स्कूलमा मैले जे सहें
विद्यालय र पाठ्यक्रममा जातीय छुवाछूत झल्कँदा दलित दिनहुँ अपमान सहन्छन्, कति त सदाका लागि पढाइ नै छोड्न बाध्य हुन्छन्।
शिक्षकहरूसँग हारगुहारपछि मैले विजयेश्वरी प्राविमा भर्ना पाएँ। मलाई भर्ना गरेपछि बुबा निकै खुशी हुनुभयो। रुकुमकै पुरानोमध्येको यो विद्यालयमा बादी समुदायको त के कुरा, अरू दलित विद्यार्थी पनि नगण्य हुन्थे। ब्राह्मण पण्डितहरूले पढाउने भएकाले त्यहाँका विद्यार्थी सफल हुन्छन् भन्ने छाप बुबालाई परेको रहेछ।
विद्यालय घरदेखि टाढा थियो। बिहान खाएर हिंडेपछि दिउँसो छेउको जङ्गलमा फलफूल भेट्टाए मात्र हो, नत्र एकैचोटि बेलुकी भात खान पाइन्थ्यो। त्यसमाथि विद्यालयमा शिक्षक र साथीहरूले गर्ने विभेदका कारण दलित बालबालिका लामो समय टिक्न सक्दैनथे।
भर्ना भएपछिको पहिलो वर्षको नतीजा आयो। म उत्तीर्ण मात्र भएँ। कक्षागत सबै परीक्षामा प्रथम हुने म अन्तिम परीक्षामा जहिल्यै पास मात्र हुन्थें। यसबारे शिक्षकहरूसँग बहस गर्ने मेरो सामर्थ्य थिएन।
एक बादी केटाले ब्राह्मण शिक्षकमाथि प्रश्न उठाउनु विद्यालयबाट निकालिनु पनि हुन सक्थ्यो। यही यथार्थबीच बादी समुदायबाट उच्चशिक्षा पाउने पहिलो व्यक्ति बन्नु मेरा लागि गर्वभन्दा बढी आफ्नो समुदायप्रतिको दायित्वबोध बन्यो।
कक्षा ५ मा पढ्दा ताका हो। हामी भलिबल खेलिरहेका थियौं। खेल्दै गर्दा मैले शिक्षकलाई छुन पुगें। ‘बादीको छाउराले बाहुनलाई छोयो’ भनेर ठूलै मुद्दा बनाइयो। मलाई विद्यालयबाट निकाल्ने योजना नै बन्यो। तर, केही शिक्षकले त्यसो गर्न नहुने अडान लिएपछि जोगिएँ। तापनि, सजायस्वरूप मलाई सबै विद्यार्थीसामु लठ्ठीले कुटियो।
मलाई लाग्छ, त्यति वेला म निष्कासित नहुनुमा दुई कारण थिए। पहिलो, पढाइमा अब्बल भएकाले जिल्लास्तरीय परीक्षामा विद्यालयलाई राम्रो परिणाम दिन मेरो आवश्यकता थियो। दोस्रो, मेरो पढाइकै निम्ति बुबाले बेचेको आत्मसम्मान। उहाँ छोरालाई विद्यालयबाट ननिकालिदिन आलापविलाप गर्दै हरेक दिन माछा बोकेर शिक्षकका दैला चहार्नुहुन्थ्यो।
पारम्परिक संस्कार र मानसिकता हावी भएकैले पाठ्यक्रम बनाउने बौद्धिक वर्ग अझै पनि पाठहरूमा जातीय विभेद बढाउने कुरा हटाउनेतर्फ जागरुक देखिँदैन।
मैले कुनै अपराध गरेको थिइनँ। केवल मान्छेले मान्छेलाई छोएको हो, त्यो पनि झुक्किएर। उक्त घटनापछि वर्षौंदेखि शोषित र दमित मानसिकतामा बाँचेका बुबाले दिने शिक्षा पनि त्यसभन्दा विपरीत किन हुन्थ्यो र? बाल मनोविज्ञानमा परेको त्यो छापले अहिले पनि मलाई झस्काउँछ। जातव्यवस्थाले गाँजेको समाजमा राज्यका हरेक पक्षले त्यसैलाई पालनपोषण गर्दै आएको छ। त्यसको प्रत्यक्ष मारमा अति सीमान्तीकृत समुदाय छन्।
विभेदकारी पाठ्यक्रम
म अहिले ‘विद्यालय पाठ्यक्रममा दलित’ विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर काम गरिरहेको छु। यस क्रममा खोजबिन गर्दा पुराना पाठ्यक्रमहरूमा विविधता र एकतालाई जोड दिइए पनि संस्कृति, वेशभूषा जस्ता पक्षमा दलितलाई समावेश गरिएको पाइँदैन। तिनमा जातीय व्यवस्थालाई पुनरुत्थान गर्ने प्रवृत्ति देखिन्छ।
जस्तो- २०३७ साल ताका कक्षा ५ मा पढाइने एउटा किताबमा समाजमा वर्णव्यवस्था अनुसार कामको विभाजन रहेको भन्दै ब्राह्मणको काम पढ्नु, पढाउनु, होम-यज्ञ गर्नु; क्षेत्रीको काम पढ्नु, राष्ट्रको सेवा र राज्य सञ्चालन गर्नु; वैश्यले कृषि, व्यापार र पशुपालन गर्नु र शूद्रको काम चाहिं यी तीनै वर्गको सेवा गर्नु भनी तोकिएको छ। पञ्चायतमा हुर्के/बढेको नेपाली पुस्ताले यस्तै शिक्षा पढ्यो, सामाजिक व्यवहार पनि त्यसै अनुरूप गर्दै आयो।
कक्षा ७ मा एउटा पाठ थियो- आफूलाई बिर्संदा। त्यसमा उल्लेख भए अनुसार भाँड जाति (बादी) समुदायका १० जना मानिस यात्रामा हुन्छन्। तर, कर्णाली नदी तरे लगत्तै तिनैमध्येको कसैले गन्दा नौ जना मात्र फेला पार्छ। अरूले पालैपालो गन्दा पनि सङ्ख्या ९ भन्दा बढ्न नसकेपछि उनीहरू एक जनालाई कर्णालीले बगाएको भन्दै बिलौना गर्न थाल्छन्।
त्यसै क्रममा एक पण्डितले गन्ने मानिसले आफैंलाई चाहिं गन्न बिर्सिएकाले सङ्ख्या कम भएको भनी बुझाएपछि उनीहरू रुन छाड्छन्। भाँडहरूलाई होच्याउने शैलीको त्यो पाठले आफैंलाई सङ्केत गरेको ठानेर म दोस्रो दिन कक्षामा जानै सकिनँ। नभन्दै त्यसपछिका हरेक दिन मलाई त्यही शब्दले बोलाउन थालियो। माथिल्लो कक्षाकाहरू खोला तर्दा ‘ए भाँड्, यो तेरो काम हो, मैले जुत्ता लगाएको छु, बोकेर तारिदे’ भन्न थाले। साथीहरू पनि खिसी गर्न थाले।
अति भएपछि म पढाइ छाडेर काम गर्न भारत जाने तयारीमा थिएँ। तर, म विद्यालय नआएको थाहा पाएपछि प्रगतिशील विचार राख्ने केही शिक्षकहरू घरमै आएर सम्झाए। अपमानजनक शब्द प्रयोग गर्नेहरूलाई कारबाही गर्ने आश्वासन दिएपछि फेरि विद्यालय जान थालें। अहिले मलाई एउटा कठिन र सङ्घर्षशील जीवन पार गरेको महसूस हुन्छ।
हिन्दू वर्णव्यवस्थाले परिकल्पना गरेको दलित समुदायका मुख्य पेशा आफैंमा वैज्ञानिक थिए। तर, तिनलाई अवहेलनापूर्वक हेरिंदा दलितहरू गर्दै आएको पेशा छाड्ने कि अपनाउने, दोधारमा छन्।
पारम्परिक संस्कार र मानसिकता हावी भएकैले पाठ्यक्रम बनाउने बौद्धिक वर्ग अझै पनि पाठहरूमा जातीय विभेद बढाउने कुरा हटाउनेतर्फ जागरुक देखिँदैन। पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ४ को नेपाली किताबमा ‘पछुतो’ शीर्षकको पाठ छ। त्यसले दिन खोजेको भाव राम्रो भए पनि पात्रहरूलाई गरिने सम्बोधनमा चरम विभेद छ। यस्ता पाठहरूले बाल मनोविज्ञानमा पार्ने प्रभाव अहिले पनि उस्तै छ।
मेरो छोरो काठमाडौंकै एक निजी विद्यालयमा पढ्छ। कक्षा ७ मा सामाजिक विषयको ‘छुवाछूत’ भन्ने पाठ शिक्षकले कसरी पढाए, थाहा छैन। तर, त्यसको भोलिपल्टैदेखि साथीहरूले उसलाई विभेद गर्न थालेछन्। अहिले ऊ सामाजिक विषय पढ्न मनै गर्दैन, त्यसमा अङ्क पनि कम ल्याउँछ।
गौरवको अवमूल्यन
हिन्दू वर्णव्यवस्थाले परिकल्पना गरेको दलित समुदायका मुख्य पेशा आफैंमा वैज्ञानिक थिए। तर, तिनलाई अवहेलनापूर्वक हेरिंदा दलितहरू गर्दै आएको पेशा छाड्ने कि अपनाउने, दोधारमा छन्। एक छाकका लागि अरूले घृणा गरेको पेशा भए पनि अपनाउन बाध्य मेरा अभिभावकले जे-जस्ता अपमान सहे, त्यो मैले पनि महसूस गरेको छु।
हाम्रो पुख्र्यौली पेशा मादल बनाउनु, माछा मार्नु हो जसका लागि गोरुभैंसीको छाला प्रशोधन गरिनुपर्छ। एकपटक बुबा गोरुको छाला बोकेर विद्यालयको बाटो जाँदै हुनुहुन्थ्यो। साथीहरू मलाई यही कुरा चर्को स्वरमा सुनाउँदै उहाँतिर हेर्न थाले। म भने लज्जित भई अन्तै हेरिरहें। तर, अहिले बुबाले अर्थ व्यवस्थापनका लागि गर्नुभएको त्यो परिश्रमप्रति गर्व लाग्छ। यस्तो सीप, कला र व्यवसायलाई सकारात्मक सामाजिक भाष्य दिइन्थ्यो त म जसरी कुनै दलित बालक मानसिक रूपमा पीडित हुने थिएन।
वर्णवादी संरचनामा दलितले आफ्नो सीप र कलालाई कहिल्यै शिक्षासँग जोड्न पाएनन्। बरु, उनीहरूको वैज्ञानिक सीप, कलालाई कष्टसाध्य जीवनको भाग्यको खेल भनी कम आँकियो। त्यही मनोविज्ञानका कारण अहिले पनि अधिकांश दलित विद्यार्थी विद्यालय छोड्न बाध्य छन्। दलित समुदाय शैक्षिक रूपमा कमजोर हुनुमा आर्थिक अवस्था पनि प्रमुख कारक तत्त्व हो।
अभिभावकको आर्थिक अवस्थामा सुधार नल्याएसम्म सीमान्तीकृत समुदायका बालबालिकाको शिक्षामा प्रगति हुन सक्दैन।
मेरा साथीहरू दलितसँगै ब्राह्मण, क्षेत्री र जनजाति पनि थिए। विभेद चाहिं बढीजसो दलितहरूलाई नै हुन्थ्यो। जनजातिमा पर्ने मगर साथीहरू पनि विभेदमा थिए, तर उनीहरूले दलित समुदायको जस्तो पीडा भोगेनन्। कारण, जनजातिहरू आर्थिक रूपमा अन्य जातिप्रति निर्भर थिएनन्। दलित समुदाय भने पूर्ण रूपमा गैरदलितप्रति निर्भर रहेकाले विभेद व्यापक थियो। दलितभित्रै पनि बादीलाई गरिने विभेद गैरदलितको भन्दा कम थिएन।
आज पनि जातका आधारमा हुने विभेदमा कमी आएको छैन। फरक यत्ति हो, हिजो धेरैजसो विभेद प्रत्यक्ष रूपमा हुन्थे, आज अप्रत्यक्ष रूपमा। विभेदको स्वरूप मात्र बदलिएको छ। यसलाई हटाउने मुख्य माध्यम शिक्षा नै हो। पहिले त हिन्दू वर्णवादी सोचबाट निर्देशित शिक्षा प्रणालीमै आमूल परिवर्तन आवश्यक छ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले पनि शिक्षामा दलित समुदायको पहुँच कमजोर देखाउँछ। कक्षा १ मा भर्ना भएका २० जना दलित विद्यार्थीमध्ये तीन जनाले मात्र १० कक्षा पार गर्छन्। यसको अर्थ हो, दलितलाई शिक्षा प्राप्तिमा शिक्षालयभित्रै विभिन्न बाधक छन्। शिक्षा सबैका लागि सहज र सुलभ हुनुपर्छ।
अर्कातर्फ, पाठ्यक्रमहरू सबै जात, जाति, धर्म, लिङ्ग, समुदायलाई सम्मान गर्न सक्ने खालका हुनुपर्छ। पाठहरू संयमित र संवेदनशील दृष्टिले बुझाउन सक्ने जनशक्ति (शिक्षक) चाहिन्छ। भएकै शिक्षकहरूलाई पनि सामाजिक सम्बन्धबारे व्यापक तालीम तथा प्रशिक्षणको आवश्यकता छ। विभेदयुक्त पाठहरू पूरै हटाइनुपर्छ।
मुख्य कुरा, अभिभावकको आर्थिक अवस्थामा सुधार नल्याएसम्म सीमान्तीकृत समुदायका बालबालिकाको शिक्षामा प्रगति हुन सक्दैन। सीमान्तीकृत समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याई भविष्य सुनिश्चित गराउनु राज्यको दायित्व हो।
(नेपाली समता फाउन्डेशनका वरिष्ठ अनुसन्धाता हुन्। हिमालको २०७९ साउन अङ्कबाट।)