मिएको र प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास र विस्तार भएको देशमा वेला वेलामा बौद्ध विद्रोह भएको पाइन्छ। राज्यबाट विद्रोहीहरूको हत्या तथा बौद्ध धर्म अनुशरण गरेकै कारण देश निकाला र जेल सजाय दिइएको पाइन्छ।
हामीले गौरव गर्ने विभिन्न विषयमध्ये गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि हो। लुम्बिनी नेपालमै परेकोमा हामी गौरव गर्छौं। मगधका सम्राट अशोकले ईसा पूर्व २४९ मा लुम्बिनीमा ठड्याएको अशोक स्तम्भ र उत्खननमा फेला परेको बुद्धको जन्म सम्बन्धी सङ्केत शिलाले पनि यसलाई प्रमाणित गरिसकेको छ।
बौद्ध धर्मसँग नेपालको सम्बन्धको जरा गहिरो छ। बौद्ध धर्मसँग नेपालको सम्बन्ध प्राचीनकालदेखि नै भएको एउटा प्रमाण त २०७८ पुस ५ मा ललितपुरको पाटन दरबार र भीमसेन मन्दिरअगाडि ढल खन्ने क्रममा भेटिएको सम्बत् ५३६ मा राजा अंशुबर्माले जारी गरेको शिलालेखमा उल्लेखित वृषदेवले बनाएको बौद्ध चैत्यबारे उल्लेख हुनु पनि एक हो।
किरातकालमा बौद्ध धर्म
कोशलका राजा प्रसेनजीतसँग शाक्य कन्या भनी झुक्याएर एक दाशीपुत्रीको विवाह गराइएको थियो। उनीहरूका छोरा युवराज विडुडवले यो वास्तविकता थाहा पाएर कपिलवस्तुसँग बदला लिने प्रतिज्ञा गरेका थिए। उनले धैरै पटक कपिलवस्तुमाथि आक्रमणको प्रयास गरे।
विडुडव कपिलवस्तुलाई आक्रमण गर्न हिंडिरहेको थाहा पाएपछि बुद्ध बाटो छेकिने गरी उभिए। बुद्धको मान राख्न विडुडवले आक्रमणको योजना स्थगन गरे। दोस्रो पटकको आक्रमण योजनामा पनि बाटो छेकिने गरी बुद्ध उभिदिएपछि स्थगन भयो। तेस्रो पटक भने बुद्ध बाटो छेक्न आएनन्। अन्ततः कोशलको विशाल सेनाका अगाडि कपिलवस्तुको केही लागेन। कपिलवस्तुमा शाक्यहरूको नरसंहार भयो। केही यताउता भागेर गई ज्यान बचाउन सफल भए। यसरी भाग्नेहरू नेपाल उपत्यकासम्म आइपुगेका थिए। कोही पुनः कपिलवस्तुमा बस्न गए। (वसन्त महर्जन, गौतम बुद्ध, सन् २०१०:१०१–१०३)।
विडुडवले कपिलवस्तुका शाक्यहरूको नरसंहार गरिरहेको वेला गौतम बुद्ध जीवनको अन्तिम समयमा धर्म प्रचारको क्रममा श्रावस्तीमा थिए। प्रमुख शिष्य आनन्द बुद्धबाट अनुमति पाएर शाक्य शरणार्थीहरूको खोजीमा नेपालतर्फ आउँदा यहाँ आउने बाटोको विकटतालाई दृष्टिगत गरी यहाँ बरोबर आइरहने भारतीय व्यापारीका साथ आएको र उनीहरूकै साथ फर्केका थिए (बाबुराम आचार्य, नेपालको सांस्कृतिक परम्परा, २०५४:१२४)।
बुद्धका प्रमुख शिष्य भिक्षु आनन्द ईपू ४८३ भन्दा एक डेढ वर्षअघि किरातहरूको शासनकालमा काठमाडौं उपत्यका आएको पाइन्छ।
त्यो समयको चल्तीको सिन्धुली भञ्ज्याङको बाटो जस्तै भए पनि उकालो‚ ओह्रालो, पहाडी ढुङ्गाहरू र यहाँको चिसो हावापानीले गर्दा नेपालबाट फर्किएर श्रावस्तीमा पुग्दा आनन्दका खुट्टा फुटेर छियाछिया भएका थिए। यिनको यहीं दयनीय अवस्था देखेर बुद्धले आपत्ति परेको अवस्थामा पदत्राण पहिरन हुन्छ भनी भिक्षु भिक्षुणीहरूलाई जुत्ता लगाउने अनुमति दिएका थिए (आचार्य, उहीः१२६)।
ईपू ५६३ – ईपू ४८३ को अन्तिम समयतिर कपिलवस्तुको पतन भएको मानिंदा बुद्धको परिनिर्वाण हुनुभन्दा एक डेढ वर्षअघि प्रमुख शिष्य भिक्षु आनन्द काठमाडौं आइपुगेको देखिन्छ।
इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालमा किरातकाल लगभग ८०० वर्ष (ईपू ५५०–ई.सं. २५० सम्म) रहेको उल्लेख गरेका छन् (बाबुराम आचार्य, प्राचीनकालको नेपाल‚ २०६०:६३)। कपिलवस्तुबाट ज्यान जोगाउन भागेका शाक्यहरूको खोजी वा उनीहरूको अवस्था बुझ्न भिक्षु आनन्द ईपू ४८३ भन्दा एक डेढ वर्षअघि मात्र काठमाडौंमा आएको देखिन्छ। त्यस वेला काठमाडौं उपत्यकामा किरातहरूकै शासन थियो भन्ने बुझ्न सकिन्छ।
भारतवर्षमा विभिन्न वंशहरूको शासन चल्दा मौर्यहरूको पतन गराई कुषाणहरूले शासन गरे। कुषाण सम्राट विम कदफिसस्का उत्तराधिकारी सम्राट कनिष्क राज्य विस्तारका क्रममा उत्तरी बिहारसम्म आइपुग्दा त्यहाँका बासिन्दाहरू शरणार्थीका रुपमा ईस्वीको पहिलो शताब्दीमा नेपाल आए। तीमध्ये केही पुरानो थातथलोमा फर्किए, केही भने स्थायी रुपमा यतै बस्न थाले।
यसैताका वैशालीमा लिच्छविहरूको पुनरुत्थान भइरहेको थियो। तीमध्ये केही लिच्छविहरू विदेह अर्थात् मिथिलाको बाटो हुँदै वर्तमान कमला नदीको किनारैकिनार उत्तरतिर लागेर महाभारत पर्वतमाला पार गरी पहाडी प्रदेशहरूमा पस्ने क्रममा वर्तमान काठमाडौंसम्म आइपुगेका थिए। त्यस वेलासम्म काठमाडौं उपत्यकाभित्र आवाद भएर रहेका किरात वर्गका नेवारहरू बौद्ध धर्ममा दीक्षित भइसकेका थिए (आचार्य, उहीः ७९–८०)।
यी तथ्यहरूबाट नेपालमा किरातकालमै बौद्ध धर्म मान्ने परम्परा शुरू भइसकेको देखिन्छ।
लिच्छविकालमा राजधर्म
लिच्छविकालसम्म आइपुग्दा नेपालका राजाहरू बौद्ध धर्मतर्फ अनुरक्त भइसकेको देखिन्छ। त्यस वेला नेपालमा बौद्ध धर्मको व्यापक विस्तार भइसकेको थियो।
लिच्छवि राजा वृषदेव बौद्ध धर्मका अनुयायी थिए। उनले छोरा शंकरदेवलाई पौराणिक सनातन धर्मले दीक्षित तुल्याए पनि परम्परादेखि मान्दै आएको बौद्ध धर्मलाई परित्याग गर्न सकेनन्। वृषदेव जीवनभर बौद्ध धर्मकै अनुयायी भएर बसे। त्यतिखेरसम्म नेपाल राज्यका अधिकांश जनता बौद्ध धर्ममा अनुरक्त भइसकेका थिए (आचार्य, उहीः७७)।
लिच्छविकालमै चिनियाँ यात्रीहरू नेपालकै बाटो भएर बुद्धको जन्मस्थल लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित विभिन्न ठाउँमा भ्रमण गर्थे। चौथो शताब्दीमा फा सियान, सातौं शताब्दीमा इचिङ जस्ता बौद्ध भिक्षुहरूले नेपालकै बाटो गरी यस्तो तीर्थ यात्रा गरेका थिए। फा सियानभन्दा २०० वर्षअघि नै लि ताओ युङ र त्यसपछि सेङ साई र वाई यु चिनले लुम्बिनीको भ्रमण गरेका थिए (वसन्त महर्जन, हिमाल, असोज २०७८:५२)।
आजभोलि बौद्ध स्तुप वा बौद्धनाथ भनिने विशाल चैत्य (खास्ती चैत्य) पनि लिच्छविकालकै बौद्ध स्मारक हो। नेपालको ऐतिहासिक स्रोतको रुपमा रहेको गोपाल राजवंशावलीमा लिच्छवि राजा शिवदेवले विहारभित्र ठूलो चैत्य बनाएको भनी उल्लेख गरिएको छ। राजा अंशुवर्माको मामा पर्ने राजा शिवदेव बौद्ध धर्मबाट प्रभावित भई पछि राजपाट छाडेर भिक्षु भई विहारमा प्रव्रजित जीवन बिताउन गएको कुरा इतिहाससिद्ध छ (वसन्त महर्जन, हिमालखबर, २०७३ मंसीर २३)।
चिनियाँ तीर्थयात्री वाङ युआन् चेले नेपाली राजा (नरेन्द्रदेव) बुद्धमूर्ति भएको मणिबन्ध धारण गरिरहेका हुन्छन् भन्ने उल्लेख गरेका र यिनको राज्यकालको अन्तिम समयमा प्रशारित शिलालेखहरूमा धर्मचक्र तथा मृगशावकजस्ता बौद्ध धर्मका प्रतीकहरू अंकित छन् (आचार्य, उहीः१३७)। यसबाट बौद्ध धर्मसँग उनको अनुराग भएको स्पष्ट हुन्छ।
लिच्छवि राजा नरेन्द्रदेवसँग तिब्बतका राजा श्रङचङ गम्पोको पारिवारिक र राजनीतिक सम्बन्ध थियो। त्यतिखेर नेपालको शासनमा गुप्तहरूको हालीमुहाली थियो। त्यस वेला तिब्बतमा आश्रित नरेन्द्रदेवलाई नेपालको दरबारमा राजाको रुपमा स्थापित गर्न चाहन्थे, श्रङ चङ गम्पो। चीन र भोटको आडमा नरेन्द्रदेव नेपाल आए र रैतीहरूको साथ लिई आक्रमण गरिदिंदा युद्धमा हारी भीमार्जुनदेव र विष्णु गुप्तले राजसिंहासनको बागडोर त्यागे (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ४८–चैत २०३७:१–२)। यसबाट पनि बौद्ध धर्मका लागि लिच्छविकाल स्वर्ण युग थियो।
नेपालमा तामाङ, गुरुङ र नेवारहरूले बौद्ध विद्रोह गरेका थिए। उनीहरूको विद्रोह राज्यले दबाएको इतिहास पाइन्छ।
नेपालमा बौद्ध विद्रोह
बौद्ध धर्मको यति लामो गौरव र विरासत भएको नेपालमा वेला वेला बौद्ध धर्मका अनुयायीहरूले विद्रोह गरेका छन्। राज्यले उनीहरूको विद्रोहलाई दबाएको इतिहास पाइन्छ। यसरी विद्रोह गर्नेहरूमा तामाङ, गुरुङ र नेवारहरू रहेका छन्।
वि.सं. १८५० मा भएको बौद्ध विद्रोहमा सबैभन्दा बढी तामाङहरूले ज्यान गुमाएका थिए। जेठ महीनाको पहिलो सातादेखि शुरू भएको उक्त समय तामाङहरूले नुवाकोट क्षेत्रमा ठूलो विद्रोह गरेका थिए।
एक दुई जना तामाङले आफूलाई ‘अवतारी हुँ’ भन्दै नालदुम पश्चिम र बेत्रावतीपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए। उनीहरूसँग साँगाचोकका लामाले विमति जनाए। तिनको हत्या भयो। यो खबर पाएर उक्त विद्रोह दबाउन सरकारले दुई पल्टन सैनिक पठायो। केही तामाङलाई काटियो।
त्यसको दुई महीनापछि तामाङहरूले अर्को ठूलो विद्रोह गरे। साउन १० गते शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङहरू भेला भए। यसरी विद्रोह हुन पुग्दा विद्रोह दवाउन राज्यले फौज पठाई एक हजार जनाको ज्यान लियो (दिनेशराज पन्त, पूर्णिमा, पूर्णाङ्क ६४–चैत २०४१:२–३)
विद्रोह दमन गरिएपछि त्यहाँका तामाङहरूलाई आ–आफ्नो थातथलोमा रहन थमाइएका पत्रहरू छन्। तीमध्ये वि.सं. १८५० साउन सुदि २ रोज ४ मा जारी गरिएको पत्रमा ‘...आगे. लच्याङका मुःर्वि प्रजापति. तिमीहरूका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरुको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत.....को टहल परापूर्वको रित गर.’ भन्ने परेको छ (महेशराज पन्त, पूर्णिमा, पूर्णाङ्क ७५–मंसीर २०४५:१८)।
यस्तै व्यहोरा भएका रुक्काहरू वि.सं. १८५० श्रावण सुदि ६ मा फोकटपुर, तापेका, सानोगाउँ, धैवुङ, कामचोक, उपल्लो गेर्खु, हिल्पा, भुलुटार–जेवाङ, कविलास, चोग्दे, पुदिकेतिक्पा र चिद्याङका मुर्मी (तामाङ) हरूको नाममा पनि जारी गरिएको थियो (महेश सी. रेग्मी, रेग्मी रिसर्च सेरिज, डिसेम्बर सन् १९८४ :१२९)।
वि.सं. १८५० मा भएको बौद्ध विद्रोहमा लागेकामध्ये कसैलाई सुली हालियो, कसैलाई झुन्ड्याइयो भने कसैलाई काटेर मारियो।
यो विद्रोह बौद्ध विद्रोह थियो। त्यस वेला तामाङहरूले ‘बौद्ध अवतार भया’ भनी विद्रोह गरेका थिए। ती विद्रोहीहरूलाई पक्रेर कारवाही गर्दा कसैलाई सुली हालियो, कसैलाई झुन्ड्याइयो भने कसैलाई काटेर मारियो (प्राचीन नेपाल, सङ्ख्या २४–साउन २०३०:३)।
यसैगरी गोरखा जिल्लामा पनि एक बौद्ध धर्मावलम्बीले यस्तै विद्रोह गरेका थिए। जंगबहादुर राणाको जीवनको अन्तिम समयमा गोरखाका सुकदेव गुरुङले आफूलाई ‘नौ सरकार बौद्ध बादशाह’ घोषणा गरी विद्रोह शुरू गरे। प्रशस्त अनुयायीहरू पनि जम्मा गरेका थिए। सुकदेवले वि.सं. १९३३ मा विद्रोह गरेका थिए। उनी तत्कालै पक्राउ परे। अदालत इटा चपलीमार्फत् फैसला भई जेल परे। उनको १९३३ चैतमा जेलमै मृत्यु भयो।
सुकदेवको मृत्यु सम्बन्धी तथ्य खुल्ने एक लिखत प्रकाशित छ। पत्रमा ‘अदालत इटा चपलीमार्फत नौ सर्कार वौध वादशाह भञा भंन्या मुद्दामा पक्री आई कैद पर्ने गोर्षा बसन्या सुकदेव गुरुं जरोको वेथाले मर्दा फाल्नाके जना २ के ज्याला दिनु भंन्या ३३ साल चैत्रवदी ५ रोज १ को श्री ३ का पूर्जी बमोजीं हस्ते माहाने वलवीर सिं जना १ के २ आनाका दर्ले जम्मा (चार आना)’ भन्ने उल्लेख छ। सम्भवतः उनलाई कडा यातना दिइयो, फलस्वरुप उनी जेलभित्र नै मरे (त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जंगबहादुर, २०४८:१४५)।
सुकदेवको शव फ्याँक्न माहान र बलवीर सिंहलाई ज्यालाका लागि वि.सं. १९३३ चैत वदी ५ आइतबार श्री ३ को आदेश बमोजिम प्रति कामदार दुई आनाको दरले पारिश्रमिक दिइएको व्यहोरा यो लिखतबाट खुल्न आउँछ। मानन्धरले सुकदेवको मृत्यु कडा यातनाका कारण हुनसक्ने अनुमान गरेका छन्।
सुकदेवको मृत्युपछि पनि उनले शुरू गरेका बौद्ध विद्रोह रोकिएन। अर्का विद्रोहीका रुपमा सुपति गुरुङ निस्किए। उनले आफूलाई बौद्ध बादशाह घोषणा गरेका थिए। भर्खरै प्रधानमन्त्री बनेका रणोद्वीपसिंहले सुपतिलाई पक्राउ गर्न आदेश दिए। तत्कालीन कमाण्डर इन् चिफले वि.सं. १९३४ असार वदी १० शनिबार कप्तान रन्धोज अधिकारीलाई लेखेको पत्रमा पक्राउ गर्न गएकाहरूले जाहेर गरेको तथ्य विवरण अनुसार सुपतिलाई पक्राउ गर्न गएकाहरू असफल भए। उनीहरूले गोरखा सातघरदेखि पसी लमजुङ, कास्की, अठारसय खोलासम्म खोज्दा पनि सुपति फेला पर्न सकेनन् (मानन्धर, उहीः१४५)।
सुपतिको साथमा कतिपय सिधासाधा धार्मिक भावनाका रैतीहरू पनि राजीखुसी अनुयायी बनेर सैनिकको रुप लिन लागेका थिए। तत्कालीन श्री ३ महाराजबाट यिनलाई तुरुन्तै पक्राउ गर्न आदेश भए पनि यिनी पक्राउ परेनन्। यिनी भाग्न समर्थ भए (ज्ञानमणि नेपाल, नेपाल निरुपण, २०५५:३४०)।
यसरी सुकदेव र सुपति गुरुङले गोरखामा आफूलाई बौद्ध बादशाह घोषणा गरी विद्रोह गरेको इतिहास छ।
भिक्षुहरूलाई देश निकाला
राणाकालमा बौद्ध धर्म अनुशरण गरेको अपराधमा केही भिक्षुहरूलाई देश निकाला र जेल सजाय दिइएको इतिहास पाइन्छ। देश निकालामा पर्ने भिक्षुहरूमा महाप्रज्ञा र उनका चेला अमृतानन्द थिए। धर्मादित्य धर्माचार्य राज्यको कोपभाजनमा परी थुनामा परेका थिए।
बौद्ध धर्म अनुशरण गरेको आरोपमा राणा शासकले भिक्षु महाप्रज्ञा र उनका चेला अमृतानन्दलाई निकाला र धर्मादित्य धर्माचार्यलाई जेल सजाय दिएको थियो।
तिब्बतको खाम क्षेत्रबाट आएका क्यान्छे लामाको प्रभावले काठमाडौंका श्रेष्ठ थरका नानीकाजी पाल्देन शेर्व (धेलुं बौद्ध ऋषि महाप्रज्ञा) प्रव्रजित भएका थिए। गेरु वस्त्र लगाएर धर्म प्रचार गरेको आरोपमा उनलाई देश निकाला गरियो। उनी कुशिनगर पुगी थेरवादी परम्परा अनुसार प्रव्रजित भए। वि.सं. १९९३ मा बौद्ध धर्म प्रचार गरेको आरोपमा भिक्षु महाप्रज्ञा र उनका शिष्य अमृतानन्दलाई भोजपुर जेलमा कैद गरियो (मुनीन्द्ररत्न बज्राचार्य, गोरखापत्र अनलाइन, २०७८ साउन २३ गते)।
भिक्षु महाप्रज्ञा र अमृतानन्दलाई कैदीका रुपमा भोजपुर पुर्याइनुले त्यहाँ बौद्ध दर्शन र नेपाल भाषाको विजारोपण हुन पुग्यो। उनीहरूकै आगमनले टक्सारमा शाक्यमुनि विहार (१९९३) स्थापना भयो। भिक्षु महाप्रज्ञा र अमृतानन्द सहित स्थानीय उपासक उपासिकाहरूलाई नौ दिन भोजपुर मालअड्डामा थुनेर राखियो। यसपछि महाप्रज्ञा र अमृतानन्दलाई एक महीना धनकुटा जेलमा राखी जोगवनी हुँदै देश निकाला गरियो (विप्लव ढकाल, भोजपुरको वाङ्मय, २०७८:७०७)।
यस्तै, जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) ले कोलकतामा अनागरिका धम्मपालसँगको भेटपछि थेरवादी बौद्ध धर्मको प्रचारमा आफूलाई समर्पित गराएका थिए। उनले काठमाडौं फर्केर धम्मा साहुको कोठामा नेपाल बुद्धोपासक संघ स्थापना गरेका थिए। यस्तै, सन् १९२५ मा बौद्ध धर्म पुनरुत्थान गर्ने उद्देश्यले कोलकतामा बसेर ‘बुद्ध धर्म’ नामको पत्रिका चलाएका थिए। पनि यसको नाम फेरेर ‘वुद्ध धर्म व नेपाल भाषा’ राखे (बज्राचार्य, उही)।
जगतमानलाई छात्रवृत्तिमा पढ्न भनी सरकारले कलकत्ता पठाएको थियो। तर, ‘वुद्ध धर्म व नेपाल भाषा’ पत्रिका चलाउन थालेपछि राणाहरूले छात्रवृत्ति रद्द गरी उनलाई नेपाल फिर्ता बोलाएका थिए (नेपाल भाषाका सहप्राध्यापक राजनलाल जोशीले बताए अनुसार)।
नेपाल फर्र्किपछि उनी भर्खरै स्थापित भएको उद्योग परिषद्मा खरिदार पदमा नियुक्त भएका थिए। तर, उनलाई राजद्रोहको मुद्दामा पक्राउ गरी सिंहदरबारमा राखियो। उनी दिसा गर्न जाँदा पनि खरिदारले लगाउने सुनको ब्याच भएको टोपी लगाउँथे। बिछ्यौनामै बसेर निदाउँथे तर कहिल्यै टोपी फुकाल्दैनथे (सिद्धिचरण श्रेष्ठ, सिद्धिचरणका जेल संस्मरण, २०५२:२०–२१)।
वि.सं. १९९७ को काण्डमा थुनामा पर्नेहरूमध्ये धर्मादित्य धर्माचार्य एक थिए। तर, उनी प्रजा परिषदको सदस्य भने थिएनन्। वि.सं. १९९७ माघ ६ गते फैसला हुँदा सफाइ पाउने १२ जनामध्ये उनी पनि एक थिए (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका, भाग १–२०६२: परिशिष्ट ७:४७)।
गौतम बुद्ध जन्मेको र प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास र विस्तार भएको देशमा वेला वेलामा यस प्रकारको बौद्ध विद्रोह भएको पाइन्छ।