हर्न बजाउँदा कारबाहीमा परिएला!
काठमाडौंका सडकमा हर्न बजाउँदा ख्याल गर्नुहोस्, ट्राफिक प्रहरीले अनावश्यक हर्न बनाउनेलाई कारबाही गर्न थालेको छ।
सामाजिक सञ्जाल टिकटक प्रयोगकताए एक महिलाले अनावश्यक हर्न बजाउने मोटरसाइकल चालकसँग गुनासो गरिरहेको भिडिओ सार्वजनिक गरिन्। टिकटक मार्फत सार्वजनिक गरिएको भिडिओमा आफ्नो सानो बच्चा भएको र अनावश्यक हर्नका कारण सुत्न गाह्रो भएको गुनासो गरेकी छन्।
उनी मात्रै होइन, काठमाडौं उपत्यकामा अनावश्यक हर्नका कारण थुप्रै व्यक्तिले हैरानी खेपेको गुनासो गरेका छन्। केहीले अनावश्यक हर्न बनाउनेलाई कारबाही गर्न माग गरी ट्राफिक प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन्।
काठमाडौंका सडकमा अनावश्यक हर्न बजाउँदा सँगै रहेका घर, अस्पताल तथा विद्यालयमा असर परिरहेको छ। ध्वनी प्रदूषणका कारण मानसिक रुपमा समस्या उत्पन्न हुने गरेको छ।
त्यसैले ध्वनी प्रदूषण नियन्त्रण गर्न सडकमा अनावश्यक हर्न बजाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। यसका लागि २०७४ सालमै ‘नो हर्न अभियान’ शुरू गरिएको थियो। तर, विभिन्न कारणले प्रभावकारी हुन सकेको थिएन।
अहिले फेरि काठमाण्डौं महानगरपालिका र काठमाडौं उपत्यका टा«फिक प्रहरी, कार्यालयले यो अभियान शुरू गरेका छन्। सार्वजनिक गुनासोलाई सम्बोधन गर्न यो अभियानलाई पुन चुस्त बनाउन लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरीले बताइन्।
कोरोनाभाइरसको महामारीका कारण ‘नो हर्न अभियान’ सुस्ताएको भए पनि फेरि साउन २२ गतेदेखि शुरू गरिएको डीआईजी चौधरीको भनाइ छ। “अहिले काठमाडौंका विभिन्न ठाउँमा अनावश्यक हर्न बजाएको उजुरी पर्ने वित्तिकै कारबाही गर्न थालेका छौं,” चौधरीले भनिन्।
ट्राफिक प्रहरीले अनावश्यक हर्न हर्न बजाउने पाँच सय रुपैयाँ जरिवाना तिराउने गरेको छ। अहिलेसम्म ७६ हजार ११५ जनालाई कारबाही गरिसकिएको ट्राफिक प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०७३/७४ मा नौ हजार ६६३ जना, २०७४/७५ मा १५ हजार ४०५ जना, २०७५/७६ मा २० हजार नौ जनालाई कारबाही गरिएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १४ हजार ३२७ जना, २०७७/७८ मा ६ हजार नौ जना, २०७८/७९ मा नौ हजार २६८ जना र २०७९/८० मा एक हजार ४३४ जना अनावश्यक हर्न बजाउँदा कारबाहीमा परेका छन्।
स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनहरुका अनुसार सडकमा गुड्ने सवारी साधन तथा आकासमा उड्ने हवाई जहाजको ध्वनी प्रदुषणका कारण मानिसमा मुटुको समस्या देखिन्छ। ध्वनी प्रदूषणका कारण मानिसको निद्रा खलबलिने गर्छ, जसले मुटु तथा रक्तचापको समस्या देखिन्छ।
त्यस्ते, विश्व स्वास्थ्य संगठनका अनुसार ७० डेसिबलसम्मको ध्वनी कानमा पर्दा खासै असर देखिँदैन। तर, आठ घण्टासम्म ८५ डेसिबलभन्दा बढी ध्वनी सुनिरहेमा कान नसुन्ने समस्या आउन सक्छ। ठूलठूला ट्रकले ८५ डेसिबलभन्दा बढी ध्वनी निकाल्ने गर्छन्।
अहिलेसम्म नेपालमा कुन ठाउँमा कस्ता सवारी साधनले कति ध्वनी निकाल्छ भन्ने कुनै मापन गरिएको छैन। मानिसको स्वास्थ्यलाई ख्याल गर्न पनि अनावश्यक ध्वनी प्रदूषण नियन्त्रण गर्न सवारी चालकलाई कारबाही गर्न आवश्यक रहेको डीआईजी चौधरीको भनाइ छ।