प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल पनि राखिएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीको अन्तिम विषयमा ‘महाअभियोग प्रस्तावमाथि छलफल’ पनि राखिएको छ।
सम्भावित कार्यसूचीमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने।’
सत्तारूढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता गराएका थिए। महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका थिए। त्यसयता कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीले सर्वोच्चको नेतृत्व गरिरहेका छन्।
नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा तीनै पार्टीका ९५ जना सांसदको हस्ताक्षर छ। जसमा जबरा विरुद्ध विभिन्न २१ वटा आरोप लगाएका छन्।
त्यसपछि प्रतिनिधि सभाले फागुन २२ गते महाअभियोग सिफारिश समिति गठन गरेको थियो। सिफारिश समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाम्फे सदस्य छन्।