‘तेस्रो पटक टिकट नदिने व्यवस्था गरौं’
दुई पटक चुनाव जितेका व्यक्तिलाई तेस्रो पटक टिकट नदिने व्यवस्था गर्नुपर्ने सांसद खिमलाल देवकोटाले बताएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले राजनीतिक दलहरूलाई टिकट वितरण गर्ने व्यवस्थामा परिवर्तन गर्न आग्रह गरे। “दुई पटकको चुनावमा विजयी भइसकेकालाई तेस्रो पटक टिकट नदिने व्यवस्था गरौं,” सांसद देवकोटाले भने।
दुई पटक जितेका नेताहरूले तेस्रो पटक चुनाव नलडी आराम गर्नुपर्ने उनको भनाइ थियो। “दुई पटक लगातार जितेपछि तेस्रो पटक आराम गर्ने नै हो। अरूलाई अवसर दिने हो। आफ्नो पेशा, व्यवसाय गर्ने हो,” देवकोटाले भने।
अब राजनीतिलाई नै पेशा बनाउने प्रवृति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, “राजनीतिलाई सधैं दुहुनो गाई जस्तो ठान्ने घातक प्रवृति छ। यसको अन्त्य जरुरी छ।”
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा भइसकेकाले अब संसद् चलाउन नहुने उनको भनाइ थियो। संविधानले प्रतिनिधि सभाका सभामुख र उपसभामुखको समयावधि चुनावको अघिल्लो दिनसम्म रहने व्यवस्था गरेको उल्लेख गर्दै चुनाव घोषणासँगै सांसदको म्याद सकिएको उनको भनाइ थियो।
प्रतिनिधि सभासँगै प्रदेश सभाका सांसदको पनि म्याद सकिएको उनको भनाइ थियो। अब सांसदका नाममा खर्च गर्न नहुनेमा उनले जोड दिए।