भारतसँग बिजुली व्यापारमा ११ अर्ब ५७ करोड घाटा, प्राधिकरणको नाफा १६ अर्ब नाघ्यो
आन्तरिक विद्युत् उत्पादन पर्याप्त बढे पनि मुलुकले बिजुलीको वैदेशिक व्यापारमा ठूलो घाटा खेपिरहेको देखिएको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १५ अर्ब ४५ करोड मूल्यको विद्युत् आयात गरे पनि निर्यात तीन अर्ब ८८ करोडमा सीमित रहेको छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा नेपालले बिजुलीको बाह्य व्यापारमा ११ अर्ब ५७ करोड घाटा ब्यहोरेको छ।
वर्षायाममा नेपालले कम्तीमा ३६४ मेगावाट बिजुली भारततर्फ पठाइरहेको छ। जबकि, हिउँदको आन्तरिक विद्युत् माग थेग्न भारतबाटै बिजुली आयात गर्नुपर्छ। यही असन्तुलनका कारण नेपालले विद्युत्को व्यापारमा अझै ठूलो रकम गुमाइरहेको देखिएको हो।
प्राधिकरणका अनुसार, बितेको वर्ष नेपालले भारतलाई ४९ करोड ३० लाख युनिट (४९३ गिगावाट आवर) विद्युत् निकासी गरेको छ। जबकि, नेपालले भारतबाट एक अर्ब ५४ करोड ३० लाख युनिट (१५४३ गिगावाट आवर) विद्युत् आयात गरेको छ।
नेपालले भारततर्फ निकासी गरेको विद्युत्को औसत मूल्य प्रति युनिट सात रुपैयाँ ८७ पैसा छ। आयात गरेको विद्युत्को सरदर मूल्य प्रति युनिट सात रुपैयाँ ५० पैसा छ।
यद्यपि, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायतका विद्युत् गृहबाट उत्पादन बढेसँगै भारतसँगको विद्युत् व्यापारको असन्तुलन भने कम भएर गएको छ। आर्थिक वर्ष २०७७/७८ मा नेपालले २१ अर्ब ८२ करोड मूल्यको दुई अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरेको थियो। त्यो वर्ष निर्यात भने चार करोड ४० लाख युनिटमा सीमित थियो।
एकै वर्षको बीचमा विद्युत् आयात ४५ प्रतिशतले घटेको विद्युत् प्राधिकरणले जनाएको छ। प्रणालीमा उपलब्ध उर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षबाट आयातभन्दा निर्यात बढी हुने बताएका छन्। अहिले नेपालमा खपत गरी जगेडा भएको ३६४ मेगावाटदेखि करीब चार सय मेगावाटसम्म विद्युत् दैनिक भारततर्फ निर्यात भइरहेको छ।
गत वर्ष देशभित्र विद्युत्को आन्तरिक खपत समेत २१.२८ प्रतिशतले बढेको छ। २०७८/७९ मा विद्युत् पिक डिमान्ड (उच्च माग) एक हजार ७४७ मेगावाट पुगेको छ। विद्युत् प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।
माथिल्लो तामाकोशी सहितका आयोजनाबाट उत्पादन बढेसँगै प्राधिकरणको वार्षिक नाफा पनि करीब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको प्राधिकरणले २०७८/७९ मा नाफा रकम १६ अर्ब नौ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। योसँगै सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो।
गत वर्ष प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत् महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करीब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत् बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो।
गत वर्ष विद्युत्् चुहावट १५.३८ प्रतिशतमा झरेको छ। विद्युत् प्रणालीमा आव २०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएको थियो। विद्युत् चुहावट आर्थिक वर्ष २०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो। चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा १.८० प्रतिशत विन्दुले घटाएको प्राधिकरणको दाबी छ।
चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणले जनाएको छ।