प्राङ्कको नाममा हिंसा‚ के छ कानूनी व्यवस्था?
नेपालमा प्राङ्ककै कारण अहिलेसम्म ज्यान जाने घटना नभए पनि धेरै हिंसामा परेका छन्। तर‚ विदेशमा भने ज्यान जानेसम्मका घटना भएका छन्।
प्रहरीले साउन ९ गते नवलपुर जिल्लाकाे हुप्सेकोट गाउँपालिका-३, गिरुबारीका २६ वर्षीय पूर्णचन्द्र (प्रदीप) भुसाललाई एक महिलालाई दुर्व्यवहार गरेको कसूरमा पक्राउ गर्यो। भुसालले ब्यांकबाट पैसा निकालेर फर्केकी महिलालाई एकान्तमा एसिड खन्याइदिन्छु भन्दै पैसा, गरगहना, मोबाइल लुट्न लागेको प्राङ्क भिडिओ बनाएर आफ्नो यूट्युब च्यानलमा अपलोड गरेका थिए।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार‚ नेपालमा प्राङ्ककै कारण अहिलेसम्म ज्यान जाने घटना नभए पनि धेरै हिंसामा परेका छन्। ब्यूरोमा आर्थिक वर्ष २०७८/७९ मा प्राङ्कका कारण हिंसा र मानसिक यातना भोगेको भन्दै १५ वटा उजुरी परेको थियो। तर, त्यो सङ्ख्या तेब्बरसम्म हुन सक्ने ब्यूरोका प्रवक्ता पशुपतिकुमार राय बताउँछन्।
“किनभने, यहाँ एक दिनमै यूट्युबमा सयौं यस्ता भिडिओ हालिन्छन्,” राय भन्छन, “हामीले त उजुरी दिएपछि मात्र छानबिन गर्ने हो। फेरि कतिलाई जुनसुकै बहानामा पनि दुर्व्यवहार गरे कारबाही हुन्छ भन्ने थाहै छैन।” प्राङ्कको नाममा दुर्व्यवहार भएको थाहा नपाउने र पाएर पनि उजुरी नदिने विभिन्न देशमा छन्।
प्राङ्कका नाममा सर्वसाधारणलाई दिनहुँ जस्तो आतङ्कित पारिएको प्रहरीले जनाएको छ।
विदेशमा भने ज्यान जानेसम्मका घटना भएका छन्। सन् २०२० मा अमेरिकाको न्याशभेलमा २३ वर्षीय डेभिड स्टारन्सले पार्किङमा रहेका २० वर्षीय तिमोथी विल्किसलाई चक्कु देखाएर लुट्न खाजे। तिमोथीले आत्मरक्षाका लागि तत्काल गोली चलाउँदा डेभिडको घटनास्थलमै मृत्यु भयो। मृत्युपछि थाहा भयो, डेभिड प्राङ्क भिडिओ बनाइरहेका थिए।
सन् २०१३ मा अमेरिकाकै कोलोराडोमा १८ वर्षीया प्रेमिला लालले पनि प्राङ्क गर्ने क्रममा ज्यान गुमाइन्। प्रेमिला आफ्नो घरमा आएकी साथी नेरिक गेलीलाई कोठामा भएको दराजभित्रबाट निस्किएर ‘सरप्राइज’ दिन चाहन्थिन्। उनी दराजबाट एक्कासि निस्किंदा नेरिक तर्सिइन् र गोली चलाइन्। गोली लागेर गम्भीर घाइते प्रेमिलाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो।
पछिल्लो समय यूट्युबमा प्राङ्क अर्थात् भद्दा मजाक भिडिओ बनाउने क्रममा दुर्घटना भई धेरैको ज्यान गएको छ। तर, यकिन तथ्याङ्क छैन। नकारात्मक प्राङ्कका कारण केही मानसिक रोगी भएका छन्। केहीले जेल सजाय पनि भोगेका छन्। दुई वर्षअघि लन्डनको नेशनल पोट्रेट ग्यालरीमा चित्र चोर्ने प्राङ्क गर्दा अमा ड्यानियल जार्भिसले सात महीना जेल सजाय भोगेका थिए।
सन् २०१५ मा ‘यूट्युब प्राङ्क एक्रोस कल्चर’ शीर्षकमा अमेरिकी प्रोफेसर रेन्नी होब्स र जर्मन प्रोफेसर सिल्क ग्राफले गरेको अध्ययनमा अनलाइन प्राङ्क गर्ने र पर्नेहरू अधिकांश किशोर अवस्थाका छन्। उनीहरूमध्ये धेरैलाई प्राङ्क गर्दा सामाजिक, जातीय सद्भाव र शान्ति खलबलिएको थाहै हुँदैन। यसो गरे सजाय हुन्छ वा दिन सकिन्छ भन्ने जानकारी हुने नगण्य हुन्छ। जानकारी हुनेमध्ये पनि कमले मात्र उजुरी गर्ने अध्ययनले देखाएको छ। उक्त अध्ययन अनुसार, अमेरिका र जर्मनमा प्राङ्कबाट १२ वर्षमुनिका बालबालिका पीडित छन्।
प्राङ्कको नाममा दिइने मानसिक पीडा, अपमान र हिंसा वास्तवमा दिइने पीडाभन्दा छैन। तर‚ प्राङ्क गर्ने विरुद्ध उजुरी नदिंदा यस्ता क्रियाकलापले बढवा पाई झन् बढ्ने अधिवक्ता सबिन श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “नेपाली समाजलाई कुरूप बनाइरहेको यस्ता कार्य रोक्न सजायको दायरमा ल्याउनु नै उत्तम हो। अन्यथा के थाहा, भोलि यही कामले अरूलाई दुःख दिएर अपराधमा पनि संलग्न हुन सक्छन्।”
गृह मन्त्रालयले २०७८ माघ १३ गते सूचना निकालेर सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) को नाममा सर्वसाधारणलाई सास्ती दिएको गुनासो आएको त्यसो गरे कानून बमोजिम कारबाही हुने चेतावनी दिएको थियो। तर, सरकारको चेतावनीपछि पनि त्यस्ता क्रियाकलाप रोकिएका छैनन्।
प्राङ्क गर्ने र पर्ने दुवैलाई समस्या
केही वर्षअघि सार्वजनिक स्थलमा प्राङ्कमा परेकी एक महिलाले मनोविद् डा. गंगा पाठकलाई भेटिन्। त्यो प्राङ्क गरिएको भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’ भयो। त्यसपछि श्रीमान् र परिवारका सदस्यले ती महिलालाई दोष दिए। उनी थप पीडामा परिन्।
“विशेष गरी विवाहित महिलाहरूलाई भिडिओ इन्टरनेटमा आएपछि समस्या भएको छ,” डा. पाठक भन्छिन्, “यस्ता भिडिओमा दुर्व्यवहार गरेको र संसारले हेरेपछि मानिस थाहै नपाई डिप्रेशनमा पुगेका छन्।”
मनोविद् गोपाल ढकाल भद्दा मजाकले व्यक्तिको संवेदनशीलता अनुसार गहिरो आघात पुर्याउने बताउँछन्। बालबालिका, महिला र वृद्धवृद्धालाई सबैभन्दा बढी असर पर्ने उनको भनाइ छ। यस्ता दुर्व्यवहार भोगेका व्यक्तिलाई परामर्श आवश्यक छ भन्ने थाहा नहुँदा समस्या बढ्ने ढकालको बताउँछन्।
“कसैलाई चक्कु, छुरी, एसिड देखाएर ठट्टा गरे पनि सामान्य लाग्छ, तर मनोबल कमजोर भएका र संवेदनशील व्यक्तिले यस्तो घटनालाई स्विकार्नै सक्दैनन् र एन्जाइटी हुन्छ,” ढकाल भन्छन्, “अझ सबैले देखेपछि उनीहरूको एन्जाइटी बढेर डिप्रेशन हुन्छ र जीवन सुस्त, नीरस र कसैलाई विश्वास गर्नै नसक्ने अवस्था आउँछ।”
ढकालको भनाइमा पाठक पनि सहमत छिन्। प्राङ्कको घटनालाई केहीले सामान्य लिए पनि केहीले भने सहनै नसक्ने पाठकको भनाइ छ। उनका अनुसार, प्राङ्कमा पर्ने मात्र नभई गर्ने पनि समस्यामा परेका छन्।
दुई वर्षअघि एक महिलाले आफ्ना छोरा सधैं सपनामा डराउँछ भन्दै डा. पाठककहाँ आइन्। उपचार गर्दै जाँदा ती किशोर साथीभाइको संगतले साइबर अपराध तथा इन्टरनेट कुलतमा संलग्न र प्राङ्क भिडिओ बनाउने गरेको पनि पाइएको पाठकले सुनाइन्। पैसा कमाउने लोभ र कसैको उक्साहटमा परेर प्राङ्क भिडिओ बनाउँदै गए साइबर अपराधमा पनि संलग्न हुन सक्ने जोखिम रहेको डा. पाठक बताउँछिन्।
“उसले यस्ता भिडिओ र अनलाइन यौनसम्पर्क गर्न नपाउँदा तर्सिने, बर्बराउने भएछन्,” डा. पाठक भन्छिन्, “ती भाइलाई दुई महीना काउन्सिलिङ गरेपछि अहिले ठीक छन्।”
मुटुको रोगी वा कुनै पनि रोगको औषधि खाइरहेका बिरामी प्राङ्कमा परे हृदयाघात हुन सक्ने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्। “झस्काउने, तर्साउने, अचानक डर देखाए कमजोर मनोबल भएका व्यक्तिको मुटुले सहनै सक्दैन,” भट्टराई भन्छन्, “स्वास्थ्य स्थिति नै नबुझी यस्ता व्यवहार गरे ज्यानको जोखिम हुन्छ।”
के छ कानूनी व्यवस्था?
अमेरिकाका कानून अनुसन्धाता गोर्डन बेरीले आफ्ना विभिन्न लेखहरूमा सन् १९४० देखि टेलिभिजनका रियालिटी शोहरूमा हास्यव्यङ्ग्य र झुक्याउने कार्यक्रम प्रसारण गर्न थालेको उल्लेख गरेका छन्। ती कार्यक्रममध्ये झुक्याएका भिडिओ सामग्री धेरैले हेरेको पाइएको छ। इन्टरनेटमा पनि त्यस्तै सामग्रीका दर्शक बढी हुन थालेपछि ‘भ्यूज’ कै लागि प्राङ्क भिडिओको निर्माण बढ्न थालेको अनुमान छ।
यस्ता नकारात्मक क्रियाकलाप नियन्त्रण गर्न केही दशकयता विभिन्न देशमा कानून निर्माण गरिएका छन्। तर, त्यस्ता भिडिओ बनाउनेको सङ्ख्यामा कमी आएको छैन। ‘नोलोज इन्साइक्लोपिडिया अफ एभ्रिडे ल’को सातौं संस्करणमा विश्वका अधिकांश देशमा आपत्तिजनक ठट्टालाई गैरकानूनी भनिए पनि ‘प्राङ्क’ शब्द नै उल्लेख गरेर गैरकानूनी भनी नलेखिएको उल्लेख छ। प्राङ्कबाट कुनै व्यक्ति पीडित भए त्यस्ता क्रियाकलाप गर्नेलाई मानहानि, दुर्व्यवहार र गोपनीयता हक हनन भएको भनी सजाय दिने गरिएको छ।
‘द ल एड्भाइजोरी’ संस्थाले भने प्रायः देशमा प्राङ्कका लागि छुट्टै कानूनी व्यवस्था नभएकाले प्राङ्क गरेर पीडित बनाएको भनी अपराध ऐन अन्तर्गत कारबाही गर्नु जायज नभएको बताएको छ। यसो गर्दा सामान्य गल्ती गर्नेलाई पनि जघन्य अपराधी झैं सजाय दिइएको संस्थाको दाबी छ। अमेरिकाको क्यालिफोर्निया र टेक्सस राज्यमा पनि प्राङ्क गर्नेलाई अपराध ऐन अन्तर्गत नै सजाय दिइन्छ।
रसियाको ‘पिउ रिसर्च सेन्टर’को अध्ययनले अभिव्यक्ति स्वतन्त्रता भएका मुलुकमा प्राङ्क भिडिओ बनाइँदै आइएको देखाएको छ। बर्मा, उत्तरकोरिया, तुर्कमेनिस्तान, लिबिया, क्युबा, सिरिया, उज्वेकिस्तान जस्ता अभिव्यक्ति स्वतन्त्रता नभएका मुलुकमा भने सबैले प्राङ्क गर्न नसक्ने अध्ययनले देखाएको छ। अभिव्यक्ति स्वतन्त्रता मानिसको अधिकार भएकाले प्राङ्क गर्न पाउनुपर्ने सेन्टरको माग छ। तर‚ अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको मानहानि हुन नदिन जनचेतना वृद्धि गर्नुपर्ने अधिवक्ता सबिन श्रेष्ठ बताउँछन्।
नेपालमा प्राङ्क गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानूनी दायरामा ल्याउँदै आएको साइबर ब्यूरोका प्रवक्ता राय बताउँछन्। ऐनको दफा ४७ मा प्रचलित कानूनले रोक लगाएका सामग्री कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने उल्लेख छ। यस्तै‚ महिलालाई जिस्क्याउने लगायत अमर्यादित काम गर्ने वा गराउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। मुलुकी अपराधसंहिता २०७४ मा पनि विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा एक वर्ष कैद र १० हजारसम्म जरिवाना हुने उल्लेख छ।
उजुरीका आधारमा केहीलाई सम्झाएर पठाए पनि उनीहरूले त्यस्ता काम गर्न नछाडेको ब्यूरोका प्रवक्ता राय बताउँछन्। “उनीहरूलाई बुझाएर पठाएको केही दिनमा नै फेरि त्यस्तै भिडिओहरू बनाएर हालेका छन्,” राय भन्छन्, “च्यानल नै हटाउन लगाउन पनि हामीसँग अधिकार हुँदैन, तर च्यानलभित्रका यस्ता भिडिओ हटाउन लगाउँछौं।”
कसरी रोक्ने?
गुगलको सर्च बटनमा ‘नेपाली प्राङ्क’ लेखेर खोजी गर्दा ‘एसिड काण्ड’, ‘कसरी गर्ने सेक्स’, ‘तँ अपहरणमा परिस्’ लगायत शीर्षकमा नक्कली पेस्तोल, हम्मर, एसिड बोकेर मानिसलाई लखेटिएका सामग्री भेटिन्छन्। कतै त अपशब्द बोल्दै क्यामेरा लिएर कसैको घरभित्र पसिरहेको भिडिओ सामग्री पाइन्छ। यी सबै क्रियाकलाप गरिसकेपछि अन्त्यमा ‘यो त प्राङ्क गरेको’ भन्छन्।
यस्ता क्रियाकलापले कुनै व्यक्तिमा तत्काल उत्तेजना, आक्रोश मात्र देखिए पनि दीर्घकालमा समाजमा ठूलो समस्या सिर्जना गर्ने समाजशास्त्री दीपेश घिमिरे बताउँछन्। इन्टरनेट मार्फत सबैको हातहात रहेको मोबाइल फोनमा भिडिओ पुगेपछि बालबालिकामा सबैभन्दा धेरै नकारात्मक असर पर्ने घिमिरेको भनाइ छ। यस्तै कुरा सिके बालबालिका अपराधमा संलग्न हुन सक्ने घिमिरे बताउँछन्। उनका अनुसार‚ प्राङ्क भिडिओ बनाउन पनि समाजले नै अप्रत्यक्ष सहयोग गरिरहेको छ। घिमिरे भन्छन्‚ “पढ्ने लेख्ने सामग्री इन्टरनेटमा आए नहेर्ने र अरूलाई होच्याएको, गाली गरेको, दुःख दिएको एकै छिनमा भाइरल हुने समाजको चरित्रले पनि प्राङ्कलाई उक्साएको छ।”
समाजशास्त्री प्रा.सुरेन्द्र मिश्र यस्तो अवस्था सिर्जना हुनुमा कमजोर नेपाली सामाजिकीकरण र बेरोजगारी कारक भएको औंल्याउँछन्। “यसमा हाम्रो शिक्षा र अभिभावकले पनि आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ‚” मिश्र भन्छन्, “बेरोजगारीका कारण पैसा कमाउन मानिसले जस्तोसुकै काम गर्ने भए र नैतिक शिक्षाको अभावमा युवाहरूले सही र गलत छुट्याएनन्।”
यस्ता गलत कामलाई रोक्न तीन उपाय रहेको समाजशास्त्री घिमिरे बताउँछन्। कडा कानूनी व्यवस्था, कानूनबारे नागरिककालाई जानकारी र विद्यालयमा नैतिक शिक्षा चाहिने उनको सुझाव छ। विद्यालयमा नैतिक शिक्षा राम्ररी लागू गरे अन्य दुई उपाय पनि आवश्यक नपर्ने घिमिरे बताउँछन्।
“जापानमा कक्षा ५ सम्म नैतिक शिक्षा मात्र दिइन्छ। मानिसलाई कसरी सम्मान गर्ने, कसरी आफ्ना सरसामान सुरक्षित राख्ने, कसरी बोल्ने, कसरी मद्दत गर्ने, कसरी वृद्धवृद्धालाई सम्मान गर्ने, बाटोमा कसरी हिंड्ने, घरमा कसरी सहयोग गर्ने जस्ता कुरा सिकाइन्छ। जसले उनीहरूलाई उत्तरदायी बनाएको छ‚” घिमिरे बताउँछन्‚ “त्यसैले त्यहाँका बालबालिकाले हरेक व्यक्तिलाई सम्मान गर्छन्‚ अरूको पीडामा दुःख बोध गर्छन्। नेपालमा पनि यस्तै शिक्षाको आवश्यक छ। प्राङ्क नबनाउने होइन, बनाउने तर अरूलाई खुशी दिएर बनाउनुपर्यो।”
अधिवक्ता श्रेष्ठ आधुनिकताका नाममा उच्छृङ्खल काम गर्नेलाई उन्मुक्ति दिन नमिल्ने बताउँछन्। यस्ता मुद्दालाई सरकारवादी बनाउनुपर्ने उनको सुझाव छ। व्यक्तिवादी मुद्दा बनाउँदा पीडितले नै कानूनी लडाइँ लड्नुपर्ने भएकाले दुर्व्यवहारमा परेकाहरूले उजुरी नगरेको अधिवक्ता श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “त्यही भएर दुर्व्यवहार खेप्ने धेरै भए पनि उजुरी दिने थोरै मात्र छन्। यसलाई सरकारवादी मुद्दा बनाउनै पर्छ।”