कालिज: व्यवसाय बढ्दै, छैन मापदण्ड र नियमन
कोरोनाभाइरस महामारीका वेला माग बढेपछि केहीले जंगलमा पालिने कालिजलाई फार्ममा पाल्ने योजना बनाए। विस्तारै कालिज पालन देशैभरि फैलिए पनि व्यावसायिक र दिगो हुन सकेको छैन।
भक्तपुरको सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रोसेन्टरका आशिष उपाध्याय नीतिगत मापदण्डको अभावमा कालिज पालनले व्यवसायिक फड्को मार्न नसकेको बताउँछन्। यसको एउटा कारण त कालिज पालनलाई सोख, सहायक व्यवसाय वा मौसमी काममा मात्र हेरिएको छ। “हामीले व्यवसायिक रुपमा काम गरिरहेका छौं, तर अधिकांशले घरको कौसीमा ४०-५० वटा पालेर पनि काम गरिरहेका छन्,” उपाध्याय भन्छन्।
पाँच वर्षअघि तीन साथीसँग व्यवसाय थाल्दा उनले चेक रिपब्लिकबाट अण्डा मगाए। ती अण्डाबाट चल्ला उत्पादन गर्दा प्रति चल्ला दुई हजार रुपैयाँ भन्दा बढी लगानी लाग्यो। चेक रिपब्लिकबाट ल्याएका चार हजार अण्डाबाट चार सय मात्र चल्ला भए। तीनमा पनि आधा जतिलाई जोगाउन सकिएन। “त्यतिखेर झण्डै ३० लाख घाटा भयो,” उपाध्याय भन्छन्, “अनि साथीहरू अरू व्यवसायमा लागे।”
सात रोपनीमा फैलिएको उनको फार्ममा एक हजार जति कालिजका चल्ला छन्। कतारमा ११ वर्ष काम गरेर फर्किएका उनलाई कालिज पालनमा राम्रै होला भन्ने लागेको छ। चल्ला हुर्किंदै छन्।
पोखराको तुल्सीकुञ्ज इको एन्ड वाइल्ड भिलेजका ध्रुव थापाले भने फ्रान्सबाट अण्डा ल्याएर कालिज पालन थाले। उनको फार्ममा रेस्टुरेन्ट, स्वीमिङ पुल पनि छ। विदेशीसँग लिएको तालिमले उनले कालिज पाल्ने तरिका थाहा पाए। शुरूआतमा १० रोपनीमा कालिज पालेका थिए। तर, ती कालिजलाई जंगलबाट आएको बाघले खाइदिएपछि झण्डै ३० लाख घाटा भएको उनी सुनाउँछन्।
एक सयवटा चल्ला मर्दा मात्र बीमा दाबी गर्न पाइने हुँदा अहिलेसम्म कालिजको बिमा नगरिएको उनी बताउँछन्। हाल २५ रोपनीमा उनले १० हजार कालिज पालेका छन्। थापा भन्छन्, “अहिले कालिज पाल्ने धेरै छन्। तर, बजार नहुँदा अबको एक-दुई वर्षमा धेरै कालिज पालक हराउँछन्।”
इन्टरनेटमा हेर्दै कालिज पाल्न हौसिएका दाङको तुलसीपुरका निर्मल नेपालले शुरूमा त चल्ला बचाउनै सकेनन्। उनले बेल्जियमबाट अण्डा झिकाउँदा एउटा चल्लाकै झण्डै दुई हजार पर्न गयो। त्यस हिसाबले एक हजार चल्लाको मूल्य २० लाख रुपैयाँ पर्यो। सबै हिसाब गर्दा एक करोड जति लगानी भयो। कोरलिएका हजार चल्लामा आधा जति मरे। “शुरूमा अनुभव नहुँदा चिसोका कारण पनि धेरै चल्ला मरे,” उनी भन्छन्।
कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार, देशभर हाँस लगायत विभिन्न चराचुरुङ्गी पाल्ने संस्था सात हजार ९९० छन्। जसमा चारवटा फार्म कालिज पाल्ने उद्देश्यले नै खोलिएका छन्।
त्यस्तै, घरेलु तथा साना उद्योग विभागका अनुसार काठमाडौंमा एक हजार ९९१ वटा कृषि संस्थामा दुईवटा कालिजकै नाममा छन्। कतिपयले कृषि संस्थाले चराचुरुङ्गी पालन भनेर कालिज पालेका छन्। कालिज पालनकै लागि भक्तपुरमा १२ वटा फार्म दर्ता छन्।
बजारको छैन भर
निर्मलले कालिज फार्म खोलेको चार वर्ष भयो। साँढे दुई बिघा जमिनमा १० हजार कालिज छन्। मूल्य घटेपछि उनले चल्ला बेच्न छाडे। पहिले एकदिने चल्ला एक हजार पाँच सय रुपैयाँमा बिक्री हुन्थ्यो, अहिले दुई सयमा पनि बिक्री हुन गाह्रो छ। “फेरि चल्ला किनेर लानेहरूले आफैं उत्पादन गर्न थाले। अनि चल्लाको माग पनि घट्यो, मूल्य पनि,” उनी भन्छन्, “गत वर्षसम्म पूर्वमा सिन्धुली, फिदिम, पश्चिममा डोटी, रारा, मुगसम्म चल्लाको माग थियो। अहिले बजार दाङमा सीमित भएको छ। यो वर्ष त चल्ला बिक्री नै भएनन्।”
पञ्चकन्या कालिज फार्म भक्तपुरका सुशील न्यौपाने पनि बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भएको बताउँछन्। दुई वर्षअघि साथीले गरेको देखेर उनले कालिज पालन शुरू गरेका थिए। उनीसँग हाल एक हजार दुई सय कालिज छन्।
व्यवसायीका अनुसार नेपालमा रिंगनेक (घाँटीमा गोलो घेरा हुने) प्रजातिको कालिज पालिन्छ, जसको उपप्रजाति सात वटा छ। यसले दानाभन्दा माटो, उडेको किरा, घाँसपात, किराफट्याङग्रा खान्छ। चल्ला अवस्थामा अत्याधिक पौष्टिक दाना, आहार र स्याहार चाहिन्छ। यसलाई कुखुराझैं पाल्न सकिँदैन।
उड्ने ठाउँ चाहिन्छ, तर खुला ठाउँमा छोड्दा जंगलमा जाने भएकाले तारबार सहित आकाशे जालीको व्यवस्था गर्नुपर्छ। यसलाई पाल्न फराकिलो ठाउँ चाहिन्छ भने साथमा रुखविरुवा, झाडी लगाएर प्राकृतिक तरिकाले पाल्नुपर्छ। हाल चल्लामा धेरै लगानी नपरे पनि पूर्वाधारमा खर्च हुन्छ। एकचोटी तारजाली गर्दा आठ-नौ वर्ष टिक्छ।
कालिजका भाले ६ महीनामा बिक्रीयोग्य हुन्छन्। स्वस्थ कालिजको तौल दुई केजीसम्म हुन्छ। पोथीले नौ-दश महीना पुगेपछि अण्डा पार्न थाल्छ। बजारमा कालिजको भाले दुई हजारदेखि दुई हजार पाँच सय र पोथी एक हजारदेखि एक हजार पाँच सय रुपैयाँमा पाइन्छ।
अहिले नेपाली बजारमा रिंग नेक प्रजातिमा पर्ने क्रस अमेरिकन, कमन ब्ल्याकउड, मंगोलियन, चाइनिज र रिंग नेकमा नर्पने रिबिल, अमेरिकन ब्लु लगायत प्रजातिका कालिज पाइन्छ।
परीक्षणमा कालिज पालन
नेपालमा न कालिज पालन तालिम दिने निकाय छन्न त यस सम्बन्धी विज्ञ नै। त्यसैले पनि केही समस्या आउँदा सहयोग पाउन गाह्रो छ।
कतिपय पशु चिकित्सकले समेत कालिज पालकसँगै सल्लाह गर्छन्। उनीहरूले कुखुरा उपचार गरे जसरी नै कालिजको उपचार गर्छन्। कालिजलाई कस्तो दाना चाहिन्छ, कति प्रोटिन चाहिन्छ, कस्तो उपचार चाहिन्छ भन्ने जानेको विज्ञ छैनन्।
व्यवसाय नयाँ र सहयोग गर्ने निकाय नहुँदा सबै जोखिम आफैंले उठाउनुपर्ने बाध्यता व्यवसायीलाई छ। कालिज पालन गर्नेहरुले सिक्नै, जान्दै गरेको अवस्था छ। “कालिजमा जोखिम धेरै रहेछ,” कल्पित वाइल्ड लाइफका आशिष भन्छन्। उनका अनुसार कालिजको चल्लालाई चाहिने आहारा बजारमा छैन। कुखुराको दाना मात्र छ। कालिजलाई चाहिने खुराक र प्रोटिन अनुसारको दाना उपलब्ध नभएको उनी गुनासो गर्छन्।
कालिज पालनका लागि कस्तो जमिन चाहिन्छ? कस्तो ठाउँ उपयुक्त हुन्छ? वासस्थान कस्तो हुनुपर्छ? खुल्ला आकाश चाहिन्छ की? छानो लगाउने हो की? उपचार कसरी गर्ने? लगायतका कुरा बताउने विज्ञ छैनन्।
१८ वर्ष इटाली बसेर फर्किएका बाबुराम श्रेष्ठले कालिज पालेको धेरै भयो। उनी नेपालमा लहलहैमा काम गर्ने प्रवृत्ति देखिएको बताउँछन्। अरूको कुरा वा लहैलहैमा काम गर्न नहुने उनको सुझाव छ। श्रेष्ठ भन्छन्, “ज्ञान लिएर काम गर्नुपर्छ।”
फ्रान्समा तीन महीना चल्ला कोरल्ने र इटालीमा चल्ला स्याहार्ने तालिम लिएका उनी आफू पनि सिक्ने क्रममै रहेको बताउँछन्। यहाँ त्यस्तो तालिमको वातावरण नभएको उनी बताउँछन्। “कालिजको औषधि पनि पाइँदैन, दाना पनि पाइँदैन,” उनको गुनासो छ।
उनले शुरूआतमा फ्रान्सबाट अण्डा ल्याए। पोहोर साल पनि फ्रान्सबाटै अण्डा ल्याए। यो वर्ष बुटवलमा अत्यधिक गर्मी भएकाले राम्रो चल्ला हुन सकेन। कालिज पालन नेपालमा चिनाएकाले यसलाई निरन्तरता दिइरहेको उनी बताउँछन्।
“अरुले धेरै कमायो भन्छन्, तर अझै पनि घाटा छ। नेपालमा कालिजलाई आफूले चिनाएकाले छोड्नुहुन्न भनेर लागिरहेको छु। अहिले पाँच सय जनाले कालिज पाल्दा अरू दुई जना पनि रोजगार हुनुभएको छ। यसलाई उपलब्धि ठानेको छु,” श्रेष्ठ भन्छन्।
कुनै वेला कालिजको बजार मूल्य प्रति केजी तीन हजार पाँच सय रुपैयाँसम्म थियो। अहिले दुई हजार पाँच सय रुपैयाँभन्दा कममै पाइन्छ। उत्पादनकर्ता धेरै भएकाले उत्पादन बढ्दो छ, तर बजार सानो छ। श्रेष्ठ भन्छन्, “पाल्न त जहाँ लगेर पाले पनि भयो, तर बेच्ने त बजारमै हो। अहिले धेरै घाटामै छन्। कतिपयले पाल्नै छोडे। पाल्ने तरिका, बजारको ज्ञान नहुँदा धेरै समस्या छ।”
त्यसैले उनले आफ्नै ढंगमा दाना बनाए। “धेरैले कुखुराको दाना खुवाएर, जे पायो त्यही खुवाएर पाल्नुभएको छ। त्यसो गर्दा त ब्रोइलर भइहाल्छ नि,” श्रेष्ठ भन्छन्।
त्यसो गर्दा गुणस्तरमा सम्झौता भएको उनी बताउँछन्। उनी भन्छन्, “गुणस्तर मापदण्ड छैन। जसले जे गरे पनि भएको छ। कसरी पालिएको छ भन्ने ग्राहकले थाहै पाउँदैनन्।”
एक सय वटा कालिज पाल्न एक रोपनी जग्गा भए पुग्छ। जग्गाबाहेक पूर्वाधार बनाउन, चल्ला, दानाको खर्च गर्दा, प्रतिगोटा दुई सयका दरले २० हजार रुपैयाँ चल्लालाई लाग्छ। ठाउँ हेरी झण्डै चारदेखि ६ लाख रुपैयाँमा अन्य पूर्वाधार बन्छ। शुरूमै धेरै पाल्नुभन्दा थोरैथोरै गरेर सिक्ने सुझाव श्रेष्ठको छ। उनी भन्छन्, “शुरूदेखि नै कालिज भनेको सम्भ्रान्तले पाल्ने, हुनेखानेले गर्ने भनेर हौवा फिँजाइयो। जसले पनि गर्न सक्छ, सानो स्केलमा गर्दा थोरै लगानी पर्छ।”
सरकारको बेवास्ता
श्रेष्ठ कालिज पालन अनुमति लिने आफू पहिलो व्यवसायी भएको बताउँन्। २०७४ मा फर्म दर्ता गर्नुअघि नै कालिज नेपाल भित्रिएको भए पनि उनलाई व्यवसायको अनुमति लिन झण्डै नौ महीना लाग्यो। त्यतिखेर सरकारका सबै निकाय कालिज पालनबारे अनभिज्ञ भएकाले अनुमति लिन धेरै समय लागेको उनी बताउँछन्।
उनका अनुसार खासगरी युरोप, अमेरिकातिर पाइने 'रिंगनेक' प्रजातिको कालिज मात्र पाल्ने अनुमति पाइयो। श्रेष्ठ भन्छन्, “हामीले अनुमति लिँदा ज्यूँदो बेच्न नपाइने, ज्यूँदो जंगलमा छोड्न नपाइने शर्त थियो। चल्ला फार्मलाई मात्र बेच्न पाइन्थ्यो।”
कालिज पालन र व्यावसायलाई नियमन गर्ने निकाय नभएकाले समस्या हुने गरेको उनी बताउँछन्। यसलाई उद्योगको रुपमा लिएर दर्ता गरिए पनि कालिज पालनकै लागि वन विभाग, पशु सेवा विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिनेहरू कम छन्। अधिवक्ता कुमार पौडेल भन्सारबाट आयात गरेर वन्यजन्तु पाल्दा कानूनी रुपले पालेको जस्तो देखिए पनि सम्बन्धित वन कार्यालय र निकुञ्जबाट अनुमति नहुँदा गैरकानूनी हुने बताउँछन्। पौडेल भन्छन्, “जंगली चरा पाल्नै नपाइने भन्ने होइन, तर अनुमति आवश्यक हुन्छ। विदेशबाट ल्याएको भए पनि नयाँ प्रजातिको चरा ल्याउन पनि अनुमति चाहिन्छ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्न वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाको अनुमति चाहिने व्यवस्था गरेको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७३ मा संरक्षित वन्यजन्तुको शिकार, पालन गर्न नपाइने तथा अन्य वन्यजन्तुको पालन पोषण गर्न अनुमति चाहिने र त्यसले नेपालमा रहेका दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपर्ने विश्वस्त हुनुपर्ने उल्लेख छ।
यसमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा उल्लेखित वन्यजन्तु पालन गर्न अनिवार्य रुपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अनुमति आवश्यक हुने व्यवस्था गरिएको छ। अधिवक्ता पौडेल चरा पालन गर्नेले कहाँबाट, कस्तो प्रकारको अनुमति पाउनुपर्ने हो, त्योबारे कानून पालना गराउने निकायहरू समेत प्रष्ट नभएकोले समस्या भएको बताउँछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०७६ मा व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गर्न चाहने व्यक्ति वा संस्थाले व्यवसायिक योजना तथा विस्तृत कार्ययोजना तयार गरी विभाग समक्ष निवेदन दिनुपर्ने उल्लेख छ। त्यसपछि विभागका उपमहानिर्देशक संयोजक रहेको प्राविधिक समितिले मूल्याङ्कन गरी अनुमतिका लागि सिफारिश गरिने र त्यसकै आधारमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई वन्यजन्तु पालन तथा प्रजननको अनुमति दिने वा नदिने निर्णय गर्नेछ।
विभागले नै शुल्क लिएर बीउ प्राणी (सीड एनिमल) उपलब्ध गराउन सक्ने, अनुमति प्राप्त व्यक्ति वा संस्थाले संकटापन्न वन्यजन्तु बाहेकका अन्य वन्यजन्तु विदेशबाट आयात गर्नुपर्ने भएमा विभागको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ।
यस्तै, वन्यजन्तु वा तिनका अङ्ग वा अङ्गबाट तयार गरिएका वस्तु प्रयोजन खुलाई उपयोग, बिक्री वा निकासी समेत गर्न सकिने उल्लेख छ। यसको विवरण मासिक रुपमा विभाग समक्ष पेश गर्नुपर्ने, उत्पादित वन्यजन्तुको विवरण अनुमतिप्राप्त व्यक्ति वा संस्थाले विभागमा पेश गर्नुपर्नेछ। यस्तै, यो नियम प्रारम्भ हुनुअघि नै अनुमति लिई पालन तथा प्रजनन गरिएका वन्यजन्तुको हकमा यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियम बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमतिपत्र लिनुपर्नेछ।
यो नियमावलीले निश्चित शुल्क तिरेर कालिज, मयुर, मैना, सुगा लगायतका पन्छी मात्र नभएर ठूला स्तनधारी जनावर कस्तुरी मृग, जरायो, चित्तल, लगुना, नीलगाई पालन गर्न सकिने व्यवस्था गरेको छ। त्यस्तै खरायो, दुम्सी, बँदेल, सर्प, भ्यागुता, कछुवा पालनको लागि पनि बाटो खोलेको छ। तर, अझै पनि कुन प्रजातिको कालिज, कुन सुगा, कुन मयुर भनेर खुलाइएको छैन।
कालिज पालन बढ्दै गए पनि नेपालमा पाइने जंगली कालिजको चोरी शिकारी रोकिएको छैन। तर, कुन सरकारी निकायले कालिज पाल्न दिने भन्ने यकिन नभएकाले धेरैजसो कम्पनी रजिस्ट्रार कार्यालय र घरेलु तथा साना उद्योगमा दर्ता छन्। कोही भने वडाकै सिफारिशमा भ्याट, प्यान नम्बर लिएर काम गरिरहेका छन्।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले वन्यजन्तु पालन, प्रजनन, उपयोग र बिक्रीवितरण सम्बन्धी मापदण्ड स्वीकृत हुने प्रक्रियामा रहेको बताउँछन्। कालिज पालनको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नै अनुमति दिने कानूनी प्रावधान भए पनि मापदण्ड बन्न सकेको छैन। जसले गर्दा अनुमति दिने व्यवस्था नभएको विभागले जनाएको छ। सरकारी निकायले कालिज पालकलाई नियमन गर्न, कालिजको गुणस्तर बढाउन काम गर्नुपर्ने व्यवसायी बताउँछन्।