दिल ढुँढता है... भूपिन्दर
मुग्धकारी स्वर अनि मायालु व्यवहारका भूपिन्दरलाई गुमाउँदा अत्यन्तै पीडाबोध भयो। अहिले म फुर्सदका रातदिन प्रिय भूपिन्दरलाई सम्झिरहेछु।
सन् १९७१ को प्रारम्भतिर जसै म पहिलो पटक सान्ताक्रुज, बम्बईस्थित आरडी बर्मनको ‘सिटिङ’ मा मादल बोक्दै छिर्दै थिएँ, एउटा अनुहार मलाई कता-कता देखे जस्तो लाग्यो। धेरै वाद्यवादकहरू एकैसाथ अभ्यास गर्ने घरको बरन्डा जस्तो फराकिलो ठाउँलाई सिटिङ भनिंदो रहेछ।
आरडी बर्मन अर्थात् पञ्चम दाको सिटिङमा मलाई पञ्चम दाका चिफ एरेन्जर नेपाली मूलकै सेक्सोफोनवादक मनोहरि सिंहले लिएर जानुभएको थियो। मनोहरि दाइ बाहेक सिटिङका बाँकी सबै सदस्य मेरा निम्ति अन्जान थिए। तर, किन हो किन एकजोडी आँखासँग मेरा पनि आँखा जुध्दा मलाई ती व्यक्ति चिने-चिने जस्तो लाग्यो।
त्यस्तो महसूस हुनुको एउटै कारण ती व्यक्तिको अनुहार काटीकुटी नेपाली जस्तै लाग्थ्यो। पछि, सिटिङका सबै सदस्यसँग एक-एक गरी परिचय हुँदै गएपछि ती व्यक्तिको नाम पनि थाहा भयो, भूपिन्दर सिंह। अनि मायाले बोलाइँदा ‘भूपि’।
भूपिन्दरप्रतिको मेरो अनुमान भने सोह्रै आना फेल खायो। उनको नेपालसँग गोरु बेचेको पनि साइनो रहेनछ। मैले अनुमान गरे झैं भूपिन्दर दार्जिलिङ, भाक्सु, देहरादून वा नेपालका नभई पञ्जाबको पटियालाका रहेछन्।
उनी पञ्चम दाका अनन्य मित्र रहेछन्, हामीले जस्तो ‘दा’ वा ‘दादा’ जस्तो आदरार्थी नभई सीधै ‘पञ्चम’ सम्बोधन गर्ने। तर, उमेरले चाहिं भूपिन्दर ठ्याक्कै म बराबर थिए।
पञ्चम दाका अर्केस्ट्राका स्थायी सदस्य भूपिन्दर स्पेनिस गिटार बजाउँथे। जब गिटारका तारमा उनी औला फिट्थे, लाग्थ्यो सुदूर कतै मन्दिरमा घण्टी बजिरहेछ। उनको गिटारको धुन यति कर्णप्रिय हुन्थ्यो, त्यो सुनेर कहिल्यै अघाइन्नथ्यो।
त्यति उम्दा गिटारवादक भूपिन्दरको प्रतिभा वाद्यवादनमा मात्र सीमित थिएन। जति मीठो उनी गिटार बजाउँथे, त्यति नै मधूर उनको आवाज थियो। पातलो ज्यानका उनी एकदमै सुन्दर पनि थिए, सिनेमाको नायक झैं।
तर, किन हो कुन्नि अभिनय भन्नासाथ उनलाई ज्वरो आइहाल्थ्यो। कसैले उनलाई अभिनयको अफर गरे भने उनी ठाडै इन्कार मात्र होइन, निर्माता–निर्देशकको खोजी नसकिंदासम्म गुप्तवास बसिदिन्थे। सरल अनि सहज मिजासका उनी चमकदमकमा रत्तिभर विश्वास गर्दैनथे। हरबखत सङ्गीतको साधनामा तल्लीन रहन्थे।
सिनेमाको प्लेब्याकभन्दा पनि उनको रुचि गजल गायनमा थियो। उनले केही सोलो एल्बम पनि निकालेका थिए। सन् १९८३ मा उनको गायिका मिताली मुखर्जीसँग विवाह भयो। त्यसपछि उनीहरूले भूपिन्दर-मितालीको युगल नामबाट धेरै गजल रेकर्ड पनि गरे।
भूपिन्दरको आवाजमा यतिसम्म जादू थियो कि उनलाई बलिउडका दिग्गज सङ्गीतकारहरू मदनमोहन, खय्याम, जयदेवदेखि आरडी वर्मनसम्मले पार्श्वगायनमा तानिरहे। आफ्नो अर्केस्ट्राका स्थायी सदस्य भएका कारण पनि पञ्चम दा उनलाई गाउन लगाइरहनुहुन्थ्यो।
पञ्चम दाको कम्पोजिशनमा लता मंगेशकरसँगको युगल गीत ‘नाम गुम जाएगा, चेहरा ये बदल जाएगा’ (किनारा) र ‘बिती ना बिताइ रैना’ (परिचय), मदनमोहनद्वारा संगीतबद्ध लता मंगेशकरसँगकै युगल स्वरको ‘दिल ढुंढता है, फिर वही फुर्सदकी रात दिन’ (मौसम), जयदेवको संगीतको ‘एक अकेला इस शेहरमे’ (घरोदा), खय्यामको संगीतको ‘कभी किसीको मुक्कमल जहा नही होता’ (आहिस्ता आहिस्ता) उनीद्वारा स्वरबद्ध सदाबहार गीत हुन्। भूपिन्दरको स्वरबाट कायल हुनेमध्ये कवि-गीतकार गुलजार पनि हुनुहुन्थ्यो। उहाँका थुप्रै रचनामा भूपिन्दरले स्वर भरेका छन्।
पञ्चम अर्केस्ट्राका सदस्यका नाताले भूपिन्दर र मैले धेरै अमर गीतहरूमा वाद्यवादन गरेका छौं। मलाई पहाडी भनेर हुन सक्छ, उनी सिटिङका अन्य सदस्यभन्दा बढी नै आत्मीय भाव राख्थे।
समूहको वाद्यवादनका अतिरिक्त सिटिङको फुर्सदको समयमा हामी दुई आफ्नै प्रकारले गिटार र मादलको जुगलबन्दी गर्थ्यौं। यस्ता जुगलबन्दीको परिणाम कहिलेकाहीं अत्यन्तै आह्लादकारी हुने पनि गर्थ्यो।
पञ्चम दा फिल्म अमर प्रेमका लागि कम्पोजिशन गरिरहनुभएको थियो। सिटिङको एउटा फुर्सदिलो समय भूपिन्दर र म पनि अनायसै जुगलबन्दीमा जुट्यौं। उनी गिटारमा ‘ढन टर रन टन’ गर्थे म चाहिं मादलले ‘ढुन टुङ’ गर्दै उठाउँथे। त्यो धुन रमाइलो सुनिएपछि भूपिन्दरले भने, ‘पञ्चम! कान्छा र मैले एउटा धुन निकालेका छौं, तिम्रो गीतमा यस बाहेक अरू केही रिदम नहाल है।’
उनको कुराबाट उत्साहित बन्दै पञ्चम दाले सोध्नुभयो, ‘के बनायौं, ल ल सुनाऊ त!’
हामीले आफ्नो रिदम सुनायौं। नभन्दै पञ्चम दाले किशोर कुमारको आवाजको ‘चिंगारी कोइ भड्के’ मा यही मात्र रिदम राख्नुभयो। तपाईंले त्यो गीतमा प्रष्ट मादल सुन्न सक्नुहुन्छ।
मेरो सौभाग्य नै भन्नुपर्छ, भूपिन्दरले एक मात्र नेपाली गीत गाएका छन्, त्यो पनि मेरै सङ्गीतमा। सन् १९८८-८९ तिर विश्व बस्नेत अन्याय फिल्म बनाउँदै थिए, जसलाई तुलसी घिमिरेले निर्देशन गर्ने तय भएको थियो। त्यस फिल्मका लागि नेपालका दिग्गज रचनाकारहरू रत्नशमशेर थापा र ईश्वर बल्लभले गीत लेख्नुभएको थियो। त्यसैले गायक पनि त्यसै अनुरूप हुनुपर्ने निर्णयमा हामी पुग्यौं।
फिल्मको लोकभाकाका गीतहरू ‘मन छाडे मैच्याङलाई’ र ‘झिम्काइदेउ परेली’ का निम्ति डेनी तयार भए। तर, रोमान्टिक गीत नेपालकै शीर्ष गायकहरू नारायणगोपाल, प्रेमध्वज प्रधान आदिको स्वरमा होस् भन्ने हाम्रो चाहना थियो। ‘झुमीझुमी बोल्दछ’ बोलको युगल गीत गाउन प्रेमध्वज तयार हुनुभयो।
अर्को युगल गीत ‘इशाराले बोलाउनु पर्दैन’ चाहिं हामी नारायणगोपालको स्वरमा होस् भन्ने चाहन्थ्यौं। तर, समय, बजेट आदिका कारण नारायणगोपाललाई बम्बई बोलाउन सम्भव रहेन। अब यो गीत कसलाई गाउन लगाउने त भनेर एकछिन रनभुल्ल पर्यौं।
मलाई अनायसै भूपिन्दरको याद आयो। मैले सीधै भूपिन्दरकहाँ गएर गीतको प्रस्ताव गरें। मेरो कुरा सुनेर उनी शुरूमा त झस्के। अनि भने, ‘मैले त कहिल्यै नेपाली गाएकै छैन।’
‘केही धन्दा मान्नु पर्दैन, म सिकाइहाल्छु नि’ भनेर उनलाई मनाउनतिर लागें।
त्यसपछि महिला स्वरमा मैले दीपा गहतराज (अहिले झा) लाई रोजें। अनि दुवैलाई घरमै बोलाएर रिहर्सल गराएँ।
‘इशाराले बोलाउनु पर्दैन’ को रेकर्डिङ झनै विशेष थियो। किनकि, त्यसमा एक-से-एक हस्तीले वाद्यवादन गरेका छन्। मेरो नोटेशनमा मनोहरि दाइले ‘कन्डक्ट’ गरिदिनुभयो।
त्यसमा लुइ ब्याङ्क्सले किबोर्ड, पण्डित हरिप्रसाद चौरासियाले बाँसुरी र पण्डित शिवकुमारले सन्तुर बजाउनुभएको छ। पञ्जाबी र हिन्दी गायनमा पोख्त भूपिन्दरले नेपाली गीत पनि सजिलै उठाइदिए।
नेपालमा आयोजना हुँदै गरेको रियालिटी शो ‘मेरो भोइस कप’ र मेरो डान्स कप’ का लागि विशेष अतिथि बनेर काठमाडौं आउने तयारी गर्दै गर्दा मैले गत साउन २ गते (१८ जुलाई) का दिन भूपिन्दरको देहान्त भएको खबर सुनें। मुग्धकारी स्वर अनि मायालु व्यवहारका भूपिन्दरलाई गुमाउँदा अत्यन्तै पीडाबोध भयो। अहिले म फुर्सदका रातदिन प्रिय भूपिन्दरलाई सम्झिरहेछु।
(शेखर खरेलसँगको कुराकानीमा आधारित।)