पानीको बहाव बढेपछि कोशीमा ‘हाई अलर्ट’
कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि ‘हाई अलर्ट’ गरिएको छ भने तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सचेत गराइएको छ।
पूर्वी पहाडमा अविरल वर्षाका कारण कोशीको जलस्तर अस्वाभाविक रूपमा बढेको छ। जसले गर्दा सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार अपराह्न ४ बजेको मापनमा कोशीमा दुई लाख २५ हजार क्युसेक बहाव रहेको बताए। दिउँसो १ बजेसम्म पानीको बहाव दुई लाख १० हजार क्युसेक रहेको थियो।
कोशीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको प्रजिअ यादवले बताए। “पानीको बहाव निरन्तर बढ्ने क्रम जारी छ,” प्रजिअ यादवले भने, “तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छौं।”
पानीको बहाव बढ्दै गएपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएकाले कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपर्ने उनले बताए। कोशीको श्रीलंका टापुमा भने जोखिम बढाएको र त्यस क्षेत्रमा बाढीले असर गरेको खण्डमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबीच निरन्तर सम्पर्क भइरहेको उनको भनाइ छ।
कोशी बाँधले नौ लाख क्युसेक पानीको बहाव धान्न सक्ने क्षमता छ। तर, पछिल्ला वर्षमा नदीको सतहमा बालुवा थुप्रिएकाले चार लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्।
शनिबार बिहान ११ बजे बराह क्षेत्रमा देखिएको पानी कोशी बाँधको मापनमा आइपुग्दा पाँच लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको प्रजिअ यादवले बताए।
तीन दिनअघि कोशी नदीले पश्चिमी तटबन्ध भत्काउँदा उदयपुरको बेलका नगरपालिका वडा नंं. २, ३, ९ र ८ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ८ का तीन हजार दुई सयभन्दा बढी घरपरिवार प्रभावित भएका थिए।