महानगरले क्षेत्राधिकार बाहिर निर्देशन दिएको नर्भिकको दाबी
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले २४ घण्टाभित्र जग्गा छाड्न नसक्ने बताएको छ।
काठमाडौं महानगरपालिकाले अस्पतालले भाडामा लिएको जग्गा २४ घण्टाभित्र खाली गर्न सोमबार अस्पतालमा सूचना टाँसेको थियो।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी महानगरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन दिएको र सम्झौता तोड्न तीन महीनाको समय हुनुपर्ने बताएको छ। “जग्गा छाड्न निर्देशन दिन महानगरको क्षेत्राधिकारभित्र पर्दैन। सम्झौता नेपाल सरकारको तर्फबाट भूमि सुधार कार्यलयसँग भएको हो‚” अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने‚ “उक्त सम्झौतामा तीन महीना समय दिएर सम्झौता तोड्न सक्ने भनिएको। प्रकिया अनुसार अघि बढे जग्गा छाड्न तयार छौं।”
अस्पताल र भूमि सुधार कार्यालय बीच २०६५ जेठ १ मा २० वर्षका लागि सम्झौता भएको अध्यक्ष सिंहले बताए। सम्झौतामा एक रोपनी आठ आना एक पैसा एक दाम क्षेत्रफलको जग्गाको भाडा वार्षिक ३७ हजार ९८९ रुपैयाँमा दिने उल्लेख छ।
उक्त जग्गामा सिटी स्क्यान‚ एमआरआई, अक्सिजन प्लान्ट, खानेपानी र डायलासिस सप्लाई, विद्युत् वितरण प्यानल भएकाले २४ घण्टाभित्र छाड्न नसक्ने सिंहको भनाइ छ। उनले सम्झौता ठीक नभए पुन:सम्झौता गर्न र जग्गा सम्झौता अनुसार तीन महीनाको समय दिए जग्गा खाली गर्न सक्ने बताए।