काठमाडौं पुग्दा पनि पुछिएन आँसु
मिटर ब्याज र ठगीको जालोमा परेका नवलपरासीका किसानले फेरि काठमाडौंको माइतीघर मण्डलमा धर्ना शुरू गरेका छन्।
मिटर ब्याजका कारण मर्कामा परेका नवलपरासीका किसान एक वर्षदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले गत असारमा माइतीघर मण्डलमै धर्ना दिएका थिए। गृह मन्त्रालयले सहमति गरेर माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो।
असारमा १४ दिन लामो धर्नापछि घर फर्किएका किसान फेरि काठमाडौं पुगेका छन्। सरकारले गरेको प्रतिबद्धता अनुसार, माग पूरा नभएपछि उनीहरू फेरि माइतीघर मण्डलमा धर्नामा बसेका छन्।
गरीब, निरक्षर किसान तथा मजदूरले थोरै ऋण लिएको भए पनि साहुले ठगेर महँगो ब्याज थपेर मूलधनमै जोड्ने र त्यसलाई कीर्ते गरी तमसुक बनाउने गरेका कारण थुप्रै पीडित भएका छन्। पटक पटक ऋण तिर्दा पनि चर्को ब्याज तथा दृष्टिबन्धक गराएर जग्गा नै लिने गरेकाले बिचल्लीमा परेका छन्।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदूर संघर्ष समितिको अगुवाइमा उनीहरू फेरि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। साउन १८ गतेदेखि धर्ना शुरू गरेका उनीहरू सरकारले वास्ता नगरेपछि निराश देखिएका छन्। अघिल्लो पटक सरकारले मिटर ब्याजी साहुले जस्तै ठगेको भन्दै उनीहरूले माग पूरा नहुँदासम्म घर नफर्किने बताएका छन्।