अभिभावकले तोक्छन् शुल्क
धनगढीको सरस्वती मावि र टीकापुरको कर्णाली माविमा निजी विद्यालयबाट पनि विद्यार्थी प्रवेश परीक्षा दिन जान्छन्, तर सबैले मौका पाउँदैनन्।
धनगढी उपमहानगरपालिका-३ का धर्मराज पौडेलको घरबाट गोदावरी नगरपालिका-३ स्थित सरस्वती मावि आठ किमि टाढा छ। बाटामा अरू पनि थुप्रै विद्यालय छन्। तर, पौडेलले आफ्ना दुई सन्तानलाई ६ कक्षादेखि सरस्वतीमै भर्ना गरेका छन्। जेठी छोरी रक्षा ११ र कान्छी लक्ष्मी ८ मा पढ्छन्।
“न्यून शुल्कमा राम्रो पढाइ हुन्छ। बच्चाहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा पढ्न पाउँछन्,” उनी भन्छन्, “त्यसैले यहीं भर्ना गरिदिएँ।” पछिल्लो वर्ष पौडेलकै टोलबाट अरूले पनि छोराछोरी त्यहीं भर्ना गरिदिएका छन्।
सरकारबाट २०६४ सालमा कैलालीकै पहिलो नमूना विद्यालय घोषित सरस्वती माविले त्यसयता त्यो गौरवलाई निरन्तरता दिइरहेकै छ। विसं २०१६ मा स्थानीय कृष्णराज भण्डारी, लक्ष्मण चन्द र छुट्टन रानाको पहलमा साविक गेटा गाविसमा एक कट्टा ६ धुर जग्गामा स्थापित विद्यालयमा शुरूमा ३० जना विद्यार्थी थिए। पहिलो पटक २०४१ सालमा २८ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए। यहाँ २०६६ सालदेखि अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइन थालेको हो।
उक्त विद्यालयका शिक्षक-अभिभावक सङ्घका अध्यक्ष हर्कबहादुर चन्दका अनुसार, विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई एउटै नियम बनाइएको छ। विद्यार्थी, शिक्षक जो ढिलो आए पनि गेटभित्र पस्न पाउँदैन। विद्यालयको हरेकजसो निर्णय व्यवस्थापन समिति र अभिभावकको उपस्थितिमा गरिन्छ।
“यहाँका ९५ प्रतिशत कर्मचारी र शिक्षकले आफ्ना बच्चा यहीं पढाएका छन्,” उनी भन्छन्, “त्यसैले पनि उनीहरू पढाइको वातावरण राम्रो बनाउन मिहिनेत गर्छन्।” विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि केन्द्रित गरिने भएकाले उनीहरू हरेक प्रतियोगितामा सफल भइरहेको चन्दको भनाइ छ।
प्रधानाध्यापक सुरज थापाका अनुसार, सीमित स्रोतसाधनका बावजूद विद्यालय राम्रो हुनुमा अभिभावकको ठूलो योगदान छ। यस वर्ष अङ्ग्रेजी माध्यमतर्फ एक हजार ९९ र नेपाली माध्यमतर्फ ८७२ जना भर्ना भएका छन्। “स्कूलको भौतिक संरचना बढीमा दुई हजार जनालाई मात्र पढाउन सकिने खालको छ,” उनी भन्छन्, “तर विद्यार्थीको चाप एकदमै बढेको छ।” थापाका पनि दुवै सन्तान यहीं पढ्छन्।
टिनको छाप्रोबाट शुरू भएको विद्यालय अहिले दुई बिघा चार कŁामा फैलिएको छ जहाँ ६५ कर्मचारी छन्। २० शिक्षकको दरबन्दी रहेकामा निजी स्रोतबाट समेत गरी ४५ जनाले पढाइरहेका छन्।
“शुल्क पनि अभिभावककै निर्णय अनुसार तोकिन्छ। सबैभन्दा बढी कक्षा १० मा मासिक एक हजार थियो,” थापा भन्छन्, “गत वर्षदेखि गोदावरी नगरपालिकाले २० शिक्षकका लागि बजेट विनियोजन गरेपछि शुल्क अझ घटाएका छौं।” अभिभावककै निर्णय अनुसार यहाँ स्थानीय पाठ्यक्रम लागू गरिएको छैन। तर, रैथाने विद्यार्थीलाई बुझ्न सजिलो होस् भनेर पढाउने क्रममा थारू र राना थारू भाषाको प्रयोग गरिन्छ।
विद्यालयले राज्यबाट पाउने बाहेक विभिन्न दातासँगको समन्वयमा पनि गरीब तर जेहनदार विद्यार्थीलाई पढाउँदै आएको छ। त्यसमध्ये अमेरिकाबाट हेमराज जोशीले प्रत्येक वर्ष पठाउने दुई लाख रुपैयाँबाट २० विद्यार्थीले पूर्ण छात्रवृत्ति पाइरहेका छन्। यस्तै, रेस्ट नामक संस्थाका तर्फबाट १२ र विद्यालयका तर्फबाट १५ जनालाई पूर्ण छात्रवृत्तिमा पढाइन्छ।
प्रधानाध्यापक थापा विद्यार्थीको चाप बढिरहेकाले सरकारबाट नयाँ योजनाको अपेक्षामा छन्। “सरकारले आवश्यकताका आधारमा विद्यार्थी सङ्ख्या हेरेर अनुदानको कार्यक्रम दिनुपर्छ,” उनी भन्छन्, “साथै शिक्षकहरूलाई प्रविधितिर लैजान सान्दर्भिक तालीमको व्यवस्था गर्नुपर्छ।”
कर्णाली माविमा झुम्मिँदै विद्यार्थी
टीकापुर नगरपालिका-१ स्थित कर्णाली माविमा अहिले विद्यार्थीको चाप ह्वात्तै बढेको छ। तर, भौतिक संरचना सीमित भएकाले सबैले भर्ना पाउँदैनन्। शैक्षिक सत्र २०७८ मा यहाँको औसत सिकाइ उपलब्धि ५३.२१ प्रतिशत पुगेको छ।
१० वर्षअघि माविको अनुमति पाएको कर्णालीमा त्यति वेला ४७६ विद्यार्थी थिए। २०७५ सालमा त्यो सङ्ख्या एक हजार पुग्यो। सरकारले कर्णालीलाई नमूना विद्यालयका रूपमा कक्षा ९ देखि सिभिल इन्जिनीयरिङ अध्ययनको व्यवस्था गर्दै कक्षा ११ मा ४८ जनाको कोटा दिएपछि आकर्षण चुलिएको हो। शैक्षिक सत्र २०७८ मा यहाँ दुई हजार ३७ विद्यार्थी थिए। यस वर्ष थप २०० भन्दा बढीले प्रवेश परीक्षा पास गरिसकेका छन्। अन्य विद्यालयबाट आएका ५१३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी थिए।
प्रधानाध्यापक धर्मराज शर्मा आए जति सबैलाई पढाउन स्रोतसाधन नभएकाले प्रवेश परीक्षा लिनुपरेको बताउँछन्। “शिक्षक नथपिए पढाउन मुश्किल हुँदै छ, एक शिक्षक बराबर ६० विद्यार्थीको अनुपात राख्दा पनि गत वर्षै पाँच जना शिक्षकको कमी थियो,” उनी भन्छन्। कक्षा ११ र १२ मा सिभिल इन्जिनीयरिङतर्फ ४८÷४८ जना र कृषितर्फ कुल ८५ विद्यार्थी पढिरहेका छन्।
टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरी नगरमा औसत ४६ विद्यार्थी बराबर एक शिक्षक रहे पनि दरबन्दी मिलान नहुँदा कतै कतै अनुपात नमिलेको बताउँछन्। कैलाली माविको हकमा व्यवस्थापन समिति नै सक्रिय भई गुणस्तरीय बनाएको उनको भनाइ छ।