यस्तो छ जनज्योति स्कूलको पढ्दै कमाउँदै कार्यक्रम
अभिभावकले छोराछोरीको पढाइका लागि नर्सरीदेखि स्नातकोत्तर तहसम्म खर्च गर्नुपर्ने बाध्यता छ। अभिभावकलाई यस्तो अवस्थाबाट मुक्त गराउन पढ्दै कमाउँदै कार्यक्रम आवश्यक छ।
राष्ट्रिय शिक्षा बोर्डका अनुसार नेपालमा बर्सेनि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या पाँच लाखको हाराहारीमा छ। तीमध्ये धेरैले एसईईपछिको पढाइ अघि बढाउन आर्थिक अभाव व्यहोर्दै आएका छन्।
विकसित मुलुकहरूमा कक्षा १२ पछि अनिवार्य रुपमा आफैंले कमाउँदै पढ्नुपर्ने प्रावधान हुन्छ। तर, हाम्रो मुलुकमा त्यो वातावरण छैन। सरकारले ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याए पनि त्यो प्रभावकारी हुन सकेको छैन। चालु आर्थिक वर्षको बजेटमा पनि यस कार्यक्रमलाई समावेश गरिएको छ।
सरकारी विद्यालयमध्ये सुर्खेतको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयले भने विद्यार्थीलाई आत्मनिर्भर बनाउन २०७२ सालदेखि पढ्दै कमाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रधानाध्यापक नारायणप्रसाद सिग्देलका अनुसार, यो कार्यक्रममा कक्षा ५ देखि माथिका विद्यार्थी सहभागी हुन सक्छन्।
कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीले आफूले गर्न चाहेको कृषि व्यवसायको परियोजना विद्यालय प्रशासनमा पेश गर्नुपर्छ। प्रशासनले उक्त परियोजना अध्ययन गरी उपयुक्त ठहर गरे कार्यान्वयनमा जान्छ।
पढ्दै कमाउँदै कार्यक्रमका लागि जनज्योति माविले सीप सिकाई ऋण, जमीन र प्रविधिको व्यवस्था गरिदिन्छ। यसका साथै उत्पादित वस्तुको बजार व्यवस्थापन पनि गरिदिने गरेको छ। आईएस्सी एजीका विद्यार्थीले पढाइ सक्ने वेलासम्म अनिवार्य दुई लाख रुपैयाँ कामउनै पर्छ। त्यति नकमाए उत्तीर्ण हुँदैनन्।
यस विद्यालयमा प्रि–डिप्लोमा इन एग्रिकल्चरमा ४०, डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्समा ४०, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा ४० र प्रि–डिप्लोमा इन लाइभस्टोक प्रडक्शन एनिमल हेल्थमा ४० जना गरी वार्षिक १६० जनाले प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था छ।
अभिभावक–विद्यार्थीको हित
नेपालको शिक्षा क्षेत्र अति खर्चिलो छ। प्रत्येक अभिभावकले आफ्ना छोराछोराका लागि नर्सरीदेखि स्नातकोत्तर तहसम्म निरन्तर खर्च गर्नुपर्ने अवस्था छ। स्नातकोत्तर तहको पढाइ सकेर पनि कामको कुनै ग्यारेन्टी हुने अवस्था पनि छैन। शिक्षाको नाममा कोरा कागजको खोस्टा बोकेर निराश अभिव्यक्ति दिने जनशक्ति उत्पादन गरिरहेका छौं।
आर्थिक अवस्था राम्रा भएका अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा १२ सकिएपछि पढ्न विदेश पठाउँछन्। केहीले आफ्नो भएभरको सम्पत्ति धितो राखेर पनि छोराछोरीलाई विदेश पठाउने गरेका छन्। यसबाट अभिभावकहरू कुनै न कुनै रुपमा पीडित छन्। उनीहरूको समस्या सुनिदिने कोही छैनन्।
पढ्नका लागि विदेश नै जानुपर्ने अवस्था किन आयो? किनकि, त्यहाँ कमाउँदै पढ्ने अवसर छ। ऋण नै गरेर भए पनि विदेश पठाएपछि उनीहरूले आफैं कमाउँदै पढ्न सक्छन्। अभिभावकलाई पनि धेरथोर आर्थिक भरथेग गर्छन्। यस्तो वातावरण नेपालमा नभएकाले नै कक्षा १२ सक्ने बित्तिकै विदेश जाने हतारो गर्छन्।
पढ्दै कमाउँदै कार्यक्रमका लागि जनज्योति माविले सीप सिकाई ऋण, जमीन र प्रविधिको व्यवस्था गरिदिन्छ। उत्पादित वस्तुको बजार व्यवस्थापन पनि गर्छ।
छोराछोरीलाई पढ्न विदेश पठाउन नसक्ने अभिभावकहरूले आफैं खर्च गरेर पढाउनुपर्ने बाध्यता छ। खर्च गर्न नसक्ने परिवारका व्यक्तिहरूले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता पनि छ। अर्कोतर्फ सीप विनाको सर्किफिकट बोकेका विद्यार्थीहरू स्तनातोत्तरपछि पनि आमा–बुवाको कमाइ खाएर बस्नुपर्ने अवस्था छ। यस्तो समस्याबारे बोल्ने, लेख्ने खासै भएको पाइँदैन। त्यसैले पढ्दै कमाउँदै कार्यक्रमलाई व्यापाक बनाउन आवश्यक छ। यस कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने जनज्योति माविले देखाइसकेको छ।
कसरी कार्यान्वन गर्ने?
पछिल्लो समय नेपालमा व्यावसायिक कृषि गर्ने धेरै छन्। कफी, चिया, रबर, तरकारी, घाँस, फलफूल, मकै, धान खेतीका साथै बंगुरपालन, मौरीपालन, गाईपालन, बाख्रापालन, माछापालनमा सम्भावना छ। यस क्षेत्रलाई विस्तार गरी पढ्दै कमाउँदै कार्यक्रम अघि बढाउन सकिन्छ।
माथि उल्लिखित क्षेत्रमा ठूलो लगानी आवश्यक छ। त्यसो भए व्यावसायिक विकास र बिस्तार हुन्छ। विद्यार्थीलाई कमाउँदै पढ्ने अवसर सिर्जना हुन्छ। स्कूल तथा कलेज छेउछाउ व्यावसायिक खेती विस्तार गर्नुपर्छ। यसो गरे विद्यार्थीहरू बस्न र काम गर्न सजिलो हुन्छ।
यसले व्यवसायी र विद्यार्थी दुवैलाई फाइदा हुन्छ। पूर्णकालीन कामदारलाई बढी ज्याला दिनुपर्ने हुन्छ। यस्तै, खाना, नाना र छानाको समेत प्रबन्ध गर्नुपर्ने हुन्छ। तर, आंशिक काम गर्ने विद्यार्थीहरूलाई त्यो सेवा दिइरहनुपर्ने आवश्यकता हुँदैन। यसबाट अभिभावकलाई कसरी खर्च जुटाउने भन्ने र विद्यार्थीलाई घरबाट खर्च नआउँला कि भन्ने चिन्ता हुँदैन। छोरोछोरीको शिक्षाका लागि खर्च नभएपछि अभिभावक कमाइ बचत हुन्छ। बचतबाट अर्को क्षेत्रमा लगानी गर्न सकिन्छ। अर्थात्, रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ।
कृषि बाहेक प्रशोधन उद्योग पनि पढ्दै कमाउँदै कार्यक्रमका लागि उपयुक्त हुन्छ। प्रशोधन उद्योग व्यवस्थित रुपमा बनाइएको भवनभित्र बसेर काम गरिन्छ। यसका लागि दक्ष जनशक्ति आवश्यक पर्छ। नेपालमा अदुवा, बेसार, मसला, चिया, कफी, मासु, अण्डा, माछा, बीउ, मल, मह र तरकारी तथा अन्य कृषि वस्तुको प्रशोधन लगायतको प्रशोधन शुरू गरिएको छ। यी कामका लागि पनि जनशक्ति आवश्यक पर्छ। यस्ता उद्योगलाई विस्तार गर्न आवश्यक छ।
यी उद्योगहरूले कसरी रोजगारी सिर्जना गर्न सक्दछ भन्ने विषयमा छलफल गरौं। दैनिक एक हजार किलो ग्रीनबीन उत्पादन गर्ने कफी प्रशोधन उद्योगले वार्षिक २२ करोड रुपैयाँको कारोबार गर्न सक्छ। यस उद्योगले करीब ५० जना विद्यार्थीलाई आंशिक रोजगारी उपलब्ध गराउन सक्दछ। एउटा कलेजको छेउमा कम्तिमा पाँचवटा यस प्रकारका कफी प्रशोधन उद्योग भए २५० जनाले आंशिक रोजगारी पाउँछन्। जसबाट विद्यार्थीहरूलाई पढ्ने, बस्ने र खाने खर्च कमाउन सक्छन्।
पूर्णकालीन कामदारलाई बढी ज्यालाका साथै खाने‚ बस्ने व्यवस्था गर्नुपर्छ तर आंशिक काम गर्ने विद्यार्थीलाई ती सबै सेवा दिनु पर्दैन।
यस्ता कामका लागि कलेज सञ्चालक, उद्योगका लगानीकर्ता र कफी उत्पादनकर्ता बीच समन्वय हुनुपर्छ। यही तरिकाबाट अन्य कृषिजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गर्न सकिन्छ।
कसको जिम्मेवारी?
यस्तो वातावरण सिर्जना गर्ने पहिलो जिम्मेवारी केन्द्र सरकारको हो। केन्द्र सरकारले नसकेको अवस्थामा प्रदेश सरकारले जिम्मेवारी लिनुपर्ने हुन्छ। प्रदेश सरकारले समेत नसकेको अवस्थामा स्थानीय सरकारले नेतृत्व लिनुपर्छ। तर, हामीकहाँ यस्ता प्रकारको सोंच भएका नेतृत्व तीनै तहका सरकारमा कम छन्।
यस प्रकारका काम शुरू गर्न इलामलाई चिया र धनकुटालाई कफीका लागि राम्रो मानिन्छ। अन्य जिल्लामा पनि सम्भावना खोज्नुपर्छ। यसका लागि स्थानीय सरकार हाँक्ने नेतृत्वको इच्छाशक्ति र लगनशीलता आवश्यक छ। साथै, नागरिकहरू पनि जिम्मेवार हुनुपर्छ। किनकि, अब पढ्दै कमाउँदै कार्यक्रम अपरिहार्य भइसकेको छ।