विभेदका व्यथा उजागर गर्ने दुई पुस्तक
अलग अस्तित्व र पहिचान बोकेर असहज बाँचिरहेकाप्रति समभाव राखिए केही हदसम्म भए पनि विभेदरहित र न्यायपूर्ण समाज बनाउन सकिएला।
आत्मकथा र संस्मरण त धेरैले लेख्छन्, तर आफ्नो विगत वर्णनमा आफैंलाई इमानको कठघरामा उभ्याउन जोकोहीले कहाँ सक्छन् र! तर, केही संस्मरण खुलस्त, इमानदार र प्रभावका दृष्टिले शक्तिशाली समेत छन्। प्रतिकूल परिस्थितिबीच लेखनबाटै आफ्नो परिचय बनाएका दुई लेखक बर्नार्डिन एभारिस्टो र रोक्सान गेका संस्मरण पढ्दा दिमागमा निरन्तर झट्का लाग्छ।
बर्नार्डिनका बुबा नाइजेरियाबाट बेलायत गएर त्यहींकी गोरीसँग घरजम गरी बसे। बर्नार्डिनको शरीरको रङ बुबापट्टि गयो। अहिले त अश्वेत जातिप्रति बेलायतीहरू धेरै उदार र सहिष्णु छैनन्, सन् १९६० ताका झन् त्यहाँको समाजमा चर्को रङ्गभेद व्याप्त थियो। समुदाय, विद्यालय, कलेज, प्रार्थनास्थल, कार्यस्थल, सार्वजनिक स्थल सर्वत्र रङ्गभेदी व्यवहार झेल्दै हुर्किन्, बढिन्।
यिनै अपमान र विभेदका कुरा निरन्तर लेखनमा उतारिन् र प्रसिद्धि हासिल गरिन्। संस्मरण कृति मेनिफेस्टो (सन् २०२१) मा बर्नार्डिनले त्यही सङ्घर्षपूर्ण यात्राबारे लेखेकी छन्।
पुस्तकको उपशीर्षकमा ‘अन नेभर गिभिङ अप’ लेखिए झैं उनले जीवनमा कहिल्यै हार मानिनन्। कालो वर्ण, अग्लो शरीर, कथित ‘केटा जस्तो’ शारीरिक दारका कारण हरबखत मानिसहरूको उपहास भोगिन्। सामाजिक घृणाको तीतो अनुभवलाई सिर्जनामा अभिव्यक्त गर्न थालिन्। बर्नार्डिन कविता मार्फत साहित्यमा प्रवेश गरिन्।
उनका धेरै उपन्यासमा काव्यिक प्रभाव देखिन्छ। लेखनमा प्रयोग गरिराख्ने उनका हरेक उपन्यास विषयवस्तुका साथै प्रस्तुतिका हिसाबले पनि अलग छन्। ब्लोन्ड रुट्समा काला शासकले गोरा दासहरूलाई कज्याएर साम्राज्य खडा गरेको कथानकबाट नयाँ बहस निम्त्याएकी छन्।
पछिल्लो उपन्यास गर्ल, वुमन, अदरमा अधिकांश महिला र काला जातिका १२ पात्रका अलग कथा समेटेकी छन्। यसै उपन्यासबाट सन् २०१९ को बुकर पुरस्कार (क्यानाडेली लेखक मार्गरेट याटउडको द टेस्टामेन्टसँग संयुक्त रूपमा) पाएपछि उनलाई पढ्नेहरूको सङ्ख्या बढ्न थाल्यो।
अमेरिकी लेखक रोक्सान गेको पारिवारिक पृष्ठभूमि भने बर्नार्डिनको भन्दा सम्पन्न छ। उनका बुबाआमा दुवै आप्रवासी थिए, हाइटीबाट अमेरिका छिरेका। रोक्सान १२ वर्षको उमेरमा आफ्नै प्रेमी र उसका साथीहरूबाट बलात्कृत भइन्। घटनाबारे बुबाआमा वा अरू नजिकका कसैलाई सुनाउन सकिनन्। आफैंलाई घृणा गर्दै र दोषी मान्दै बसिन्।
अब उप्रान्त बलात्कारबाट जोगिन कुरूप देह बनाउने अनौठो जुक्ति रचिन्। निरन्तर खाएको खायै गर्न थालिन्। धेरै खाने बानीले शरीर अतिशय मोटो बन्दै गयो। बलात्कारको स्मृतिदंश रहिरहँदा मोटोपनसँगै बहिष्करणको शिकार बन्न पुगिन्। यही कष्टसाध्य जीवनको फेहरिस्त हो, उनको संस्मरण कृति हङ्गर (२०१७)।
अन्ततः रोक्सानलाई ३०० पाउन्ड (झण्डै १३० किलो) को शरीर लिएर जीवन चलाउन सहज भएन। कलेजमा पढ्दा र पढाउँदा, साहित्यिक सम्मेलनहरूमा भाग लिँदा, जहाजमा यात्रा गर्दा, किनमेल र अन्य प्रयोजनमा बाहिर निस्किँदा मोटो शरीरले सकस थप्दै गयो। उमेर बढ्दै जाँदा शरीर रोगको घर बन्न थाल्यो। उनका अनुसार, एकातिर शरीर पिंजडा जस्तो भइसकेको थियो, अर्कातिर मोटोपनमाथि कटाक्ष र अश्लील गाली आइरहन्थे। तिनै घोचपेचलाई उनले लेखनको कच्चा पदार्थ बनाउँदै गइन्।
बर्नार्डिनको हँसीमजाक गर्ने बानी छ। यही बानीको प्रतिविम्ब उनका हास्यरसले ओतप्रोत आख्यानहरूमा पाइन्छ। रोक्सान भने गम्भीर स्वभावकी छिन्। तर, अन्तरमुखी रोक्सान र बहस गरिरहनुपर्ने बर्नार्डिन दुवैले शरीरको रङ, महिला जीवन, समलिङ्गी सम्बन्ध जस्ता आफ्ना व्यक्तिगत पाटालाई समाज र त्यहाँको राजनीतिसँग जोडेर गहिरोसँग विमर्श गरेका छन्। उनीहरूका जीवनमा भएका धेरै घटनासँग सामाजिक परिवेश, चिन्तन पद्धति र राजनीतिको अन्तरसम्बन्ध भेटिन्छ।
स्वभाव फरक भए पनि यी दुवै लेखकमा कतिपय समानता छन्ः आप्रवासी परिवार, कालो वर्ण, सन् १९८० को दशकमा लेखनमा सङ्घर्ष गर्ने महिला। दुवै जना विश्वविद्यालयमा सिर्जनात्मक लेखन पढाउँछन्। दुवैको यौनिक पहिचान भिन्न छ। समलिङ्गी जीवन सहज लागे पनि उनीहरू वेलाबखत विपरीत लिङ्गीसँग पनि सम्बन्धमा रहे।
उनीहरू जहाँ गए पनि अनुहारको रङका कारण विभेद र हेयभाव भोग्नुपर्थ्यो। त्योसँगै छालाको रङकै कारण समलिङ्गी सम्बन्ध व्यवस्थापन गर्न अर्थात् यौनसाथी भेट्न दुवैलाई झनै कठिन पर्यो।
पछिल्लो समय यी दुवै लेखक आआफ्नो युगल जीवन बिताइरहेका छन्। दुवै बच्चा नपाउने निर्णयमा अडिग छन्। नाटकसँग दुवैको संलग्नता निरन्तर छ। रोक्सानको त स्कूले जीवनबाटै पीडा भुलाउने माध्यम बन्दै गयो नाटक।
उता, बर्नार्डिनकै अगुवाइमा कालाहरूको पहिलो रङ्गमञ्च खुल्यो। उनले अश्वेत लेखकहरूको पहिलो सम्मेलन पनि आयोजना गरिन्। महिला, काला जाति र यौनिक अल्पसङ्ख्यकका पहिचान र पीडाबारे खुलेर बहस र पैरवी थालिन्।
रोक्सान पनि लेखन मार्फत कमजोर कित्तामा रहेका महिलाहरूको प्रवक्ता बनेकी छन्। उनको निबन्ध सङ्ग्रह ब्याड फेमिनिस्ट (२०१४) र कथा सङ्ग्रह डिफिकल्ट वुमन (२०१७) भित्र त्यस्तो आवाज पाइन्छ।
लेखकद्वय बर्नार्डिन र रोक्सानले भोगेर आए जस्तै फरक क्षमता र अलग अस्तित्वका मानिसलाई अझै पनि हाम्रो समाज अपमान, दुर्व्यवहार, हेलाहोचा र मानसिक हिंसा गर्छ। निःसन्तान दम्पती यस्तो हिंसाको मारमा छन्। लैङ्गिक अल्पसङ्ख्यकप्रति अपमानजनक शब्द प्रयोग गर्ने र यौन आक्रमण गर्ने प्रवृत्ति छँदै छ। छालाको रङका आधारमा सुन्दरता परिभाषित गरिन्छ।
दलित समुदायले जातीय विभेद भोगिरहेकै छन्। शारीरिक अपाङ्गता भएकाहरूप्रति दयाभाव देखाइन्छ। होचापुड्का, सुन्न नसक्ने, बोल्न अकमकाउने, हिंड्न नसक्नेहरू हास्य कार्यक्रमका प्रमुख मसला बनिरहेकै छन्।
पर्वते बाहुन-क्षेत्री सरह जिब्रो फट्कारेर नेपाली बोल्न नसक्नेहरूलाई उपहास गर्नेहरू अझै छन्, जो लवजकै आधारमा अरूलाई ‘अराष्ट्रिय’ करार गर्न पछि पर्दैनन्। भिन्न रङ, वर्ण र परिवेशका जोडीले पनि चोक-चौतारामा खिसीट्युरी र तिरस्कार पाइरहेका हुन्छन्। यी सबै पक्षका विभेदमा पुरुषको दाँजोमा महिला बढी निशानामा पर्छन्।
प्रकृति वा मानवसिर्जित यस्ता सबै असहजता, व्यवधान भोगेर जीवन अगाडि बढाउनेहरू वास्तवमै साहसी हुन्। अमेरिकी कवि माया एन्जेलो भन्थिन्, ‘विविधतामा सौन्दर्य र शक्ति दुवै छ। अभिभावकले यो कुरा सानैदेखि आफ्ना बच्चालाई सिकाउने वेला भइसक्यो।’ अलग अस्तित्व र पहिचान बोकेर असहज बाँचिरहेकाप्रति समभाव राखिए केही हदसम्म भए पनि विभेदरहित र न्यायपूर्ण समाज बनाउन सकिएला।
(हिमालको २०७९ साउन अंकबाट।)