चुनावी तालमेलबारे सहमति गर्न गठबन्धनका नेता बालुवाटारमा
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तालमेल गर्ने विषयमा निर्णय गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन्।
सरकारले चुनावको मिति घोषणा गरेसँगै गठनबन्धनका नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनका नेताहरूको छलफल चलिरहेको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल बैठकमा सहभागी छन्। त्यस्तै, सबै पार्टीका दोस्रो तहका नेता पनि छलफलमा सहभागी छन्।
बैठकमा चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ। अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म कायम राख्ने र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि गठबन्धनमा सहभागी गराउने विषयमा छलफल केन्द्रित रहेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ।