‘दाहाल-भट्टराईलाई ३५० को ज्याकेट गन्हाएपछि अन्तिम लाल सलाम गरें’
‘पार्टी सुधार्ने भन्ने कुरा पूरै नौटङ्की रहेछ भन्नेमा पूर्ण विश्वस्त भएपछि ४० वर्ष काम गरेको पार्टी अब मलाई पुग्यो भन्ने लाग्यो।’
शुरूमा अमेरिकी देश पेरु-मेक्सिकाेमा फलाउन थालिएको सिउँदी प्रजातिको फल ‘ड्रागन फ्रूट’ दक्षिण पूर्वी एशिया हुँदै केही वर्षदेखि नेपालमा पनि लोकप्रिय बनेको छ। अजिङ्गरको शरीर जस्तो लहरा हुने भएकाले ‘ड्रागन फ्रूट’ भनिने यो फलको वैज्ञानिक नाम Selenicereus undatus हो। ठाउँ अनुसार यो पितया, रातकी रानी, मुन लभर्स, क्यान्डेरेला आदि भनेर पनि चिनिन्छ।
नेकपा (माओवादी केन्द्र) स्थायी समितिका पूर्व सदस्य लोकेन्द्र विष्ट मगर पनि केही वर्षदेखि यही ‘ड्रागन फ्रूट’ का पछि लागेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या र पर्यटन मन्त्री बनिसकेका मगर २०६४ मा संविधानसभा अन्तर्गतको राज्य पुन:संरचना समितिका सभापति थिए। लुम्बिनी प्रदेशको राजधानी दाङमा सात हजार ‘ड्रागन फ्रूट’ को बोट सम्हालिरहेका पूर्व मन्त्री मगरसँग राजनीतिक विषयमा हिमालखबरका सन्त गाहा मगरले गरेको संवादः
यहाँ अब राजनीतिकर्मी रहनुभएन होइन?
हो, म अहिले किसान हुँ। पूर्ण रूपमा आर्थिक-सामाजिक क्षेत्रमा कार्यरत छु।
नेकपा (माओवादी)मा किन लाग्नुभएको थियो?
मुख्य त वर्गीय परिवर्तनका लागि लागेको हो। शोषित, पीडित, सर्वहारा, सुकुम्बासीको हकहितमा काम गर्न माओवादी बनियो। समाजमा विद्यमान असमानता, विभेद, अन्याय, अत्याचार हटाउनुपर्छ र शोषित वर्गले आफ्नो निर्णय आफैं गर्न पाउनुपर्छ भनेर युद्धमा होमियो। राजतन्त्र, एकात्मक राज्यसत्ता, धर्मसापेक्ष र हुनेखानेको मात्रै प्रतिनिधित्व हुने व्यवस्थाको अन्त्य गर्नुपर्छ भनेर लागियो। भुइँ वर्गको बाहुल्यमा राज्यसत्ता सञ्चालन गर्ने सपना बोकेर ‘जनयुद्ध’ गरियो।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आएपछि यहाँले राजनीति किन छाड्नुभयो?
आंशिक परिवर्तन र उपलब्धि त भयो, तर हाम्रो उद्देश्य, ध्येय र गन्तव्य यो थिएन। शान्ति प्रक्रियापछि कम्युनिष्टले चाहेको वैज्ञानिक समाजवाद, नयाँ जनवाद र विश्व साम्यवादतर्फ नगएर बुर्जुवा गणतन्त्रतर्फ लाग्यौं। कतिपय साथीहरू जनवादी गणतन्त्र पूरा भयो; अब समाजवादमा जानुपर्छ भन्छन्। तर, कुन समाजवाद? वैज्ञानिक समाजवाद कि पूँजीवादी समाजवाद? हामीले भनेको समाजवादमा शोषित जनता शासक हुन्छन्। पूँजीवादी समाजवादमा हुने खानेकै प्रतिनिधित्व हुन्छ र हुँदा खाने वर्ग धर्तीमै हुन्छ।
हामीले जे चाहना र ध्येय राखेर युद्ध लडेका थियौं, शान्ति प्रक्रियामा आएपछि ती सबै धूलिसात् जस्तै भए। शान्ति प्रक्रियामा दुई कारणले आएका थियौं। एक, त्यतिखेरसम्म प्राप्त उपलब्धिलाई बचाउने र अर्को, बाँकी कार्यभार पूरा गर्न सदन, सरकार र सडकबाट अत्यधिक कोशिश गर्ने भन्ने थियो। कोशिश त भयो, तर पूरा भएन। नभएपछि फर्किने भन्ने थियो।
जति भयो भयो अब यो पार्टी र आन्दोलनबाट वर्गको मुक्ति हुँदैन। बाँकी रहेको क्रान्ति २०-३० वर्षपछि नयाँ पुस्ता, नयाँ विचार र नयाँ संरचना बन्छ र त्यसले विश्व र नेपालको विचारको संश्लेषण भएर नयाँ क्रान्ति हुन्छ। अब पुराना ठुटामुटाबाट क्रान्ति हुँदैन भन्ने विश्लेषण सहित माओवादीबाट स्वैच्छिक अवकाश लिएँ।
यहाँले जसलाई ठुटामुटा भन्नुभयो, उनीहरूले त वस्तुगत विश्लेषण गरेर शान्ति प्रक्रियामा आयौं र संविधान बनाउन सफल भयौं भनिरहेका छन् नि?
युद्धका वेला भौगोलिक हिसाबले ८० प्रतिशत हामीले जितिसकेका थियौं। राजनीतिक रूपमा पनि केन्द्रीय सत्ता काठमाडौं र जिल्ला सदरमुकाममा कैद भइसकेको थियो। सेना तारजालीभित्र कैद थियो। उनीहरू त्यहाँबाट बाहिर निस्कन सक्दैनथे, हामीले तारजाली च्यात्न सकेका थिएनौं। जसरी वार्ता भएर बृहत् शान्ति सम्झौता भयो, त्यसमा हामीले हारे जस्तो र सरकारले जिते जस्तो भयो।
शान्ति प्रक्रिया आउनु कति ठीक, कति बेठीक भनेर निर्मम मूल्याङ्कन गर्ने वेला भइसकेको थियो। यस्तो हविगत हुनुभन्दा लडाइँ जारी राख्नुपर्दथ्यो भन्ने मेरो बुझाइ हो। वार्ता संवाद पनि जारी राख्न सकिन्थ्यो। राजनीति राम्रो नपाकी शान्ति प्रक्रियामा आइयो जस्तो लाग्छ।
पेरु अधिक युद्धका कारण सकियो। त्यहाँ युद्धपछि युद्ध भए। राजनीति न्यून र फौजी गतिविधि प्रधान भयो। त्यो एक किसिमको अति थियो। जबकि, युद्धबाट राजनीतिक वार्ता र टेबल संवादमा पनि जानुपर्दथ्यो। हामी टेबल संवादमा जाँदा युद्ध बिर्सियौं। यो अर्को अति भयो। मेरो शब्दमा भन्ने हो भने त्यो आत्मसमर्पण नै होे। संवाद गर्दै युद्ध जारी राख्ने गर्नुपर्दथ्यो। युद्ध छोडेर आउँदा हामी निरीह भयौं। जताततैबाट घेराबन्दी गरेर पक्षाघात बनाउने काम भयो।
पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतले त शान्ति प्रक्रियामा नआएको भए हामी सिद्धिन्थ्यौं भनिरहेका छन् नि?
शान्ति प्रक्रियामा आउन उहाँहरूले गोन्जालोको ‘नेतृत्व मर्नु हुँदैन’ भन्ने भनाइलाई आधार बनाउनुभयो। हामी मारियौं भने धेरै कुरा समाप्त हुन्छ भन्ने सोच्नुभयो। तर, विश्व कम्युनिष्ट आन्दोलनमा नेतृत्व मारिने कुरा ठूलो कुरा होइन भन्ने देखिन्छ। त्यत्रा योद्धाहरू मारिए त, नेतृत्व मारिंदैमा अरू नेतृत्व आउने थिएन र? आउँथे नि। क्रान्ति त संघर्षले पूरा गर्ने हो।
पुष्पकमल दाहाल मारिनुभएन, त्यस कारण मलाई दुःख छ भन्न खोजेको होइन। तर, योद्धाहरू मारिंदा नेतृत्व सकुशल हुन्छ नै भन्ने त हुँदैन नि। विश्व कम्युनिष्ट आन्दोलनमा थुप्रै नेताहरू मारिएका छन्। तर, ती आन्दोलनमा हार भएको छैन। नेतृत्व मारिनै हुँदैन भन्नु नै आत्मसमर्पण र आत्मसुरक्षावादको द्योतक हो।
रुकुम, खाराको पछिल्लो लडाइँमा चार सय जति साथीहरू घाइते हुनुभयो। सय जना जति मारिनुभयो। सरकारतर्फ पनि क्षति भयो, तर हामीले जित्न सकेनौं। त्यसपछि त्यहाँबाट पछि हट्नुपर्यो। खाराबाट ‘रिट्रिट’ भएर घाइतेहरू सहित रोल्पातिर लाग्यौं। त्यति वेला ‘हेडक्वार्टर’ रोल्पातिरै थियो। सेनाले ‘हेडक्वार्टर’लाई लक्षित गरेर ‘रकेट लन्चर’ प्रहार गर्यो। त्यसको क्षमता पाँच किलोमिटर राडारमा प्रहार गर्न सक्ने हुँदो रहेछ। ‘हेडक्वार्टर’ बस्ने भवनमै लाग्यो। मौकावश ‘हेडक्वार्टर’ त्यहाँबाट पाँच मिनेट अगाडि मात्रै सरेको रहेछ।
त्यसपछि उहाँहरूमा ‘हामी पनि मरिने रहेछौं’ भन्ने पर्यो। र, चुनवाङ बैठक हुँदै शान्ति प्रक्रियामा आउने निर्णय गरियो। यत्तिकै आधारमा नेतृत्व कायरै हो, खत्तमै भयो भन्ने त लाग्दैन। तर, दृष्टान्तले त्यता देखायो। जबकि, हुनुपर्थ्यो युद्ध-टेबल, टेबल-युद्ध। कि संवाद गर्दै नगर्ने, संवाद गरेपछि युद्ध चटक्कै छाड्ने कुरा गलत थियो। युद्ध र टेबलबीचको द्वन्द्वात्मकता नहुँदा हामी पछि पर्यौं। नेतृत्वले सिद्धिन्थ्यौं भनिराख्नु कायरता हो। नेतृत्वलाई सबै निर्णय गर्ने प्राधिकार दिएका थियौं। उनीहरूले गरेका सबै निर्णय हामीले पालना गर्थ्यौं।
२०६३ मा शान्ति सम्झौता नभएको भए अझै धेरै नेपालीको ज्यान जाने थियो। शान्ति प्रक्रियामा आएपछि कम्तीमा नेपालीको ज्यान जानबाट त रोकियो, यसलाई नै सकारात्मक किन नमान्ने?
मैले त्यो भनिनँ। युद्धको ‘सेफ ल्याडिङ’ गर्नै पर्दथ्यो। तर, क्रान्तिकारीहरू जितमा हुने गरी गरिनुपर्दथ्यो। पुष्पकमल दाहालले भने जस्तो अलि ढिला भएको भए हाम्रो ‘हालत खराबै’ हुन्थ्यो भन्ने होइन। हालत त सरकार पक्षको पनि खराब भइरहेकै थियो। जनताको अगाडि जतिसुकै ठूला शासक पनि झुकेको इतिहास छ। जनता, योद्धा वा क्रान्तिकारी पार्टीको नेतृत्व गर्नेले यस्तो हिसाबकिताब गर्न थाल्यो भने सर्वहारा, क्रान्तिकारी र शोषितहरूलाई घाटा हुने रहेछ।
माओवादी यो हालतमा पुग्नुमा मूल नेतृत्वकै दोष हो भन्न खोज्नुभएको हो?
मुख्य दोषी मूल नेतृत्व नै हो। तर, त्यसका भागीदार हामी पनि छौं। २०६४ को चुनावपछि हामीमा अहं बढ्यो। गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने, पुष्पकमल दाहाल प्रधानमन्त्री हुने र एमालेलाई सभामुख दिने गरेको भए पहिलो संविधानसभाबाटै संविधान बन्थ्यो। योभन्दा राम्रो संविधान बन्थ्यो। दोस्रो संविधानसभा गरेर यत्रो खर्च पनि गर्नुपर्दैनथ्यो। त्यो अहंले देशलाई र पार्टीलाई क्षति भयो। तर, त्यो कुरा पुष्पकमल दाहालले धेरै पछि मात्रै स्विकार्नुभयो। दूरदर्शी नेतृत्वले त्यो कुरा पहिल्यै देख्न सक्नुपर्दथ्यो। दाहाल (रुक्माङ्गद) कटवाल प्रकरण पनि नगरेको भए हुने रैछ भन्नुहुन्छ।
पछि, यस्तो नगरेको भए हुन्थ्यो त्यस्तो नगरेको भए हुन्थ्यो भन्नुको अर्थ छैन। पछि आएर मात्रै आत्मालोचना गर्नु भनेको त ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो भने जस्तै हो। त्यो हिसाबले नेतृत्व असफलै हो। नेतृत्व सफल भएको भए माओवादी यसरी छिन्नभिन्न हुने थिएन। हाम्रो पनि दोष होला, तर सम्हाल्ने जिम्मा नेतृत्वको हो। उहाँ असक्षम हो भन्ने त पुष्टि भइसक्यो। व्यक्तिगत रूपमा त पुष्पकमल दाहाल र मेरो बीचमा के नै छ र।
यहाँले मूल नेतृत्व असफल भइसक्यो भन्नुभयो। पूर्व माओवादीहरू पुनः एकत्रित भएर आन्दोलन गर्नुपर्छ भन्ने आवाज सुनिन्छ नि?
माओवादी होस् वा संसारका कुनै पनि कम्युनिष्ट पार्टी, फुट्न जति सजिलो छ, जुट्न त्यति नै गाह्रो। यिनका सिङ-जुरा, आग्रह-पूर्वाग्रह, अहं र दम्भ यति धेरै छन् कि एकअर्कालाई नजिक आउनै दिंदैनन्।
हिजोका माओवादीहरू मिल्नुपर्छ भनेको ‘बार्गेनिङ’ का लागि हो। पुष्पकमल दाहालले कम्युनिष्ट एकता गर्नुपर्यो, समाजवादी केन्द्र बनाउनुपर्यो भन्नुभएको छ नि, त्यो भनेको शेरबहादुर देउवाबाट अलि ठूलो भाग पाउनुपर्यो भनेको हो। सत्ताकै लागि उहाँ कहिले केपी शर्मा ओलीको, कहिले देउवाको भरिया(टेकासो) भएर हिंड्नुभएको छ। सत्तामा नबसेर पार्टी बलियो बनाउँदै हिंडे पनि त हुन्छ।
माओवादी विभाजित, स्खलित, विसर्जित भइसक्यो। जनतामा जाने पार्टी बनाउने कुरो छैन। माओवादी जनतामुखी नभएर नेतामुखी, सुविधामुखी र सत्तामुखी भयो। पार्टी बिग्रिएपछि कार्यकर्ता पनि ठीक हुने कुरा भएन। अहिले कार्यकर्ताले अध्ययनका नाममा फेसबूक चलाउँछन्। मार्क्सवाद र समाजवाद पढ्दैनन्।
यहाँले माओवादी स्खलित र विसर्जित भयो भन्नुभयो। तर, माओवादी अध्यक्ष दाहालले त हामी निर्णायक शक्ति हौं, हामी जता मिल्छौं त्यही पार्टी ठूलो बन्छ भनिरहनुभएको छ नि?
संसदीय बुर्जुवा राजनीतिमा उहाँले भनेको कुरा सही हो। के हामी त्यसैका लागि मात्रै हौं त? क्रान्तिकारी कम्युनिष्टको काम त्यति हो? म बाहिर बसे पनि माओवादी पार्टी राम्रो होस्, नेतृत्व ओजस्वी होस् भनेर यो प्रश्न गरेको हुँ।
नेतृत्व पङ्गु भएको हेर्ने चाहना मलाई पनि छैन। एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) ठीक कि बेठीक आफ्नो ठाउँमा छ। उहाँले एमसीसी पारित गर्न हुन्न भनेर बबन्डर मच्चाउनुभयो। पछि, व्याख्यात्मक टिप्पणीका नाममा पारित गर्नुभयो। त्यो त घुमाउरो नाक छोएको मात्रै हो।
जसले जे भने पनि माओवादी जस्तो पार्टी हुनुपर्थ्यो त्यस्तो छँदै छैन। अझै पनि निर्णायक छु भन्दै हिंड्नु केवल आत्मरति हो।
दाहालले मोहन वैद्यको गणना छैन, नेत्रविक्रम चन्दको अर्थ छैन, बाबुराम भट्टराई कम्युनिष्ट नै रहेनन्। खास माओवादी त हामी नै हौं भनिरहेका छन् नि?
माओवादी पार्टीका तीन भाग अहिले उहाँसँग छैनन्। पुष्पकमल दाहालजीसँग भएको चार भागको एक भाग मात्रै हो। अब ठूला कुरा गर्नुभन्दा एमाले लगायतका दलसँग एकता गरेर बसे हुन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउनु गल्ती भयो भन्छु म त। माओवादी र अन्य पार्टीबीच फरक नै रहेन। सबै कांग्रेस जस्तै भए। पहिलो कांग्रेस नेपाली कांग्रेस, दोस्रो कांग्रेस एमाले र तेस्रो कांग्रेस माओवादी केन्द्र हुन्।
यहाँ त राजनीति छोडेर बसिहाल्नुभयो। पूर्व सहकर्मीहरूको भविष्य कस्तो देख्नुहुन्छ?
आस्था र निष्ठाको हिसाबले मोहन वैद्य स्वच्छ छवि भएका नेता हुनुहुन्छ। कुनै पनि लाभ र लोभको पदमा हुनुहुन्न। उहाँ इमानदार नेता त हो, तर समसामयिक राजनीतिलाई पकडेर हिंड्न सक्नुहुन्न। नेपालमा मैले आदर गर्ने नेता उहाँ मात्रै हो। राजनीतिक रूपमा जसरी जानुपर्थ्यो उहाँले सक्नुभएन। पार्टी संयन्त्र पनि राम्रो छैन। त्यसले गर्दा उहाँको भविष्य राम्रो देख्दिनँ।
नेत्रविक्रम चन्दजीको राजनीति करीब करीब सकिएको जस्तो लाग्छ। उहाँको क्रान्तिकारी भन्ने कलेवर समाप्त भयो। युवाहरूले उहाँबाट अलि आशा गरेका थिए। उहाँले परिस्थितिको ठीक आकलन गर्न सक्नुभएन। आफ्नै शक्ति चिन्न सक्नुभएन। के भनेर युद्ध लड्न जानुभयो? के भनेर आउनुभयो? सरकारसँग गरेको तीनबुँदे कहाँ गयो? अत्तोपत्तो छैन।
बाबुराम भट्टराईजी त कम्युनिष्टै रहनुभएन। विशुद्ध सामाजिक अभियानकर्मी जस्तो हुनुभएको छ। उहाँले मार्क्सवाद छाडिसक्नुभयो। हालै सार्वजनिक उहाँको पार्टीको १८९ जनाको केन्द्रीय समितिको सूची पढ्दा बाबुरामजीको राजनीतिक भविष्य सकियो जस्तो लाग्छ।
रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत एमालेमा जानुभयो। त्यहाँ जानुका दुई वटा कारण होलान्। पहिलो, माओवादी र एमाले उस्तै उस्तै पार्टी हुन्। माओवादीमा भन्दा एमालेमै बस्दा ठीक हुन्छ कि भनेर जानुभएको होला। दोस्रो, माओवादीमा हुँदा कैयौं कुरामा आजित हुनुहुन्थ्यो जस्तो लाग्छ। एमालेमा पनि हाइसन्चो त नहोला, तर माओवादीमा भन्दा त्यतै बस्दा सन्तुष्टि मिलेको हो कि जस्तो लाग्छ। उहाँहरूको राजनीतिक भविष्य कसरी जान्छ, मलाई थाहा छैन।
गुमनाम भएर जनताका लागि गरिने राजनीति नेताहरूलाई मन पर्न छाड्यो। संसदीय राजनीति गर्ने भए त जता जे गर्दा पनि त भयो नि। नैतिकता विनाको राजनीति गर्नेलाई त के भन्नु र?
पुष्पकमल दाहालको भविष्य भन्नुभएन नि?
अघि सूत्रमा भनें नि, पहिलो कांग्रेस देउवा, दोस्रो एमाले र तेस्रो कांग्रेस माओवादी। योभन्दा बढी के भनूँ? एमालेलाई भाइ कांग्रेस भन्थे, माओवादी भाइ कांग्रेसको पनि भाइ भयो।
यहाँको यो निचोड हो भने १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र द्वन्द्व बेकार भयो, होइन?
त्यो आन्दोलन इतिहासको आवश्यकता थियो। कैयौंले बलिदानी दिए, घाइते अपाङ्ग भए। दुवै पक्षबाट बेपत्ता पार्ने काम भए। तर, समग्रमा भन्दा देश दुनियाँ बदल्न आएका हामी आफैं बदलियौं। हिजो राम्रो काम गरेका थियौं, तर आज त्यो कामलाई भजाएर खान लायक पनि रहेनौं। जसलाई बदल्न आएका थियौं, हामी नै उनीहरू जस्तो भएपछि सक्किगयो त कुरा! त्योभन्दा बढी भनिराख्नुपर्छ र?
अब यहाँको व्यक्तिगत प्रसङ्गमा जाऔं। यहाँको एउटा फेसबूक स्टेटस वेलावेलामा भाइरल हुन्छ। के त्यो सत्य हो?
सत्य हो। यो पोखरा विमानस्थलको कुरा हो। त्यहाँ प्रचण्ड, बाबुरामजी र म थियौं। दुई जनाले कुरा गर्न थालेपछि म ‘डिस्टर्ब’ नहोस् भनेर अलि पर सरें। उहाँहरूले कुरा गर्नुभयो। (म शुरूदेखि नै पार्टीमा मितव्ययिता अपनाउनुपर्छ भन्ने मान्छे हुँ। आदर्शवादी पनि भन्न सक्नुहुन्छ।) त्यति वेला मैले पुरानो ज्याकेट लगाएको थिएँ। त्यो ज्याकेट काभ्रेको कामीडाँडामा बैठक भएका वेला सूर्यकुमार दोङजीलाई किन्न पठाएको थिएँ।
भर्खर भारत जेलबाट छुटेर आएको लगाउने कुरा केही थिएन। पैसा त मैले आफैं तिरेको थिएँ। त्यसलाई रु.३५० परेको थियो। अहिले त्यसलाई ६-७ सय रुपैयाँ पर्न सक्छ। कोट-टाई लगाउने मेरो हैसियत थिएन। पुरानो भए पनि ज्याकेट धोएरै लगाएको थिएँ। तर, प्रचण्ड र बाबुरामजी ४०-५० हजारको कोट लगाउने भइसक्नुभएको थियो। उहाँहरूको वर्ग उत्थान भइसकेको थियो।
मसँग त नयाँ ज्याकेट किन्ने पैसा पनि थिएन। उहाँहरूले मलाई लाउन पनि नजान्ने, खान पनि नजान्ने भनेर अपमान गर्ने हिसाबले बोल्नुभयो।
पसिना गन्हायो पनि भन्नुभयो?
भन्नुभयो। म काम गर्ने मान्छे पसिना त गन्हाउने नै भयो।
दाहालले भन्नुभयो कि भट्टराईले?
दुवैले। एकस्वरमा परिस्थिति, जमाना अनुसार लाउन-खान जान्नुपर्छ पनि भन्नुभयो। २३ वर्षसँगै काम गरेको मान्छे के बोल्छ, कसो बोल्छ भन्ने थाहा नहुने कुरै भएन।
यहाँले केही भन्नु भएन?
प्रतिक्रिया केही जनाइनँ। तर, असाध्यै दुःख लाग्यो। मेरो आस्थाको धरोहर ढल्यो। आत्मसम्मानमा चोट लाग्यो।
जुन नेतृत्वले हामीलाई आन्दोलनमा होम्यो। आस्था, निष्ठा सिकायो। सादा जीवन उच्च विचारलाई आदर्श मान्न सिकायो, त्यही नेतृत्वबाट यस्तो व्यवहारको अपेक्षा गरेको थिइनँ। अन्य घटना-परिघटनाले गर्दा पनि माओवादी अब मेरो पार्टी रहेन भन्ने परेको थियो।
त्यो घटनापछि ‘मभित्रको लोकेन्द्र विष्ट मगरले यो पार्टी तेरो लायक रहेन’ भन्यो।
द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टहरू त भावनाभन्दा पनि विवेकमा निर्णय गर्छन् भनिन्छ। यहाँको त्यो निर्णय भावनाप्रधान भएन र?
तपाईंले के बुझ्नुपर्छ भने, विवेक र भावना भन्ने एकअर्काका शत्रु होइनन्। विचार, विवेक र भावना सँगसँगै हुन्छ। परिस्थिति अनुसार कहिले विवेक प्रधान हुन्छ, कहिले भावना। त्यो आन्दोलनबाट निस्कने व्यक्ति न म पहिलो थिएँ, न अन्तिम। पछि बाबुराम भट्टराई आफैं पनि माओवादीमा रहनुभएन।
बाबुराम भट्टराई त ‘संविधान निर्माणसम्मका लागि माओवादी पार्टी आवश्यक थियो। तर अब मुलुक हाँक्न माओवादीले सक्दैन’ भनेर नयाँ शक्ति गठन गर्न पार्टी छोडेर हिंड्नुभयो। उहाँको र यहाँको सन्दर्भ त फरक भयो होइन र?
बाबुराम भट्टराई माओवादीबाट आफैं निस्किएका होइनन्, निकालिएका हुन्। जनयुद्धकालमा भट्टराईले जति मानसिक यातना भोग्नुपरेको भए अरूले कि आत्महत्या गर्थे कि पार्टी विभाजन। उहाँ धेरै सहनशील मान्छे हुनुहुँदो रहेछ।
तपाईंलाई एउटा घटना सुनाउनु छ। संविधान बनिसकेपछिको कुरा हो। त्यति वेला भट्टराई सानेपा हाइटमा बस्नुहुन्थ्यो। प्रचण्डजी सीता (दाहाल) भाउजू सहित त्यहाँ जानुभयो। हिसिला यमीजी पनि हुनुहुन्थ्यो। प्रचण्डजीले ‘बाबुरामजी अबको अध्यक्ष तपाईं हुने है’ भन्नुभयो।
यो साँच्चै ठूलो निर्णय थियो। त्यसपछि भट्टराईजी ‘प्रो-एक्टिभ’ भएर लट्ठी टेक्दै पूर्व-पश्चिम अभियानमा हिंड्नुभयो। त्यसको तीन महीनापछि प्रचण्डले लाजिम्पाटमा बैठक बोलाउनुभयो। बैठकमा डेढ-दुई घण्टा कुराकानी भएपछि प्रचण्डले नै भन्नुभयो-बाबुरामजी कि सल्लाहले नै छुट्टिऔं है।
पहिला आफैंले अध्यक्ष बन्नुस् भन्ने, फेरि आफैं सल्लाहले छुट्टिऔं भनेपछि भट्टराईजीको भावनामा ठेस पर्यो। बैठकबाट हुन्छ भनेर जुरुक्क उठ्नुभयो। हिसिलाजी विदेशमा हुनुहुन्थ्यो, शायद रूसमा। हिसिला, देवेन्द्र पौडेल लगायत निकटस्थहरूसँग पनि सल्लाह नगरेर भोलिपल्ट विश्वदीप पाण्डे मार्फत राजीनामापत्र पठाइदिनुभयो। त्यसपछि नयाँ शक्ति गठन गर्नुभयो। तर, गुटबन्दी गरेर पार्टी फोड्ने काम गर्नुभएन।
त्यसरी नेतृत्वलाई गलहत्याउन पाइन्छ त? नेताहरूलाई छान्दै-छान्दै ङ्याक्न पाइन्छ? त्यसो गरेपछि त्यसको पाप लागिहाल्छ नि। पुष्पकमल दाहालजीले हामीलाई हिजो चाहिंदा भाँडो बनाउनुभयो, नचाहिंडा ठाँडो बनाउनुभयो।
नयाँ शक्ति पार्टी गठन गरे लगत्तै पुष्पकमल दाहालले भट्टराईलाई मैले ३१ वर्ष झेलें। अरूले ३१ महीना वा ३१ घण्टा झेलेर देखाओस् भनेका थिए। यहाँले त भट्टराई बडो सहनशील भन्नुभयो नि?
भट्टराईजीका कमी-कमजोरी छैन भनेको होइन। म उहाँलाई आलोचनात्मक रूपले हेर्छु। प्रचण्डजीले एक्स्ट्रिममा गएर हेर्नुभयो। भट्टराईले हिजो आन्दोलनमा खेलेको भूमिका बिर्सन मिल्दैन। भट्टराई भन्नासाथ नकारात्मकै नकारात्मक र दाहाल भन्नासाथ सकारात्मक नै सकारात्मक भन्ने त हुँदै होइन नि। प्रचण्डजी सही र बाबुरामजी गलत नै हो भने हिजो ३१ महीना झेलेर देखाओस् भन्ने मान्छेले अहिले साँखुल्ले भएर ‘समाजवादी केन्द्र बनाऔं किन भनिरहनुभएको छ त?’
स्वार्थ नमिल्दा काटाकाट गर्ने र स्वार्थ मिल्दा चाटाचाट गर्नु त राजनीति होइन, लाजनीति हो। नैतिकताहीन राजनीति भनेको यही हो।
यहाँले दोस्रो पटकको प्रयासपछि माओवादी छोड्नुभयो। पहिलो पटक छोडेपछि किन फर्कनुभयो र फेरि किन छोड्नुभयो?
मैले त्यति वेला पार्टीभित्रका समस्या र समाधानको पाटो भनेर २१ बुँदा बुझाएको थिएँ। मलाई पार्टी सदस्य मात्रै राखियोस्, कुनै पनि पदमा नराखियोस् भनेको थिएँ। पार्टी सदस्य नखाइदिनुहोला भनेर भकुन्डेबेसीमा कालो धान खेती गर्न गएँ। पुष्पकमल दाहालले पटक पटक बोलाएपछि भेट्न लाजिम्पाट गएँ। उहाँले ‘संविधान बनाउँदा बनाउँदा पार्टी बनाउन पाइएन, अब पार्टी बनाउनुपर्छ; तपाईँले राख्नुभएका २१ बुँदा लागू हुन्छन्’ भन्नुभयो। यस्तो त कति पटक भन्नुभयो, लागू हुँदैन भनेर म त्यहाँबाट हिंडें।
दाहालले फेरि बोलाउनुभयो। लाजिम्पाटको उहाँको निवासकै माथिल्लो तलामा बसेर दुई-तीन घण्टा छलफल गर्यौं। तपाईं पार्टीमा फर्किनका लागि केन्द्रीय समितिले निर्णय गर्छ भन्नुभयो। मैले केन्द्रीय समितिले किन निर्णय गर्नुपर्यो? अध्यक्षसितै कुरा भइसकेपछि त भइहाल्यो नि भनें। उहाँले मान्नुभएन। नभन्दै ‘कामरेड लोकेन्द्र विष्टलाई फर्किन आह्वान गर्ने’ भनेर एकमतले निर्णय भएछ। त्यो चिठी लिएर झक्कु सुवेदी आउनुभयो। मैले धेरै सोचें, पार्टी सच्चिन्छ भने केन्द्रीय समिति र पार्टीभन्दा ठूलो त म होइन भनेर फर्किने निर्णय गरें। केन्द्रीय समितिमा आएर आफ्नो कुरा राखें। धेरैले राम्रो कुरा गरे। केहीले छेडखानी पनि गरे। त्यसको मैले वास्ता गरिनँ।
पार्टीमा काम गर्न थालें। तर, पार्टी सच्चिएकै रहेनछ। गुटबन्दी उस्तै, घेराबन्दी उस्तै। पार्टी त विभिन्न लाभ र फाइदाकै पछि दगुरेको छ। सर्वहारा र क्रान्तिकारीको मतलबै छैन। पार्टीमा युद्ध सरदार मडारिएका छन्। त्यसलाई समाधान गर्नेतिर अध्यक्षको कुनै चासो र चिन्ता छैन। अध्यक्षले लाजिम्पाटमा जनाएको प्रतिबद्धताभन्दा पार्टी ठीक उल्टो भयो। हुँदाहुँदा पार्टी नेतृत्वले हाम्रो कुरा सुन्न पनि छाड्यो। पार्टी सुधार्ने भन्ने कुरा पूरै नौटङ्की रहेछ भन्नेमा पूर्ण विश्वस्त भएपछि ४० वर्ष काम गरेको पार्टी अब मलाई पुग्यो भन्ने लाग्यो।
लाजिम्पाटको बैठकमा पुष्पकमल दाहाललाई आजका दिनसम्म मात्रै तपाईं मेरो अध्यक्ष हुनुहुन्छ, सहयोद्धाका तर्फबाट अन्तिम लाल सलाम भनें। भोलि मेरो राजीनामा आउँछ, भोलिदेखि मेरो अध्यक्ष मै हुन्छु। भोलिदेखि मेरो आफ्नै पार्टी हुन्छ। मेरो पार्टी भनेको कुटो-कोदालोको पार्टी। किसानको छोरा हुँ। सर्वसाधारणको जीवन जिउँछु। त्यहीबाटै देशका लागि योगदान गर्न सकें भने गर्छु भनेर निस्किएको हुँ।
त्यसपछि अध्यक्षले सम्पर्क गर्नुभएन?
मलाई प्रत्यक्ष फोन गर्नुभएको छैन। अलि अलि मेरो कुरा गर्नुहुन्छ रे भन्ने सुनेको छु। फोन पनि गरेको छैन, भेट पनि भएको छैन। अरू साथीहरूसँग फोनमा कुरा हुन्छ। अध्यक्षले म निस्किएको राम्रो मान्नुभएको छ। मैले पनि गज्जब मानेको छु।
कुटो-कोदालो पार्टी अध्यक्ष हुन पाउँदा सन्तुष्ट हुनुहुन्छ?
म राजनीतिमा पनि असन्तुष्ट थिइनँ। २३ वर्ष केन्द्रीय समितिमा सहित चार दशक सन्तुष्ट भएरै त्यो पार्टीमा काम गरेको हुँ। कुनै वेलाको क्रान्तिकारी पार्टी बिग्रिएपछि असन्तुष्टि जागेको हो। पार्टीमा हुँदासम्म आफ्नो क्षमता-प्रतिभाले भ्याएसम्म सक्रिय भएर काम गरें। पार्टी बिग्रिएपछि निस्केको हुँ। कसैलाई आरोप-प्रत्यारोप पनि लगाएको छैन। नेतृत्वले पनि जति सक्यो त्यति गर्यो। त्योभन्दा उता गर्न नसक्ने रहेछन्, गरेनन्।
मैले अहिले गरिराखेको कामबाट धेरै किसानहरूलाई प्रेरणा मिलेको छ। हिजो पनि मृत्युसँगै रमेर काम गरेको व्यक्ति हुँ। सोफामा सुतेर माओवादी बनेको होइन। अहिले पनि हाकिम बनेर बस्दिनँ, आफैं पनि काम गर्छु। यो मोर्चामा पनि बिझाएको छैन। सन्तुष्ट छु।
कम्युनिष्ट पार्टीमा बिताएको ४० वर्ष खेर गए जस्तो लागेको छैन?
छैन छैन। नामको मात्रै भए पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व र नेपाली जनतालाई बोल्न सक्नेसम्म त बनाइयो नि। त्यो ४० वर्षसँग मलाई घृणा छैन।
अब राजनीतिमा फर्कने सम्भावना छ?
म माटो, गोबर र पसिना गन्हाउने माओवादी हुँ। तर, राजनीतिमा फर्किने सम्भावना ९९.९९ प्रतिशत छैन।