हेटौंडाका सरकारी कार्यालयमा छैन स्यानिटरी प्याड
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका अधिकांश सरकारी कार्यालयमा स्यानिटरी प्याडको व्यवस्था छैन। जसका कारण महिला कर्मचारी र सेवाग्राहीले समस्या झेल्दै आएका छन्।
स्क्रबटाइफसको संक्रमण भएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ की शर्मिला कार्की हेटौंडा अस्पतालमा भर्ना भइन्। भर्ना भएको दोस्रो दिन मध्यरातमा उनी महीनावारी भइन्। उनकी सासुले अस्पतालमा प्याड खोजिन् तर पाइनन्। अस्पतालको फार्मेसी पनि सकिएको भनेपछि उनी बजार निस्कनुपर्ने भयो। तर, मध्यरात बजारका मेडिकलहरू बन्द रहने भएकाले उनी फर्किइन्।
शर्मिलालाई प्याड चाहिएको थियो। त्यसैले उनले सासुलाई सुत्केरी वार्डमा जान सुझाइन्। सुत्केरीका आफन्तले किनेर ल्याएको एउटा प्याड दिए। त्यसले शर्मिलाको समस्या केही घण्टाका लागि टर्यो।
दैनिक करीब ८०० बिरामीले सेवा लिने हेटौंडा अस्पतालमा स्यानिटरी प्याडको निःशुल्क व्यवस्था छैन। ओपीडीमा आउने बिरामीलाई तत्काल प्याड चाहिए स्वास्थ्य जाँचका लागि बसेको लाइन छोडेर किन्न दौडिनुपर्ने बाध्यता छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईं सरकारले निःशुल्क प्रदान गर्ने औषधि नै अभाव रहेको अस्पतालमा स्यानिटरी प्याडको नहुनु सामान्य भएको बताउँछन्। तर, सेवा सुविधा थप्दै गएकाले त्यो समस्या पनि समाधान हुने उनको भनाइ छ। उनी भन्छन्, “सेवा सुविधाको विस्तार गर्दैछौं, यी समस्या पनि बिस्तारै सम्बोधन हुने आशा गरौं।”
यस्तो समस्या हेटौंडा अस्पतालमा मात्र होइन, यहाँका सरकारी कार्यालयहरूमा पनि छ। नक्शा पासका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यालय पुगेकी वडा नं १३ की कोपिला लामाले स्यानिटरी प्याड फेर्नकै लागि तत्काल बजार जानु परेका बताइन्।
“नगरपालिका आइसकेकी थिएँ, फेरि रिक्सा चढेर बजार फर्केर गएँ, प्याड ल्याएँ अनि फेरेर लाइनमा बसें,” उनले भनिन्, “कामतिर लागौं, प्याड फेर्न बितिसकेको छ, प्याड फेर्नतिर लागौं न नगरपालिकामा प्याड उपलब्ध छ न शौचालयमा प्याड व्यवस्थापन गर्ने ठाउँ नै।” आफूसँगै आएका दाजुभाइले काम सकेर फर्कंदा आफूले भने प्याड किन्ने, फेर्ने र पुरानो व्यवस्थापन गर्ने काम मात्र सकेकेको कोपिलाले सुनाइन्।
हेटौंडा–१७ की सविता मल्ल उपमहानगरको मेयर महिला भए पनि महिलाको अप्ठ्यारालाई चासो नदिएको गुनारो गर्छिन्। “उपमहानगरपालिका प्रमुख महिला नै हुनुहुन्छ, यति त उहाँले चासो दिनुपर्ने हो नि, हामीले सम्झाउनुपर्ने कुरा हो र?” उनी भन्छिन्, “घरदेखि यहाँ आइपुग्दा प्याड फेर्ने बेला भइसक्छ, किनेर फेरेर अनि लाइनमा बस्नुपर्छ।”
उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीका लागि स्यानिटरी प्याडको व्यवस्था छैन। आफैंले ल्याए पनि प्याड फेर्न सहज नभएको मल्लको गुनासो छ। उनी भन्छिन्, “आफैंले ल्याएको प्याड फेर्दा पनि कहाँ फाल्ने, महिला शौचालयमा स्यानिटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नै छैन।”
कार्यालयकै कर्मचारीमा पनि सेवामा समानता नभएको एक कर्मचारीले गुनासो गरिन्। मेयरको सचिवालय वा स्वास्थ्य शाखामा पहुँच पुग्ने कर्मचारीले मागेर सेवा लिने तर त्यहाँसम्म पहुँच नहुनेले नपाउने उनको भनाइ छ। “माग्दा पनि सहजै पाइँदैन। समस्या पर्दा कुरा मिल्ने साथीसँग भए माग्ने हो, नत्र बजार निस्केर किन्ने हो,” एक कार्यालय सहयोगीले भनिन्, “आपत परेर किन्न बाहिर जान पनि कार्यालयमा खोजी भइहाल्ला कि भनेर डराउनुपर्छ।”
कार्यालयको आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाईंले करार र ज्यालादारी कर्मचारी साथै सेवाग्राहीलाई समस्या भएको भन्ने केहीअघि गुनासो आए पनि पछिल्लो समय केही थाहा नभएको बताउँछिन्।
“करार तथा ज्यालादारी कर्मचारी र सेवाग्राहीलाई समस्या भयो भन्ने कुरा चाहिँ मसम्म पनि आएको थियो अलि अघितिर, तर हाल के छ थाहा छैन,” उनी भन्छिन्, “मैले मेरो पहुँचको सदुपयोग गर्छु, एउटा दिनुस् भन्छु लिन्छु, साथीहरू के गर्नुहुन्छ थाहा छैन।”
मेयरको सचिवालयकी रुपा बिडारी भने कर्मचारी र सेवाग्राहीलाई निःशुल्क स्यानिटरी प्याड दिने गरिएको बताउँछिन्। उनी भन्छिन्, “थाहा भएकाहरूले माग्छन्, माग्नेलाई दिने गरिएको छ।”
उच्च अदालत पाटन हेटौंडा इजलासकी नायब सुब्बा तीला दुर्गा ढकाल कार्यालयमा स्यानिटरी प्याडको व्यवस्था नहुँदा समस्या झेल्दै आएको बताउँछिन्। दुई दर्जनभन्दा बढी महिला कर्मचारी रहेको ढकाल बताइन्।
“बोक्न बिर्सेको दिन बेञ्चभरि लाग्छ, किन्न जाउँ पसल टाढा छ, सेवाग्राहीको चापमा निस्केर हिंड्न पनि मिलेन, अफिसमा छैन, फेर्न नपाउँदा धेरै पटक बिजोक धेरै भएको छु,” उन गुनासो गरिन्, “कर्मचारीको बैठकमा पटक पटक कुरा उठाएको छु तर सुनुवाइ नै भएको छैन। कर्मचारीलाई नै छैन, सेवाग्राहीका लागि झन् के हुनु!”
अधिवक्ता अप्सरा बस्नेतले पनि महीनावारी भएकाले वेला अदालत जाँदा समस्या भोगेको बताउँछिन्। “घरैमा हुँदा महीनावारी भएको भए त फेर्नका लागि झोलामा बोकेर आउने हो, ठ्याक्कै समय नभइकन महीनावारी भइदियो भने चाहिँ झोलामा पनि हुँदैन, किन्न निस्कने फुर्सद पनि हुँदैन अनि ज्यादै समस्या हुन्छ,” उनले सुनाइन्, “स्यानिटरी प्याड भनेको स्वास्थ्य सामग्री नै हो, अत्यावश्यकभित्र राखौं भन्ने बुझाइ नहुँदा समस्या भोग्नु परेको छ।”
जिल्ला अदालत मकवानपुरमा सेवाका लागि पुगेकी सिन्धुलीकी सम्झना कायस्थले पनि स्यानिटरी प्याड खोज्दै बजारसम्म पुग्नु परेको दुखेसो सुनाइन्। “म सिन्धुलीदेखि आएको मान्छे हेटौंडा बजारमा कता मडिकल छ मेसो पाइनँ, झण्डै एक घण्टा समय खर्चेर प्याड खोजें,” उनले सुनाइन्, “शौचालयमा प्याडको व्यवस्थापन गर्ने ठाउँ पनि रहेनछ।”
अदालत परिसरमा प्राथमिक स्वास्थ्य सामग्रीको बक्स राखेर औषधिको जोहो गरे पनि स्यानिटरी प्याडबारे ध्यान नपुगेको जिल्ला अदालतका प्रमुख स्रेस्तेदार तीर्थराज भट्टराइले स्वीकारे।
मालपोत कार्यालय मकवानपुरमा पनि प्याडको व्यवस्था छैन। जसका कारण महीनावारी भए काम नसकिंदै घर फर्किनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरू बताउँछन्। राक्सिराङ गाउँपालिका–३ की कल्पना गोले पनि काम नसकिंदै घर फर्किनेमध्येमा एक हुन्।
“उहाँको काम आजै सकिन्थ्यो, तर महीनावारी भएको कारण समस्या भएपछि आफैं भोलि आउँछु भनेर फर्किनुभयो,” लेखापढीमा सहयोग गरेकी रञ्जिता विष्टले सुनाइन्, “हामी पनि महीनावारी हुँदा आधा दिनमै काम छोडेर घर जान्छौं। यस्तो त सामान्य हो यहाँका लागि।”
बागमती प्रदेश लोक सेवा आयोग कार्यालयमा पनि महिला कर्मचारी वा सेवाग्राही कसैलाई पनि स्यानिटरी प्याडको व्यवस्था नभएको नायब सुब्बा नेश्मा पौडेल बताउँछिन्। उनी भन्छिन्, “नियमित झोलामा बोक्ने हो, कहिले आफूलाई चाहिन्छ, कहिले साथीलाई आपत पर्दा काम लाग्छ।”
सेवाग्राहीको चाप हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि स्यानिटरी प्याडको सुविधा छैन। जसका कारण महिला प्रहरीहरूले समेत समस्या खेप्दै आएका छन्।
सेवाग्राहीको धेरै चाप हुने नापी कार्यालय, प्रदेश सरकारको विभिन्न मान्त्रालयहरूमा पनि स्यानिटरी प्याडको व्यवस्था छैन। जसले सहज सेवा प्राप्तिमा समस्या भएको महिलाहरूको गुनासो छ। नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ। यस्तै, धारा ३५ (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने उल्लेख भए पनि कार्यान्वय नभएको सरोकारवालाहरूको गुनासो छ।
सेवा प्रदायक संस्था तथा कार्यालयमा महिलाका लागि आधारभूत सेवा व्यवस्था नहुनु विभेदकै रुपमा लिन सकिने लेखक तथा मर्यादीत महीनावारी अभियन्ता राधा पौडेल बताउँछिन्। महीनावारीकै कारण महिलाको स्वाभिमान र मर्यादामा असर पर्न नुहने उनको भनाइ छ।
विद्यालयमा प्याड नष्ट गर्न समस्या
सेनटरी प्याड नकुहिने र सहजै नजल्ने भएकाले समस्या हुने गरेको छ। विद्यालयहरूमा प्रयोग गरिएको स्यानिटरी प्याड नष्ट गर्ने मशिन व्यवस्थापन छैन। केही विद्यालयले प्याड नष्ट गर्न छात्रा शौचालयको पछिल्लो भागमा चेम्बर बनाएका छन्। चेम्बर भरिएपछि केमिकल प्रयोग गरेर नष्ट गरिन्छ। तर, प्रायः विद्यालयमा बाल्टीलगायतमा भाँडामा संकलन गरिंदै आइएको छ। जसलाई नष्ट गर्न लामो समय लगाएर, मट्टितेललगायत प्रज्वलनशील पदार्थ राखेर जलाइन्छ । जुन वातावरणीय दृष्टिले स्वस्थ्यकर नभएको जानकारहरू बताउँछन्।
हेटौंडा–१३ स्थित प्रतिभा आधारभूत विद्यालयका अध्यक्ष तेजबहादुर थिङ प्याड नष्ट गर्न समस्या भएको बताउँछन्। उनी भन्छन्, “पहिले निःशुल्क प्याडका लागि अनुरोध गरियो, अहिले नष्ट गर्ने उपकरण आवश्यक भएको छ।”
प्याड नष्ट गर्ने मशिन खरीदका लागि साढे दुई लाख रुपैयाँसम्म पर्ने भएकाले सबै विद्यालयलाई उपलब्ध गर्न सक्ने अवस्था नभएको हेटौंडा उपमहानगरपालिका विपद् प्रतिकार्य फोहोरमैला व्यवस्थापन तथा वातावरण शाखाका प्रमुख शान्ति विश्वकर्माले बताउँछिन्। उनका अनुसार, ६ वटा विद्यालयलाई उक्त मशिन उपलब्ध गराएको छ।
प्याडमा कमिशन
मकवानपुरको बकैया गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा स्यानिटरी प्याड खरीदका क्रममा आर्थिक हिनामिना गरिएको पाइएको छ। गाउँपालिकाले विद्यालयका लागि प्याड खरीद गर्दा चार गुणा बढी मूल्य लगाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
प्रतिपिस १० रुपैयाँ पाउने ४० रुपैयाँमा खरीद गरेको भनी महालेखाले प्रश्न गरेको छ।