के हो नर्भिक अस्पताल र महानगरको विवाद?
नर्भिक इन्टरनेशनल अस्पतालले मन्त्रिपरिषदबाट निर्णय नगराईकन सरकारी जग्गा भाडामा लिएको खुलेको छ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ को कित्ता नम्बर २०८५ मा रहेको जग्गा गैरकानूनी रुपमा भाडामा लिएको खुलेको हो।
१ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफल जग्गा नर्भिकले वार्षिक रु. ३७ हजार ९८९ मा भाडामा लिएको थियो। नर्भिकले उक्त जग्गा २०६५ साल जेठ १ गतेदेखि २० वर्षसम्मको लागि लिएको हो।
भूमि व्यावस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे सरकारी जग्गा भोगाधिकार वा लिज(भाडा)मा लिन मन्त्रिपरिषद्को निर्णयबाट मात्र गर्ने सकिने कानूनी व्यवस्था रहेको बताउँछन्। मन्त्रिरिषदको स्विकृती बिना अन्य निकायले सरकारी जग्गा भाडामा दिन नसक्ने उनले बताए।
सरकारसँग भाडामा लिएको जग्गामा अस्पतालले ट्वालेट, क्यान्टिन, एमआरआइ ल्याब लगायतका उपकरण राख्ने संरचना बनाएको छ। अस्पतालले नक्सापास नगरी भौतिक संरचना बनाएको भन्दै महानगरले साउन २३ गते २४ घण्टाभित्र खाली गर्न निर्देशन दिएको थियो।
साउन २४ गते पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जग्गाको विषयको क्षेत्रअधिकार महानगरको नभएको भन्दै महानगरले अवैधानिक काम गरेको आरोप समेत लगाए। “भुमिसुधार कार्यलय नेपाल सरकार अन्तर्गतको निकाय भएकाले हाम्रो सम्झौता अवैधानिक छैन”, उनले भने।
स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका बेला २०६५ सालमा नर्भिक अस्पतालले तत्कालीन भूमिसुधार अधिकारी लुम्बप्रसाद अधिकारीसँग जग्गा भाडामा लिने सम्झौता गरेको देखिन्छ। तर अस्पतालले भूमि सुधार मन्त्रालय तथा मन्त्रिपरिषद दुबैबाट स्विकृति लिएको छैन्।
समस्या सल्टाउन समिति गठन
महानगरले दिएको २४ घण्टे अल्टिमेटम कार्यन्वयन गर्न साउन २४ गते मेयर बालेन्द्र साह नर्भिक अस्पताल पुगे। उनी अस्पताल पुगेसंगै केहीबेर चर्काचर्की भयो। अस्पतालका अध्यक्ष सिंहले जग्गा भाडामा लिंदाको सम्झौता अनुसार तत्काल भत्काउन नसक्ने र कानूनी प्रकियामा जाने बताए।
मेयर साहले भूमिसुधारसँगको सम्झौतासँग सरोकार नभइ उक्त जग्गामा भवन बनाउन स्विकृति नै नलिएको भन्दै कारवाही गर्न लागिएको बताए। किनकी महानगरको क्षेत्रमा भवन बनाउँदा महानगरसँग स्वीकृति लिनुपर्छ। साहले मन्त्रिपरिषद्बाट निर्णय गरेर ल्याए छोडिदिने समेत बताए।
विवादकै क्रममा महानगरका मेयर शाह र नर्भिक अस्पतालका अध्यक्ष सिंहबीच संरचना हटाउन समय तोकिने मौखिक सहमति भएपछि महानगर पछि हटेको छ। महानगरले भत्काउन लागेको नर्भिकको उक्त संरचनामा सिटी स्क्यान‚ एमआरआई, अक्सिजन प्लान्ट, खानेपानी र डायलासिस सप्लाई, विद्युत् वितरण प्यानल लगायत छ। अस्पतालमा अतिआवश्यक उपकरण तथा संरचना भएकाले तत्काल हटाउन नसक्ने अस्पतालका अध्यक्ष सिंह बताउँछन्।