मतदाता नामावली सङ्कलन स्थगित, दल दर्ता प्रक्रिया शुरू हुने
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य आजबाट स्थगन गरेको छ भने छिटै राजनीतिक दल दर्ता प्रक्रिया शुरू गर्ने भएको छ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै आयोगले आजबाट मतदाता नामावली सङ्कलन स्थगन गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको थियो।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन गर्दै आएको थियो। अनलाइनबाट फारम भरेका मतदाताले भने शनिबारसम्म औंठा छाप र फोटो लिन सकिने व्यवस्था गरेको छ।
आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १० लाख मतदाता बढ्ने भएका छन्। स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख मतदाता थिए।
यससँगै आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया शुरू गर्ने भएको छ। छिट्टै दल दर्ता प्रक्रिया शुरू गरिने आयोगका प्रवक्ता पौडेलले बताए।