मधेश केन्द्रित दलबीच चुनावी तालमेलको कसरत
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश केन्द्रित दलबीच तालमेलका लागि कसरत शुरू भएको छ।
संघ र प्रदेशको चुनाव घोषणासँगै मधेश केन्द्रित दलबीच तालमेलका विषयमा छलफल हुन थालेको छ। यसका लागि जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश केन्द्रितका दलका नेतासँग छलफल शुरू गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा राउत नेतृत्वको जनमत पार्टी नयाँ शक्तिका रूपमा आएको छ। दुई स्थानीय तहको प्रमुख र १९ वडाध्यक्ष जितेको थियो। मधेश केन्द्रित दलमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पछि तेस्रो नम्बरमा रहेको जनमत पार्टी अध्यक्ष राउतले तालमेलका लागि भेटघाट शुरू गरेको जनाइएको छ।
राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन्। यादव र ठाकुरसँगको भेटपछि राउतको सचिवालयले सामाजिक सञ्जाल मार्फत जानकारी दिंदै लेखेको छ, ‘सकारात्मक सोचौं (अरू पार्टीले पनि समर्थन गर्छन् र सहकार्य हुन्छ)।’
राउतले सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन्। गत निर्वाचनमा यस क्षेत्रबाट जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए। यादवसँगको भेटमा त्यस विषयमा पनि छलफल भएको राउतको सचिवालयले जनाएको छ।
यादव र ठाकुरसँग तालमेल गरेर जाने विषयमा छलफल भएको जनाइएको छ। दुवै जनासँगको छलफल सकारात्मक रहेको राउतले जनाएका छन्। “एकातिर पाँच-सात ठूल्ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ,” राउतको सचिवालयले भनेको छ, “त्यसैले जिल्ला/निर्वाचन क्षेत्र अनुसार समझदारी र सहकार्य हुन सक्ने सम्भावना पनि छ।”
मधेश केन्द्रित दलबीच आगामी चुनावमा तालमेल हुन सक्ने जसपा र लोसपाका नेताहरू पनि बताउँछन्। जसपा केन्द्रीय कार्यकारणी समिति सदस्य मनीष सुमनले पाँच दलीय गठबन्धनलाई जोगाउँदै मधेशमा विचार मिल्ने अन्य दलसँग पनि तालमेल हुनुपर्ने बताए। “जनमत र लोसपासँग पनि तालमेल हुन सक्छ,” सुमनले भने।
सप्तरी २ मा भने राउतले जसपा अध्यक्ष यादवलाई छोडेर अन्य क्षेत्र रोज्नुपर्ने उनको भनाइ छ।” डा. राउत सप्तरी २ बाट लड्नुहुन्छ भन्ने सुनेको छु। उहाँले त्यो हठ त्याग गरेर उपेन्द्र यादवजीलाई सघाउँदा नै बेस हुन्छ,” सुमनले भने, “यदि लड्नुहुन्छ भने त्यो निर्वाचन उहाँका लागि एउटा कर्मकाण्ड मात्रै हुनेछ, उपेन्द्रजीको नै जित सुनिश्चित छ।”
त्यस्तै, लोसपा नेता पनि मधेश केन्द्रित दलसँग तालमेल गर्नुपर्नेमा जोड दिन्छन्। लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पहिलो प्राथमिकता पाँच दलीय गठबन्धन नै भएको बताए। “पाँच दलीय गठबन्धनसँग सम्भव भएन भने एमालेसँग गठबन्धनमा जान्छौं,” सोनलले भने।
त्यससँगै मधेश केन्द्रित दलसँगको तालमेल पनि आवश्यक रहेको उनको भनाइ छ। “हाम्रो प्राथमिकतामा अहिले संसद्मा रहेका दलहरूबीचको गठबन्धन रहेको छ,” सोनलले भने, “राजनीतिमा असम्भव कुनै कुरा हुँदैन। राउतसँग पनि गठबन्धनको सम्भावना रहेको छ।”
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तालमेल भएको थियो। अन्य ६ प्रदेशमा एमाले र माओवादीको सरकार बनेको भए पनि मधेशमा समाजवादी र राजपाको सरकार बनेको थियो।